दलीयकरणको दलदल

                        रामचन्द्र श्रेष्ठ

आँगनछेउमै जोडिएको स्कुल जान छोडेर स्कुले विद्यार्थी गहु्रँगो झोला बोकी डेढ किलोमिटर परको स्कुल पढ्न जान्छन् भने त्यसको पछाडि केके कारण हुन सक्लान् ?       एउटा हुन सक्छ- राम्रो स्कुलको खोजी। अर्को हुन सक्छ- विद्यालय शुल्क। हुन सक्छन्- यस्तै-यस्तै आर्थिक, सामाजिक, शैक्षिक कारण। तर एउटा पहाडी गाउँमा पुग्दा पाइएको जवाफले भने चकित मात्र भइएन, सोच्न बाध्य पनि भइयो।

 उक्त गाउँका विद्यार्थीले उस्तै-उस्तै निजी स्कुलमध्ये आँगननजिकको छोडी टाढाको रोज्नुको कारण राजनीतिक थियो। ती विद्यार्थीका अभिभावकको राजनीतिक दल र आँगननजिकको स्कुल सञ्चालकको दल फरक थियो।

उक्त गाउँमा स्कुल दुईथरी छन्। कांग्रेसको स्कुल र नेकपा (पूर्व एमाले) को स्कुल। मान्छे जन्मिएपछि छोरा वा छोरीमध्ये एक हुन्छ, तर त्यो गाउँमा बच्चा नजन्मिदै कि त कांग्रेस हुन्छ कि एमाले। यो एउटा गाउँको घटना मात्र होइन, हाम्रो समाज कसरी दलीयकरणको दलदलमा जाकिरहेको छ भन्ने प्रतिनिधि उदाहरण पनि हो।

राजनीतिक दलको सामान्य परिभाषा हो- निश्चित राजनीतिक दर्शन र कार्यक्रमका आधारमा संगठित व्यक्तिहरूको समूह। राजनीतिक दल भन्नासाथ विचारको स्कुलका रूपमा लिइन्छ, तर दलहरूले स्कुल अफ थट (विचारको स्कुल) को प्रतिनिधित्व गर्न सकेका छैनन्। विचारको स्कुल बन्ने हैसियत गुमाइसकेका छन्। परिणाम, सिंगो राज्य प्रणालीदेखि समाजको तल्लो तहसम्म दलीयकरणले जरा गाडेको छ। नेपाली समाज नै दलीयकरणको दलदलमा फसिरहेछ।

दलहरूले समाजका विभिन्न तह र तप्कामा आफ्ना संगठन बनाएका छन्। व्यवसायी, कर्मचारी र अनेक पेसागत संगठन पनि बनाएका छन्। ती सबै संगठनको अभीष्ट निर्वाचनमा भोट बटुल्नुभन्दा बढी केही पनि होइन। समाजको जरासम्म फैलिन सक्नु नै दलहरूको सफलता बनेको छ। तर यही सफलता नै दलीयकरणको कारण पनि बनेको छ। विचारको घर्षण नभएपछि राजनीतिक दलहरूको फैलिएको सांगठनिक संरचनाले ‘हामी र अन्य’ को विशाल परिधि निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। बेनेडिक एन्डरसनले राष्ट्रियतालाई काल्पनिकी बताएका थिए।

 त्यस्तैगरी दलहरूले ‘हामी र अन्य’ को काल्पनिकीको निर्माण गरेका छन्। एउटा काल्पनिक परिधि निर्माण गरिएको छ। हामी एमाले, हामी कांग्रेस, हामी राप्रपा यस्तैयस्तै। हामी राम्रा, हाम्रा राम्रा अन्य गलत। यो काल्पनिकी सांस्कृतिक तहसम्म पुगेको छ। मित्रता, वैवाहिक सम्बन्ध, चाडपर्वसम्ममा आफ्नो पार्टी र अरू पार्टी भनेर छुट्ट्याउने विभाजित मानसिकता पैदा भएको छ। माथि उल्लिखित घटना एउटा दृष्टान्त मात्र हो।

मानिसहरू पार्टीमा आबद्ध छन्। पार्टीका अनेक संरचनामा बसेर बैठक गर्छन्। विविध कार्यक्रम गर्छन्, तर त्यहाँ नयाँ सिर्जना शून्य छ। वैचारिक बहस शून्य छ। पार्टीका माथिल्ला संरचनाले तल्ला संरचनालाई हामीले गरिरहेछौं, हामी ठीक छांै भन्ने स्थापित गर्न विभिन्न अवधारणाको निर्माण गर्छ। ती अवधारणालाई भाषण, नारा, कार्यक्रमका रूपमा तल्लो तहसम्म पुर्‍याइन्छ। जसले ‘हामी र अन्य’ को धारणालाई जरा हाल्न र मजबुत बनाउन सघाउ पुर्‍याउँछ।

दलहरूले स्कुल अफ थटको प्रतिनिधित्व गर्न सकेका छैनन्; विचारको स्कुल बन्ने हैसियत गुमाइसकेका छन्।

 गाउँगाउँमा पुग्दा हामी देख्छौं- चारजना मान्छे जम्मा भएपछि राजनीतिक गफ सुरु गरिहाल्छन्। ती गफको विषय के हुन्छ ?       त्यो केवल फलानो नेता यस्तो, फलानो उस्तो, मेरो पार्टी यसकारण राम्रो तेरो यसकारण नराम्रो भन्नेमा केन्द्रित हुन्छ। आलोचनात्मक चिन्तन शून्य यी छलफलले ‘हामी र अन्य’ को परिधिलाई व्यापक र गहिरो गराउनेभन्दा अरू केही पनि गर्दैन।

 यसले दलहरूलाई फाइदा नै भएको छ किनकि यसले आफ्नो पकेट भोट सुरक्षित गरेको छ। जनमतको एउटा बनिबनाऊ घेरा सधैं तयार छ। तर यसले सत्ताका कमजोरी, गलत नीति, सामाजिक न्याय, असमानताविरुद्धको संघर्षलाई सधैं कमजोर बनाएको छ। समाजलाई अवैचारिक झुन्डको घेरामा विभाजित गरेको छ।

 दलीयकरणको पृष्ठभूमि

दलीयकरणलाई बुझ्न यसको इतिहास बुझ्न जरुरी छ। नेपालको सन्दर्भमा दलीयकरणको इतिहास दलको इतिहाससँग जोडिन्छ।

पहिलो राजनीतिक दल ‘राष्ट्रिय प्रजा परिषद्’ राणाशाहीको अन्त्यको उद्देश्यका साथ गठन भएको थियो। लामो दलीय परम्परा नभएको र राजनीतिक अभ्यासको अभावको कारणले यसको सैद्धान्तिक जग बलियो थिएन। राणाशाही उन्मूलन गर्ने मूल उद्देश्यमा प्रतिबद्ध भए पनि त्यसपछिको व्यवस्था कस्तो हुन्छ र त्यसको सञ्चालन कस्तो हुन्छ भन्नेबारे उक्त पार्टीभित्र खासै छलफल भएको पाइँदैन।
राणाशाही अन्त्य र राजाकै शासनको पक्षधरका रूपमा उदाएको यो दलले राजतन्त्रको स्वरूपबारे पनि खासै बहस चलाएको पाइँदैन। नागरिक अधिकारको निम्ति प्रतिबद्ध भए पनि त्यसलाई सुनिश्चित गर्ने निश्चित पद्धतिबारे पनि यो दल स्पष्ट थिएन। राष्ट्रिय प्रजा परिषद्को यो इतिहास नेपाली राजनीतिको निम्ति एउटा ठूलो शिक्षा हो। कारण, यसले राज्यको मूल समस्या त देख्यो तर समाजमा विद्यमान शक्ति संरचना, त्यसका अवयव र सञ्चालनको स्वरूपलाई चिन्तनको विषय नै बनाएन। यी पक्षलाई कसरी लिइयो र त्यसमा सहभागिता कसरी जनाइयो भन्ने प्रश्न अन्य दलको अध्ययनका निम्ति मुख्य विषय बन्न सक्छ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेपाली राजनीतिक इतिहासमा सबैभन्दा स्पष्ट सैद्धान्तिक आधारसहित उदाएका दलको रूपमा देखिन्छन्। पहिलोले संवैधानिक राजतन्त्रलाई मुख्य आधार बनाएको थियो भने दोस्रोले ‘जनवादी गणतन्त्र’ लाई। यद्यपि पछि गएर नेकपाभित्र विभिन्न मत देखापरे। राजनीतिक व्यवस्थाको स्वरूपलाई लिएर सबैभन्दा बढी विवाद गर्ने र विभाजित हुने यही पार्टी बन्न पुग्यो।

२०१६ मा आमनिर्वाचन जितेर दुईतिहाइ बहुमतको सरकार बनाए पनि कांग्रेसले तत्कालीन अवस्थामा सिंगो सामाजिक-राजनीतिक अभ्यास गर्न पाएन। तथापि यसले आफूलाई समर्थन गर्ने व्यापारी वर्गका पक्षमा भने केही हदसम्म काम गर्‍यो।

पञ्चायत काललाई नेपाली राजनीतिक पद्धति, संस्कार र प्रवृत्ति निर्माणको मूल समयका रूपमा लिन सकिन्छ। राज्य सञ्चालनमा राजनीतिक दलको कुनै अस्तित्व नभए पनि यसले केही यस्ता अभ्यास गर्‍यो, जसले सिंगो समाजलाई प्रभाव पार्‍यो। जसको असर तत्कालीन अवस्थामा भूमिगत दलहरूमा पनि पर्‍यो। त्यसैले पञ्चायतको मूल प्रवृत्तिको आलोकमै वर्तमान दलको प्रवृत्ति बुझ्न सकिन्छ। पञ्चायत उन्मूलन गरेर निर्माण गरिएको बहुदलीय व्यवस्थाका हर्ताकर्ता राजनीतिक दल भए पनि नेपाली समाजमा राजनीतिक मानसिकताको निर्माणको मुख्य समय पञ्चायत नै हो। यसका केही आधार छन्-

१. राणाशासनमा राजनीति निकै सीमित वर्गमा केन्द्रित थियो। त्यसैले राज्य, राज्य सञ्चालनजस्ता विषय सामाजिक छलफलको विषय बनेनन्। त्यतिबेला राणाको हुकुम त चल्थ्यो तर स्थानीय शासन स्थानीय मुखियाकै हातमा थियो। यो सम्बन्ध-संरचनालाई अर्थ-राजनीतिक कोणबाट व्याख्या गर्दा अझ स्पष्ट पार्न सकिन्छ।

तत्कालीन अवस्थामा उत्पादनको मुख्य स्रोत थियो- जमिन। जमिनमाथिको स्वामित्वले मूलतः दुइटा राजनीतिक शक्ति प्रदान गथ्र्यो, एक- राज्यसँग सम्बन्ध स्थापित गथ्र्योे। दुई- स्थानीय शासक बनाउँथ्यो। अधिकांश जनतासँग जमिन थिएन। बिर्ता वा जागिर पाएका मात्र जमिनका मालिक हुन्थे। त्यसैले उनीहरू नै जमिनदार थिए। उनीहरू मात्र राजनीतिमा सहभागी हुन्थे। उनीहरूको मौजामा उनीहरूकै शासन चल्थ्यो। जनताका लागि ती नै राजा थिए। राज्य भनेकै गाउँ थियो।

२. सात सालपछि विस्तारै प्रजातन्त्रको जनलहर फैलिए पनि तल्लो तहसम्म राजनीति पुगिसकेको थिएन। बिर्ता प्रथा उन्मूलन भए पनि जमिनदारी कुनै न कुनै रूपमा थियो। जनता अशिक्षित थिए।

३. पञ्चायतको सुरुवाततिरै (२०२१ सालमै) भूमिसुधारले जनतालाई जमिनमा धेरथोर पहुँच बनाइदियो। शिक्षाको विस्तारले चेतना बढाइदियो। अर्थतन्त्र फराकिलो हुँदै जाँदा उत्पादनका स्रोत पनि बढे। त्यसमध्ये उद्योग र व्यापार मुख्य थियो। ती स्रोतमा कुनै न कुनै हिसाबले आफ्नो हिस्सा स्थापित गर्ने काममा दरबारले चासो बढायो। दरबारको त्यो अभ्यास विस्तारै तल्लो तहसम्म पुग्यो। पञ्चायती राजनीतिक प्रणालीको उपयोग गरेर उपलब्ध स्रोत र त्यसको उत्पादन वितरणमा कब्जा वा हिस्सा प्राप्ति गर्ने अभ्यासले राजनीतिलाई पूर्णतः सम्पत्ति आर्जनसँग जोडिदियो।

४. बहुदल आएपछि पञ्चायतमा भाग नपाएकाहरूले पञ्चायती अभ्यासकै सिको गर्न थाले। फरक यति थियो, सम्पत्ति र आम्दानीका स्रोत विस्तार भएका थिए। नीति निर्माण तहमा प्रभाव जमाएर आम्दानीअनुकूल नीति बनाउने, त्यही फाइदाका लागि दलमा लाग्ने संस्कारले बहुदलमा जनताको तहसम्म जरा गाड्यो।

राजनीति अहिले सम्पत्तिका स्रोतमाथिको कब्जा वा त्यसको उत्पादन हिस्सामा पहुँचको अभ्यासमा रूपान्तरण भएको छ। हरेक एकाइमा यही आधारमा मानिसहरू बाँडिएका छन्। यसै आधारमा सञ्जाल निर्माण भएको छ। लगानी र नाफामा हिस्सा बाँड्नेहरूको समूहले सञ्जाल निर्माण गरेको छ। यस्तै सञ्जालले दल बनाएको छ। त्यसैले दलहरू मूलतः यस्तै सञ्जालहरूको योग हुन्। राज्य यी सञ्जालहरूको व्यवस्थापन, विस्तार र स्वार्थपूर्तिको वैधानिक अखडा मात्र बनेको छ।

प्रतिगमनविरोधी आन्दोलनपछिको संक्रमणकालीन समयमा दलीयकरण झनै व्यापक भयो। राज्य संयन्त्रमाथि उल्लिखित सञ्जालमार्फत सञ्चालन हुन थाले। प्रणालीको स्थापना गर्नु र प्रणालीको योग्य परिचालनमार्फत राज्यप्रति बफादारी विकास गराउनुको साटो भागबन्डाको सुरुवात गरियो। जसले राज्यप्रति भन्दा पनि दलप्रतिको बफादारी सिर्जना गर्‍यो। यो भागबन्डाले नछोएको कुनै क्षेत्र भएन। प्राज्ञिक क्षेत्रदेखि लिएर न्याय क्षेत्रसम्म, स्थानीय निकायदेखि लिएर केन्द्रीय सरकारसम्म भागबन्डाको फोहोरी अभ्यास गरियो। भागबन्डा प्रणालीको यो असीमित अभ्यासले दलीयकरणको जरा झनै समृद्ध पार्‍यो।

दलीयकरणको उत्पादन

दलीयकरणले मानिसलाई दलको कार्यकर्ता बनाएको छ। दलप्रति बफादार बनाएको छ। तर चिन्तनशून्य मानिसको भीड भएको दलमा हनुमानहरू र ‘हस् हजुर’ हरूको संख्या मात्र बढी छ। दलीयकरणको माखेसाङ्लो कति व्यापक भएको छ भने मानिस सामान्य रोजगारका लागि, व्यापार व्यवसाय र प्रतिष्ठाका लागि कुनै न कुनै दलमा आबद्ध हुन बाध्य छ। जब ऊ कुनै दलमा आबद्ध हुन्छ उसका स्वतन्त्र चिन्तन, आलोचनात्मक चेत, सिर्जनशील मस्तिष्क सबै भुत्ते हुन्छन् र बन्छ अमूक दलको प्रचारक, भाट र हनुमान। जो बफादार हनुमान हुन्छ उसको आर्थिक प्रगति हुन्छ।

राजनीतिक पुँजी आर्थिक पुँजीमा सटही हुन्छ र त्यसले निश्चित परिधिभित्र सम्मान पनि दिलाउने हुँदा सांस्कृतिक पुँजीको सिर्जना पनि हुन्छ। यसरी दलीयकरणले राजनीतिक पँुजीलाई विनिमय मूल्य प्रदान गरेको छ। यस्ता धेरै उदाहरण देख्न सकिन्छ।

यदि कोही मानिसले आफू संलग्न राजनीतिक दलप्रति प्रश्न उठाउन थाल्यो भने उसको खेदो खनिन्छ। सिंगो दलीय संयन्त्रको प्रयोगले उसको तेजोबध गरिन्छ र ध्वस्त पारिन्छ। तर कोही मानिस आफ्ना असन्तुष्टि दमन गरेर बफादार हनुमान भइरह्यो भने सयौं गल्ती गरे पनि उसले राजनीतिक पद प्राप्त गर्दछ, जुन आर्थिक पुँजीमा परिवर्तन हुन बेर लाग्दैन। दलीयकरणले यसरी नेपाली समाजलाई भाटगिरी र हनुमानगिरीको तहमा धकेलेको छ। दलीयकरणको यो दलदलमा मानिस यसरी जाकिएका छन् कि समाजमा सिंगो प्रणाली, व्यवस्थाका प्रतिपक्षी निकै अल्पमतमा पारिएका छन्।

दलीयकरणको परिणाम यो मात्र होइन। यसको अर्को भयंकर परिणाम छ। त्यो हो- दलहरूकै अन्त्य। दलहरूको अस्तित्वमाथि प्रश्न। केही उदाहरणले दलीयकरणको विकल्पको खोजीलाई संकेत गर्दछ। किन गोविन्द केसीको पक्षमा राजनीतिक दलको झन्डाविना प्रदर्शन भए ?       किन निर्मला काण्डमा राजनीतिक दलहरूलाई सामाजिक सञ्जालका भरमा जुटेका युवाहरूको जुलुसले चुनौती दिँदैछन् ?       यी सबैको अन्तर्यमा छ, दलीयकरणले सिर्जना गरेको दलहरूप्रतिको असन्तोष र दलहरूको अस्तित्वमाथिको प्रश्न। दलीयकरणले केही क्षणिक समयका लागि दलहरूको भोट भण्डारण गरिरहे पनि कालान्तरमा यसले दलहरूको अस्तित्वमाथि भयंकर प्रश्न उठाएको छ ।

विचारको घर्षण नभएपछि राजनीतिक दलहरूको फैलिएको सांगठनिक संरचनाले ‘हामी र अन्य’ को विशाल परिधि निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अन्नपूर्णपोष्टबाट

प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     11:29:25 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *