प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो।  सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए ।

मन्त्री पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले पारित गरेको हो । विधेयक पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद् भने रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका थिए ।

यसरी भयो विधेयक पास 

शुक्रबारको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद् सरिता गिरीले आफ्नो धारणा राखिन् । उनले धारणा राखेलगत्तै कांग्रेस सांसदले अवरोध सुरु गरे । आआफ्नो स्थानबाट उठेर कांग्रेस सांसदले नाराबाजी गर्दा सभामुखले पटकपटक आफ्नो स्थानमा गएर बस्न आग्रह गरेपनि नाराबाजीलाई निरन्तरता दिए ।

पटकपटक आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुख महराले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । विरोधबीच मन्त्री पोखरेललाई विधेयक टेबुल गर्न सभामुखले अनुमति दिए । सभामुखको अनुमति लगत्तै कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्ने प्रयास गरे पनि मर्यादापालकको सहयोगमा मन्त्री पोखरेल ड्यासमा पुगेका थिए ।

विधेयक टेबुल भएपछि सभामुख महराले छलफलका लागि नाम टिपाउन सांसद समय दिए । तर, कुनै सांसदले नाम नदिएपछि संसदीय उपसमितिको प्रतिवेदनलाई स्वीकार गर्दै विधेयकको अंग बनोस् भन्ने प्रस्ताव पेश गरे ।

उपसमितिको प्रतिवेधन विधेयकको अंगको रुपमा स्वीकार भएपछि सभामुख महराले विधेयकलाई निर्णायार्थ संसदमा पेश गर्न मन्त्री पोखरेललाई अनुमति दिए । विधेयक टेबुल गरेर ड्यासमै बसेका मन्त्री पोखरेलले निर्णायार्थ पेश गरेलगत्तै संसदको बहुमतले बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको हो ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा पेश गरेको दाबी गरेको छ । डा। केसी भने गलत मनसायले विधेयक संसदमा पुगेको भन्दै १६ पटक अनसनमा छन् । इलामबाट अनुसन सुरु गरेका केसीको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । केसी अनसन बसेको १७ औं दिनमा शुक्रबार संसदबाट विधेयक पारित भएको हो । संसदको अर्को बैठक माघ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गगन थापाको आक्रोश

नाराबाजी र विरोधकाबीच विधेयक बहुमतका आधारमा पारित भएपछि कांग्रेस सांसद गगन थापाले एक पटक पनि सम्वादको पहल नगरी सरकारले पेलेर विधेयक पारित गरेकोमा कडा रोष प्रकट गरेका छन ।

‘प्रमुख प्रतिपक्षी दल विरोधको स्वरसहित सदनमा उभिइरहेको बेला सरकारले निषेध गर्‍यो, यसले दुईतिहाइको दम्भमा नेकपाको सरकारले देशैभरी निषेधको राजनीतिक थालेको छ’, थापाले भने, ‘यसको जवाफ हामी दिन तयार छौँ, सभामुखले आग्रह र जालझेलपूर्ण व्यवहार गरेका छन् ।’

सांसद थापाले बैठक अघि छलफलमा बोलाएर विरोध भयो भने सदन अघि बढाउँदिन भनेका सभामुखले जालझेलपूर्ण ढंगबाट विधेयक पारित गराएको बदला कांग्रेसले लिने चेतावनी दिए ।

‘सभामुख नेकपाको आदेशपालक मात्रै भए, विधेयक पास गराउन सरकार भन्दा सभामुख खुलेर लागे’, थापाले भने, ‘संसदको नियम ११ ले सरकारी विधेयमाथि शुक्रबार छलफल गरिँदैन भनेको छ तर ढाँटेर छलेर सभामुखले संसद चलाए, सभामुख जिम्मेवार भएनन् ।’

नेता थापाले १७ दिनदेखि अनशनमा रहेका प्रा.डा गोविन्द केसीको माग पुरा नगरी सरकारले ताली बजाएर विधेयक पारित गरेको भन्दै यसले जटिलता बढाउने जिकिर गरे । ‘सरकारको भनाइ अनुसार केसीका ९५ प्रतिशत माग पुरा भएका छन् । सरकारले प्रमुख प्रतिपक्षीसँग भिड्न तयार भएको सन्देश दिएको छ, गोविन्द केसी मरोस भन्न तयार भएको देखियो’, थापाले आक्रोशित हुँदै भने, ‘केही मेडिकल कलेजका लागि सरकार प्रतिपक्षीसँग लड्न तयार भयो, केही व्यापारीको पक्षमा लागेर विधेयक पारित गर्यो ।’

नेता थापाले समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेको पनि आरोप लगाए । ‘यसको जबाफ कांग्रेसले दिन्छ, सभामुखलाई पनि महँगो पर्नेछ’, थापाले संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग भने, ‘कांग्रेसलाई जसले जिस्क्यायो त्यो सकियो र सकिएको छ ।’

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     5:10:53 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *