आफैंलाई जितेका “बहादुर” ओली

अरस्तुले भनेका छन्, ‘म त्यसलाई बहादुर मान्छु जसले आफैंलाई जित्न सक्छ, तर त्यसलाई हैन जसले शत्रुलाई जित्छ।’ यो भनाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनसँग मेल खान्छ। अर्थात् अरस्तुको भनाइलाई आत्मसात् गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली वास्तविक बहादुर हुन्। किनभने उनले पटक–पटक आफूलाई जितेका छन्।

ओली बाल्यकालदेखि नै आफूलाई जित्दै अगाडि बढिरहेका छन्। उनको पिताको कुरालाई विश्वास गर्ने हो भने, बाल्यकालको समयमा एकदिन उनलाई कालो सर्पले केही समय बेरेर बसेको थियो। त्यति बेला उनले पहिलो पटक आफूलाई जित्न सके। त्यसपछि उनले झापा विद्रोहलगायतका राजनीतिक घटनाक्रममा पञ्चायतको निरन्तर आक्रमणबाट जोगिँदै आफूलाई जित्दै अगाडि बढे।

विद्यार्थी जीवनबाट नै अनवरत राजनीतिमा सक्रिय ओली बाल्यकालदेखि नै आफूलाई जित्दै अगाडि बढिरहेका छन्। उनको पिताको कुरालाई विश्वास गर्ने हो भने, बाल्यकालको समयमा एकदिन उनलाई कालो सर्पले केही समय बेरेर बसेको थियो।

त्यति बेला उनले पहिलो पटक आफूलाई जित्न सके। त्यसपछि उनले झापा विद्रोहलगायतका राजनीतिक घटनाक्रममा पञ्चायतको निरन्तर आक्रमणबाट जोगिँदै आफूलाई जित्दै अगाडि बढे। १४ वर्षको जेलजीवन र सोही क्रममा भोग्नुपरेको कठोर कालकोठरीको यातनालाई जित्दै अगाडि बढेका ओलीलाई स्वास्थ्यले समेत साथ दिएन।

केपी ओलीसँगै जेल परेका उनका सहयात्री राधाकृष्ण मैनालीका अनुसार ओली कालकोठरीको बसाइकै क्रममा टिबी र पायल्सजस्तो रोगबाट ग्रस्त भए। रगत नै छाद्ने अवस्थामा पुगेका ओलीले जीवनबाट कहिल्यै हार खाएनन्। राधाकृष्ण मैनालीकै सम्झनामा केपी ओली आफू धेरै बाँच्ने र राजनीतिक परिवर्तनसँगै जनतालाई समृद्ध बनाउने सपना देखिरहन्थे र भन्ने गर्थे– ‘तैंले मलाई मर्यो भन्ने ठानेको होलास्, म अझै धेरै बाँच्छु र राजनीतिक परिवर्तनसँगै जनतालाई समृद्ध बनाउँछु।’

हो, ओलीले त्यति बेला पनि आफैंलाई जिते र राजनीतिक मैदानमा खरो ढङ्गले उपस्थिति जनाउँदै अगाडि बढिरहे।ओलीले आफैंलाई जित्ने क्रम त्यतिकैमा रोकिएन। आजभन्दा १२ वर्षअगाडि २०६४ सालमा आफ्नो दुबै किड्नीले काम गर्न छोडेपछि उनको जीवनमा अर्को पीडा थपियो।

यो क्रममा राजनीतिकरूपमा उनले आन्तरिक एवं बाह्य शक्तिबाट विभिन्न खाले प्रताडन र अवरोधहरू त भोगी नै रहेका थिए। तर उनले जति सहज ढङ्गले राजनीतिक प्रताडना र अवरोधहरूलाई पराजित गरिरहेका थिए त्यति नै सहजताका साथ किड्नीको पीडालाई पूर्णविराम लगाएर फेरि आफैंलाई जितेर अगाडि बढे।

१२ वर्षपछि अहिले किड्नीकै समस्यासँग जुधिरहेको बेला उनलाई एक्कासी एपेन्डिक्सको समस्याले लडायो। सर्वसाधारण, शुभेच्छुक, शुभचिन्तक, नातेदार, आफन्त, राजनीतिक सहयात्री, स्वास्थ्यकर्मी मात्र हैन स्वयम् केपी ओलीको बुझाइ पनि के छ भने, उनी राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री नभएको भए र अदम्य साहस नभएको भए शायदै आफूसँगको यो लडाइँमा उनको हार हुने थियो।

तर उनको अठोट, उनको सपना जनतालाई समृद्ध बनाउने परिकल्पना साकार भैसकेको थिएन। त्यसैले शायद यसपटक पनि उनले आफैंलाई जित्न सके। ओलीले आफैंलाई जित्न अझै अर्को परीक्षा दिन बाँकी नै छ। १२ वर्षअघि फेरिएको किड्नीले काम गर्न छोडेकोले उनीसँग डायलासिस गर्ने र ट्रान्सप्लान्ट गर्ने दुईवटा विकल्प छन्।

उनको रोजाइमा दोस्रो विकल्प परेको छ, ट्रान्सप्लान्ट गर्ने। यो निकै चुनौतीपूर्ण र कठिन छ। अर्थात् उनले आफूसँगको यो लडाइँमा फेरि आफैंलाई जित्नै पर्छ र जित्छन् पनि। किनभने उनको आत्मविश्वास र अधिकांशले उनको आवश्यकता महसुस गरेकैले सबैको साथ, सहयोग, शुभेच्छा र शुभकामनाले अन्यथा हुनै दिँदैनन्।

ओलीले भारत, फरक राजनीतिक दल, फरक गुट आदिलाई जिते कि जितेनन् ? धेरैले यस्तो जिज्ञासासमेत राखेको पाइन्छ। तर विषय शत्रुलाई जित्ने हैन, आफैंलाई जित्ने हो। आफैंलाई जितेर बहादुर बन्न सकियो भने शत्रु आफैं पराजित हुनेछन्।

आशा र सपना

केपी शर्मा ओलीको जीवनमा अरस्तुका अन्य भनाइहरू पनि सार्थक ढङ्गले प्रयोग भएका छन्। अरस्तुले एउटा प्रसंगमा भनेका छन्– ‘आशा जागा अवस्थाको सपना हो।’ प्रधानमन्त्री ओलीको विकास र समृद्धिको योजना, मुलुकमा रेल कुदाउने, पानीजहाज चलाउने योजनालाई धेरैले सपना भनेका छन्।

तर यो प्रधानमन्त्री ओलीको रातको सपना हैन, नेपाली जनतालाई केही गर्न सकिन्छ भनेर आशा जगाउने जागा अवस्थाको सपना हो।हिजोसम्म नेपालमा पानीजहाज सम्भव नै छैन भन्नेहरू अहिले पानीजहाजको कार्यालयमा कर्मचारीको खोजी गरिरहेका छन्। रेलको सम्भावना नै छैन भन्नेहरू चीनबाट पहिले रेल आउँछ कि भारतबाट भनेर बहस गर्न थालेका छन्।

यसको अर्थ के हो भने, केपी शर्मा ओलीले नेपाली जनतालाई एउटा भरपर्दो आशा जगाएका छन्। राजनीतिक नेतृत्वको इच्छाशक्ति भयो भने मुलुकमा आर्थिक परिवर्तनको लागि समय लाग्दैन। नेपालजस्तो जलस्रोत, पर्यटन, धार्मिक एवं सांस्कृतिक विशेषता भएको मुलुकमा त छोटो समयमै आर्थिक परिवर्तन सम्भव छ।

तर एउटा कुराचाहिँ के महत्वपूर्ण हुन्छ भने, राजनीतिक नेतृत्वको योजनालाई साकार बनाउन कर्मचारीको साथ र सरोकारवालाको सहयोग अपरिहार्य हुन्छ।प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र योजनाहरू कतिलाई ठीक लाग्ला, कतिलाई गलत, कतिले प्रशंसा गर्लान्, कतिले आलोचना, तर एउटा सत्य कुरा के हो भने मुलुकले दह्रो र दृढ इच्छाशक्ति भएको नेता पाएका छन्, केपी शर्मा ओली।

पहिलो प्रधानमन्त्री कालमा संविधानको विषयलाई लिएर भारतले अघोषित नाकाबन्दी लगाएको थियो, जसको प्रतिवाद ओलीले दृढतापूर्वक गरे। उनले मुलुकको स्वतन्त्रतालाई अक्षुण राख्दै भूपरिवेष्ठित राष्ट्रले पाउने सुविधाको विषयमा अन्तर्राष्ट्रिय रूपमा दरिलो ढङ्गले लबिङ गरेर चीनसँग पारवहन सन्धिसमेत गर्न भ्याए।

जसको कारण नेपाल एउटा मुलुक (भारत) सँग मात्र परनिर्भर रहनुपर्ने अवस्थाको करिब–करिब अन्त्य भयो। ओलीको पहिलो कार्यकालमा नेपालले अन्तर्राष्ट्रिय रूपमा धेरै मुलुकसँग सुमधुर सम्बन्धसमेत स्थापित गर्न सक्यो। दोस्रो कार्यकालमा उनको मुख्य लक्ष्य विकास र समृद्धि नै हो।

दोस्रो कार्यकालको लगभग दुईबर्सेे अवधिमा उनले विकास र समृद्धिको लागि आवश्यक पर्ने केही प्राथमिक कुराहरू र दीर्घकालीन योजनाहरू निर्माण गर्ने र त्यसलाई अगाडि बढाउने कुरामा सक्रियता देखाइरहेका छन्। आस्था, आग्रह, पूर्वाग्रह तथा गुटगत स्वार्थका कारण केहीले जग हैन एकैपटक छत नै खोजी गर्दा केही भएको छैन भनेर हुइयाँ पिटाइरहेका छन्, वास्तविकता भने त्यो भन्दा निकै पृथक छ।

काम धेरै भएका हैनन्, त्यो सत्य हो, तर जति भएका छन् दीर्घकालीन महत्वका काम नै भएका छन्। जसले मुलुकलाई विकास र समृद्धिको दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। अझै दुई वर्षभन्दा बढी समय यो सरकारले काम गर्न पाउँछ। जुन अवधिमा विकास र समृद्धिका आधाभन्दा बढी कामले सफलता प्राप्त गरिसक्नेछ।

र, अर्को सरकारको लागि बाँकी काम गर्न प्राथमिक हैन माध्यमिक तहका आवश्यकताहरू पूरा भैसकेका हुनेछन्। यो कुनै आस्थाको आधारमा गरिएका वकालत हैन, तथ्य र तथ्याङ्कको आधारमा गरिएको विश्लेषण हो। किनभने सरकारले पानीजहाजको लागि धेरै काम अगाडि बढाइसकेको छ। रेलको लागि चीन र भारतले प्रारम्भिक काम शुरू गरिसकेका छन्।

सडक, जलस्रोत, कृषिक्षेत्रका विगतदेखिका महत्वपूर्ण योजनाहरूलाई यो सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। महत्वपूर्ण कानुन निर्माण, विधेयकहरू पारित गर्ने कुरा, संघीयतामा नमिलेका विषयहरू, कर्मचारी समायोजन, प्रदेश राजधानी, बजेटका बाँडफाँडजस्ता विषयलाई पनि क्रमशः सल्टाउँदै लगिरहेको छ।

त्यसैले पनि हामीले निर्धक्क भन्न सक्छौं– प्रधानमन्त्री केपी ओलीले देख्नुभएका सपना र जगाएका आशाहरू पक्कै पूरा हुनेछन्। केपी शर्मा ओलीकै कार्यकालमा पूरा गर्नुपर्छ।

डरलाई जितेको स्वतन्त्रता

उनी अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली, अझै धेरै बाँच्नेछन्। किड्नी प्रत्यारोपणपछि नयाँ जोश, जाँगर र उत्साहका साथ विकास र समृद्धिको अभियानमा थप सक्रिय बन्नेछन्। किनभने उनले एउटा यस्तो स्वतन्त्रता पाएका छन् जुन स्वतन्त्रता आफूभित्रको डरलाई जितेपछि प्राप्त हुनेछ।

आफैंलाई जितेर बहादुर बनेका ओली आफूभित्रको डरलाई जितेर स्वतन्त्र भएका छन्।उनको आफैंभित्रको जित, उनको स्वतन्त्रता पार्टीको लागि हो, जनताको लागि हो र राष्ट्रको लागि हो।

दुई धु्रवमा बाँडिएका दुई ठूला कम्युनिस्ट पार्टीलाई एकैठाउँमा ल्याउन र पार्टी एकता नै गर्न ओलीलाई त्यही स्वतन्त्रताले सम्भव गराएको थियो। जुन स्वतन्त्रता आफ्नो व्यक्तित्व विकास, क्रियाशीलता, निरन्तरता र लगनशीलताका कारण आफूभित्र रहेको आफ्ना सहकर्मीहरूको डरलाई जितेर प्राप्त गरेका थिए।

राष्ट्रले भोग्दै आएको परनिर्भरता अन्त्य गर्दै निडरताका साथ अगाडि बढाउन र जनतालाई सार्वभौम सम्पन्न बनाउन पनि ओलीलाई त्यही स्वतन्त्रताले सम्भव गराएको थियो, जुन स्वतन्त्रता उनले आफूभित्र रहेको विदेशी शक्ति राष्ट्रहरूसँगको डरलाई जितेर प्राप्त गरेका थिए।

अरस्तुकै भनाइमा, ‘उही स्वतन्त्र हुन सक्छ, जसले आफूभित्रको डरलाई जित्न सक्छ।’ अर्थात् केपी शर्मा ओली आफैंलाई जितेर बहादुर बने र आफूभित्रको डरलाई जितेर स्वतन्त्र बने, जुन स्वतन्त्रता र जित राष्ट्र र जनताको लागि समर्पित गरिरहेका छन्, गरिरहनेछन् सधैँ–सधैँ। www.newsofnepal.com

प्रकाशित मितिः सोमवार, मंसिर ३०, २०७६     9:53:57 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *