नमुना विद्यालय बनाउँदै कुशे गाउँपालिका

जाजरकोट — कुशे गाउँपालिकाले १० विद्यालयलाई नमुना विद्यालय बनाउन सुरु गरेको छ । गाउँपालिकामा रहेका पाँच दर्जनमध्ये १० विद्यालयलाई नमुना बनाउन थालिएको हो । शैक्षिक गुणस्तर बृद्धि गर्न गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नमुना विद्यालय निर्माणको काम थालेको छ ।

गाउँपालिकाको पञ्चवर्षीय योजनाअन्र्तगत पहिलो चरणमा रामचन्द्र प्रावि पाँचकाटीया, दुर्गादेवी आधारभूत विद्यालय भार्मा, राष्ट्रिय प्रावि, समाकोट, जनता प्रावि पैंक, महादेव प्रावि लाँता, हिमालय भानुभक्त प्रावि टाँकाचौर नमुना बन्न लागेका हुन् ।

त्यस्तै देउती प्रावि गोयाकाप्री, गणेश प्रावि स्याँक्री, वीरेन्द्र प्रावि बर्खाले र सरस्वती आधारभूत विद्यालय डाँडाभौतालाई पनि नमुना बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । पर्यटकीय स्थल पाँचकाटीयास्थित रामचन्द्र प्रावि भने नमुना विद्यालयको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

भवन, खेलमैदान, घेराबार, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापनमा सुधार गरेर नमुना विद्यालय बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनका अनुसार पाँच वर्षको अवधिमा दर्जन विद्यालयलाई नमुना स्कुल बनाउने लक्ष्य छ । गाउँपालिकाले नमुना विद्यालय निर्माणकै सिलसिलामा रामचन्द्र प्राविलाई ३४ लाख अनुदान सहयोग गरिसकेको उनले जानकारी दिए ।

विद्यालयलाई गत आर्थिक वर्षमा १३ लाख र चालु आर्थिक वर्षमा २१ लाख अनुदान दिइएको छ । गाउँपालिकाको शिक्षा इकाइ शाखाले उक्त विद्यालयलाई बालविकास सहयोगी र दुई जना प्राथमिक शिक्षकका लागि अुनदान रकमसमेत सहयोग गरिएको जनाएको छ । यसअघि उक्त विद्यालयमा दुई जनाराहत शिक्षकमात्र कार्यरत थिए ।

गाउँपालिकाले दिएको बजेटबाट विद्यालयको तीनकोठे भवन, खेलमैदानलगायत पूर्वाधार निर्माण गरेको प्रधानाध्यापक नीमबहादुर ओलीले बताए । उक्त बजेटले एक सय ४० मिटर लम्बाइ र ७० मिटर चौडाइको खेलमैदान निर्माण गरेर जिल्लास्तरीय खेलकुदलगायत प्रतियोगिता सञ्चालन गर्न सकिने संरचना भएको प्रअ ओलीको भनाइ छ ।

१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक दरबन्दी अभाव भए पनि विद्यार्थीको शैक्षिक अवस्था कमजोर नभएको प्रधानाध्यापक ओली बताउँछन्  bherikhabar.com

प्रकाशित मितिः आइतवार, फाल्गुन १९, २०७५     7:40:50 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *