म्यानपावर काम दिएर ठग्छन्, सरकार रोजगारी दिन्छु भनेर ठग्छ’

२३ कात्तिक, काठमाडौं । गुल्मीको मदानेका बाबुराम बिक शुक्रबार मध्यान्हमा तिलगंगा आवास क्षेत्रको ‘म्यानपावर बजार’मा कागजपत्र बोकेर चक्कर काटिरहेका थिए । अनिँदोजस्तै देखिने उनका आँखामा काठमाडौंको कंक्रिट जंगल तिर्मिराएको हुँदो हो ।

थकित भए पनि आफ्नो काम त फत्ते गर्नु नै छ, उनी फोटोकपी गर्ने पसल खोज्दै यताउता दगुर्दै थिए । बिहान मात्रै काठमाडौं आइपुगेका उनी सकेसम्म शुक्रबार नै गुल्मीको बस समात्न आतुर छन् ।

यहाँ उनको योजना हो, म्यापावरलाई पासपोर्ट बुझाउने र मेडिकल गरेर फर्किने । कागजपत्र फोटोकपी गर्दागर्दै उनले गाउँबाटै म्यानपावर कम्पनीहरुमा सम्पर्क गरेका छन् । भिसा झरिहाल्छ भनेर भनेपछि उनले म्यानपावरमा शुक्रबार नै पासपोर्ट बुझाउने तरखर गरेको बुझिन्थ्यो । मेडिकल रिपोर्ट पनि लिइहाल्ने योजना थियो ।

जुन म्यानपावरमा सम्पर्क भएको थियो, उसैले अब विदेश पठाउने जिम्मा लिइसक्यो । ‘सबै काम सकियो भने आजै फर्किन्छु,’ उनले भने, ‘यहाँ होटलमा बसेर पनि खर्च मात्रै हुने हो ।’

कोरोनाको महामारी नआएको भए बाबुराम अहिले काठमाडौंमा हुने थिएनन् । सायद उनी दशैं मानेर भारत फकिसकेका हुन्थे । तर, उनलाई महामारीको भेलले गुल्मी ल्याएर थन्क्याइदियो । जसै कोरोनाको महामारी आयो, उनका सपना  र योजनाहरु पनि भत्किए ।

उनी महामारीभन्दा अघि भारतको कानपुरको एक होटलमा सर्भिस ब्वाइको रुपमा काम गर्थे । आम्दानी राम्रै थियो, बेला-बेलामा घर पनि आउन पाइएकै थियो ।

जिन्दगी सरल रुपमै चलिरहेको थियो । तर, महामारी सुरु भएपछि होटल बन्द भयो । साहुले बाटो लाग्न भने । त्यसपछि बाबुराम पनि पनि अरु श्रमिककै हुलमा मिसिएर घर फर्किनुपर्‍यो ।

उनी गाउँ आउँदा बजेट आउने लहर थियो । संघ सरकार, प्रदेश सरकारदेखि गाउँपालिकासम्मले बजेट ल्याए । रेडियो/टेलिभिजनमा नेताले रोजगारी सिर्जनाका गफ लगाएको पनि उनले सुनेकै हुन् । तर, उनलाई ती बजेट र कार्यक्रमले कतै छोएन ।

जति जति महामारी लम्बिँदै गयो, उनको दुःख गहिरिँदै गयो । त्यसैले उनी यो अवस्थामा टुलुटुलु हेरेर बस्ने पक्षमा छैनन् । त्यसैले उनले पनि हेमन्त शर्माको गीतमा भनेजस्तै निर्णय लिएका छन्,’अहिले जहाँ पुगेर भएपनि काम गरौं, ४० कटेपछि रमाउँला ।’

बाबुरामलाई काँखको छोरी छोडेर महामारीमै विदेश जानुपर्ने अवस्था आएको छ । उनी यसलाई भाग्यको लेखा मान्छन् । कसैप्रति केही गुनासो पनि गर्दैनन् । बरु पासपोर्टमा जतिसक्दो छिटो भिसा लागिदिए हुन्थ्यो भन्ने प्रार्थना गर्छन् ।

‘पहिले पनि ३ वर्ष कतार बसेर फर्किएको हुँ,’ उनी भन्छन्,’फर्किएर भारतमा पुगेपछि होटलमा काम गर्न थालेँ । अब त खाडीतिर जान्न भन्ने लागको थियो, कर्ममा यस्तै लेखेको रहेछ ।’

उनले गाउँमा बस्दा केही गर्न सकिन्छ कि भनेर आँट नगरेका होइनन् । तर, गोजीमा सुको नभएपछि कहाँबाट के काम गर्ने ? केमा हात हाल्ने ?

त्यसैले उनलाई परदेशकै बाटो सजिलो लागेको छ । आफूले दुःख नै पाए पनि परिवारको खुसीका लागि त केही गर्न सकिन्छ नि !

‘गर्न सक्ने उमेरमा यतिकै बस्नु भएन, अब जे जसो पर्छ, गरिन्छ’ उनी भन्छन्,’महामारी छ भनेर के गर्नु ? डराएर बस्दा त समस्या मात्रै थपिन्छ, बरु जे पर्छ त्यो टर्छ भनेर हिँडेको हुँ ।’

प्रकाशित मितिः आइतवार, कार्तिक २३, २०७७     2:56:07 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *