मेलम्ची परियोजना र पानीको गुणस्तर

 डा‍‍ भाेजराज पन्त                                                                                                                                                                                                                          विचार


जलस्रोत क्षेत्रमा नेपाल विश्वमा नै धनी राष्ट्रहरूमध्ये पर्छ। नेपालमा उत्तरबाट दक्षिण दिशातर्फ बग्ने ६ हजारभन्दा बढी नदीनाला, पाँच हजारभन्दा बढी तालतलैया, लगभग साढे सात लाख हेक्टर भूभागमा फैलिएको सीमसार क्षेत्र र लगभग ११ हजार मिलियन क्युबिक मिटर (एक मिलियन बराबर १० लाख) भूमिगत पानीका भण्डार यसका ज्वलन्त उदाहरण हुुन्। जलस्रोतको प्रचुरता भए पनि पानीको अपर्याप्तता हाम्रा लागि नौलो विषय होइन।

पानीको उपयोग चाहे पिउने प्रयोजनका लागि होस् अथवा कृषिमा सिँचाइका लागि वा औद्योगिक र घरायसी उपयोगकै लागि किन नहोस्, पर्याप्त मात्रामा पानि उपलब्ध हुन सकेको पाइँदैन। पानि यस्तो अत्यावश्यक पदार्थभित्र पर्छ, जसको अभावमा कुनै पनि जीव जीवित रहन सक्दैन। पानीको यस प्रकारको महत्वलाई मनन गरेरै होला, नेपालको संविधानले स्वच्छ पानीको उपलब्धतालाई मौलिक हकका रूपमा स्थापित गरेको छ।उपत्यकामा जनचासोका रूपमा रहेको बहुप्रतीक्षित, बहुचर्चित मेलम्ची परियोजना पानीको गुणस्तर कायम गरी उपभोक्तालाई शुद्ध एवं स्वस्थकर खानेपानी आपूर्ति गर्न सक्षम हुन जरुरी छ।

नेपालमा पर्याप्त पानीको उपलब्धता एकातर्फ टड्कारो रहेको छ भने उपलब्ध पानीको न्यून गुणस्तर अर्को जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार भएको गम्भीर विषय विद्यमान रहँदै आएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार एकजना व्यक्तिलाई प्रतिदिन सामान्यतः व्यक्तिगत सरसफाइदेखि दैनिक उपयोगका लागि लगभग २० लिटर शुुद्ध पानीको आवश्यकता पर्छ। लुगा धुने र अन्य प्रयोजनलाई समेत गणना गर्ने हो भने दैनिक पानीको आवश्यकतामा अझ बढोत्तरी हुन सक्छ। पानीको आवश्यकता व्यक्तिको उमेर, लिंग र अवस्थामा निर्भर हुने गर्छ। डाइट्री रेफरेन्स इन्टेक (डीआरआई) मा उल्लेख भएअनुसार एकजना व्यक्तिलाई स्वस्थ रहन दैनिक निम्नाअनुसार शुद्घ पिउने पानीको आवश्यकता पर्छ।

पानीको आवश्यकतालाई मात्रात्मक हिसाबले तोकेरै भन्न कठिन हुन्छ। तर राजधानी काठमाडौं उपत्यकालाई आधार मानेर भन्ने हो भने न्यूनतम आवश्यकता परिपूर्तिका लागिसमेत पानी उपलब्ध भएको पाइँदैन। पानीको गुणस्तरका सम्बन्धमा कुरा गर्ने हो भने अवस्था दयनीय रहेको पाइन्छ। काठमाडांै उपत्यकाभित्र दैनिक उपभोगका लागि शुद्ध पानी आपूर्ति गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) प्रमुख जिम्मेवार संस्था हो।

विभिन्न अनुसन्धान कृतिहरूमा प्रकाशित विषयवस्तुलाई आधार मान्ने हो भने सन् २०१५ मा उपत्यकामा दैनिक खानेपानीको माग ३१५ मिलियन लिटर (३१ करोड ५० लाख लिटर) रहेको र केयूकेएलको दैनिक पानी प्रशोधन गरी शुद्ध पानी उत्पादन गर्ने क्षमता २४० मिलियन लिटर (२४ करोड लिटर) रहेको पाइन्छ, जसमध्ये बर्खामा १५० मिलियन लिटर अर्थात् १५ करोड लिटर र सुक्खा मौसममा ९० मिलियन लिटर अर्थात् नौ करोड लिटर पानी उपलब्ध हुने गरेको पाइन्छ।

साथै उपत्यकाभित्र बढ्दो जनसंख्याको वृद्धिलगायत औद्योैगिक एवं अन्य घरायसी प्रयोजनका लागि पानी आपूर्तिको उच्च मागसँगै समग्रमा दैनिक पानीको आवश्यकतामा बढोत्तरी हुनु स्वाभाविक हुन आउँछ। यसकारण, माग र आपूर्तिबीचको बढ्दो अन्तरले उपत्यकाभित्र मानिस अन्य पानीका स्रोतमा निर्भर रहनुपरेको बाध्यात्मक अवस्था विद्यमान छ। केयूकेएलद्वारा वितरण हुने पानीबाहेक हाल व्यक्तिगत र सामूहिक प्रयोजनका लागि भूमिगत पानी प्रमुख स्रोतका रूपमा रहँदै आएको पाइन्छ।

यसबाहेक व्यापारिक प्रयोजनका लागि उपत्यका र अन्य क्षेत्रमा समेत पानी प्रशोधन गरी बिक्रीवितरण गर्ने कार्य तीव्र गतिमा हुँदै आइरहेको छ। पानीका स्रोतहरू जेजस्ता भए पनि समग्रमा उपलब्ध हुने पानीको गुणस्तर सन्तोषजनक भने रहेको पाइँदैन। हाल वैकल्पिक व्यवसायका रूपमा स्थापित प्रशोधित पानी उत्पादन गर्ने उद्योगहरूद्वारा उत्पादित पानीसमेत सरकारद्वारा तोकिएको मापदण्ड पूरा नगरी निर्बाध रूपमा बिक्रीवितरण भइरहेको विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाउँछन्। उपत्यकामा पानीको अपर्याप्तता त छँदै छ, पानीका स्रोतहरू समेत सीमित रहेको सन्दर्भमा मेलम्ची खानेपानी परियोजना, पानी आपूर्तिका लागि दिगो समाधान गर्न बलियो विकल्प हुन सक्छ।

हुन त मेलम्ची खानेपानी परियोजना सुरुवात भएको झन्डै ३१ वर्ष भयो, तर अझै सम्पन्न हुन सकेको छैन। परियोजना प्रस्ताव तयार गर्दाका बखत काठमाडौंको तत्कालीन जनसंख्यालाई उपभोक्ता मानेर परियोजनाको विकास गरिएको थियो होला, तर तत्कालीन र वर्तमान अवस्थामा उपत्यकाको जनसंख्यामा गुणात्मक परिवर्तन भइसकेको छ। प्रक्षेपण गरिएअनुसार अबको केही महिना अथवा वर्षमा उक्त परियोजना सम्पन्न भइहालेछ भने पनि आपूर्ति हुने पानीले उपभोक्ताको माग धान्न सक्छ त ? मागअनुसारको आपूर्ति हुन सकेन भने दैनिक आवश्यकता परिपूर्तिका लागि पुनः पानीका वैकल्पिक स्रोतहरूमा निर्भर रहनुपर्ने बाध्यात्मक अवस्था सृजना हुन सक्छ। यस सम्बन्धमा सरोकारवाला जिम्मेवार निकायहरूकोे ध्यान पुगेकै होला भन्ने सोच्नुपर्छ।

पानीको मात्रात्मक अवस्थासँगसँगै जनस्वास्थ्यसँग प्रत्यक्ष रूपले सरोकार भएको विषय यसकोे गुणात्मक पक्ष हो। पानीको पर्याप्तता भएको अवस्थामा पनि दैनिक उपभोगका लागि प्रयोग हुने पानी गुणस्तरीय छैन भने यसले लाभभन्दा हानिलाई नै प्र श्रय दिन्छ। उपत्यकालगायत देशका विभिन्न स्थानमा खानेपानीको गुणस्तर न्यून भएका कारण पानीजन्य स्वास्थ्य समस्या बेलाबेलामा सुन्नमा आउँछन् र यसको प्रकोप बर्खायाममा अझ अप्रत्यासित हिसाबले बढ्ने गरेको हुन्छ। पानी प्रदूषण मुख्यतः सूक्ष्म जीवाणुको कारणले हुने गरेको विभिन्न अध्ययनले देखाउँछन्, तथापि अन्य कारकतत्वलाई समेत नजरअन्दाज गर्न भने मिल्दैन। सूक्ष्म जीवाणुले हुने पानी प्रदूषणको मुख्य कारण सरसफाइको कमी र फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु हो।

देशका धेरै स्थान खुला दिसामुक्त घोषित भए पनि व्यवहारमा अवस्था यथार्थभन्दा भिन्न छ। जुनसुकै स्रोतबाट निस्कासन हुने फोहोरको उचित व्यवस्थापन गरिएको छैन भने त्यो अन्ततः पानीका मुहानसम्म पुग्छ र पानी प्रदूषित हुन जान्छ। त्यस्तो प्रदूषित पानीलाई भान्सामा प्रयोग गरिएको खण्डमा त्यसले विभिन्न किसिमका शारीरिक समस्या निम्त्याउँछ। सूक्ष्म जीवाणुबाहेक, खासगरी भूमिगत पानीमा घुलित अवस्थामा हुन सक्ने हानिकारक रासायनिक तत्वहरू जस्तै धातु (क्याड्मियम, सिसा, क्रोमियम, मर्करी), अधातु (अमोनिया, नाइट्रेट, नाइट्राइट, सल्फेट), अर्धधातु (आर्सेनिक) आदि कीटनाशक विषादिका अवशेषसमेत पानी प्रदूषणका मुख्य कारण हुन्। हानिकारक रसायनबाहेक पानीमा मानव स्वास्थ्यका लागि लाभदायक केही तत्व जस्तै– क्याल्सियम, म्याग्नेसियम, सोडियम र पोटासियमसमेत उपस्थित हुन्छन्। यिनीहरूलाई सूक्ष्म पोषकतत्व (माइक्रो न्युट्रिएन्ट) को रूपमा लिने गरिन्छ। क्याल्सियम, म्याग्नेसियम, सोडियम र पोटासियमजस्ता लवण स्वास्थ्यको सामान्य वृद्घि विकास र शारीरिक क्रियाकलापका लागि महत्वपूर्ण मानिन्छन्।

डाइट्री रेफरेन्स इन्टेक (डीआरआई) मा उल्लेख भएअनुसार स्वस्थकर पिउने पानीमा क्याल्सियम, म्याग्नेसियम, सोडियम र पोटासियमको मात्रा प्रतिलिटर क्रमशः एक हजारदेखि एक हजार तीन सय, चार सय २०, एक हजार पाँच सय र तीन हजारदेखि चार हजार सात सय मिलिग्राम हुनुपर्छ। प्रत्येक व्यक्तिले पानीलगायतका खाद्यवस्तुबाट शरीरका लागि अत्यावश्यक खनिजतत्वहरूको परिपूर्ति गर्ने गर्छ र सामान्यतया स्वस्थ जीवनयापनका लागि १४ देखि ७० वर्ष उमेरसम्मका पुरुषलाई प्रतिदिन औसत ३.५ लिटर, सोही उमेर समूहका महिलालाई २.५ लिटर, गर्भवती महिलालाई तीन लिटर र दुग्धपान गराउने आमालाई ३.८ लिटर शुद्घ पिउने पानीको आवश्यकता पर्छ।

अन्त्यमा, उपत्यकामा जनचासोका रूपमा रहेको बहुप्रतीक्षित, बहुचर्चित मेलम्ची परियोजना पानीको गुणस्तर कायम गरी उपभोक्तालाई शुद्ध एवं स्वस्थकर खानेपानी आपूर्ति गर्न सक्षम होओस् भन्ने शुभकामना !

(पन्त नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक हुन्।)

प्रकाशित मितिः मङ्लबार, असार २३, २०७७     10:24:14 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *