जाडोमा पनि डेंगु

काठमाडौँ, २६ मंसिर । जाडोयाम सुरु भइसक्दा पनि डेंगुको संक्रमण रोकिएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले दिनहुँ डेंगुसँग सम्बन्धित ५–७ जना बिरामी उपचारका लागि आइरहेको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झाले पछिल्ला १० दिनमा ५१ जना परीक्षण गराउन आएकामा ७ जनामा डेंगु देखिएको बताइन् । विशेषज्ञहरूले भने डेंगु सार्ने लामखुट्टेमा चिसो प्रतिरोध गर्ने क्षमता विकास भएको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने औंल्याएका छन् ।

नेपाली समाजमा लामखुट्टेको लार्भा जाडोयाममा मर्छ, चिसोमा लामखुट्टेजन्य संक्रमण हुँदैन भन्ने मान्यता थियो । विज्ञहरूका अनुसार जाडोयाममा लामखुट्टेको जीवनचक्रसमेत ढिलो हुन्छ । ५–१० दिनमा लामखुट्टेको जीवनचक्र पूरा हुने भए पनि जाडोमा यो समय लामो हुन सक्छ । जाडोयाममा किटहरू शीतनिद्रा ९हाइबरनेसन० मा जाने गर्छन् । काठमाडौं, पोखरासहित मुलुकका विभिन्न भागमा न्यून मात्रामा डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी, किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। प्रकाश शाहले बताए । गत नोभेम्बरमा ५ सय ८५ जनामा परीक्षण गर्दा १ सय ४७ जनामा डेंगु देखिएको थियो । ‘डेंगु फैलाउने लामखुट्टे चिसो प्रतिरोधी त भइरहेको छैन भन्नेबारे विस्तृत अध्ययन जरुरी छ,’ उनले भने । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हटौंडाका किटविज्ञ शिशिर पन्तका अनुसार काठमाडौंको जाडोमा समेत संक्रमण देखिइराख्नु डेंगु सार्ने लामखुट्टेमा चिसो प्रतिरोधी क्षमता विकास भएको संकेत हो । उनले लामखुट्टेमा चिसो प्रतिरोधी क्षमता विकास हुनु खतराको संकेत रहेको औंल्याए । ‘हाल न्यून तापक्रममा समेत लामखुट्टे बाँचिरहेका छन् र सक्रिय भएर रोग सारिरहेका छन्,’ उनले भने । नेपालमा हालसम्म डेंगु सार्ने वा अन्य लामखुट्टे कति कम तापक्रमसम्म बाँच्न सक्छन् भन्नेबारे अध्ययन भएको छैन ।

भारतस्थित नेसनल इन्स्टिच्युट अफ मलेरिया रिसर्चले दुई वर्षअघि ‘हलद्वानी’ मा गरेको अध्ययनअनुसार डेंगु उत्पन्न गर्ने एडिस एजिप्टी लामखुट्टेको लार्भाले जाडोयामलाई राम्ररी ‘एडप्ट’ गरिरहेको छ । विज्ञहरूका अनुसार जाडोयाममा बाहिर निस्कँदा चिसो भए पनि कोठाभित्रको तापक्रम बढी हुन्छ । डेंगु सार्ने लामखुट्टे कोठाभित्रको अँध्यारो ठाउँमा लुकेर बसेका हुन्छन् । डेंगु ज्वरो सबभन्दा पहिले सन् १७८५ मा दक्षिण अफ्रिकामा पाइएको थियो । यसपछि एसियाको दक्षिण पूर्वी मुलुकमा फैलियो । सन् १९६० सम्म यो रोग ४० देशमा सीमित भए पनि हाल यसको विस्तार १ सय २८ मुलुकमा भइसकेको छ । प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १ सय २८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छ ।

कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६     3:21:01 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *