बलात्कारमा कारवाही गर्ने कानून छ, अदालतले नै चासो दिँदैन

बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्तलगायतका बालिकाहरूको बलात्कार, हत्या गरिएका घटनाका कारण जनमानसमा आक्रोश बढिरहेका बेला गत १८ असोजमा बलात्कार मुद्दाको कारवाही प्रभावकारी बनाउन भन्दै महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिल कार्यालयहरूका नाममा सूचना जारी गर्‍यो ।

महान्यायाधिवक्ता कार्यालयले यसअघि पनि थुप्रै पटक यसखालको सूचना जारी गरिसकेको र थुप्रै बहस, आदेश, कानुन, नियमावलीले बलात्कारका मुद्दालाई निरन्तर सुनुवाई (कन्टिनियस हियरिङ)मा राख्न फैसला गरिसकेको छ ।

जस्तो, २०६६ साउनमा अधिवक्ता ज्योति पौडेल समेतले दायर गरेको मुद्दामा महिला पीडित भएका फौजदारी मुद्दा खासगरी घरेलु हिंसाका मुद्दा हेर्ने छुट्टै शीघ्र कारवाही अदालत (फास्ट ट्र्याक कोर्ट) नै गठन गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।

त्यसपछि, जिल्ला अदालत नियमावली २०५२ संशोधन गरेर ०६७ साउनदेखि जबर्जस्ती करणीलाई लगातार कारवाही र सुनुवाई गर्ने मुद्दाभित्र राखिएको छ । तर, यसको कार्यान्वयन गर्न सरकारी वकिल तथा जिल्ला अदालतलहरूले चासो नदेखाउँदा पीडितहरू प्रभावकारी न्याय पाउनबाट वञ्चित भइरहे ।

०७० साउनमा अधिवक्ता उमा तामाङले निरन्तर सुनुवाईको मुद्दा नियमावलीमा आएपनि कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा रिट हालिन् । त्यसमा सर्वोच्चले लगातार कारवाही र सुनुवाई गरिने कानुनी व्यवस्थाको प्रयोग ऐच्छिक नभई अनिवार्य रुपमा कार्यान्वयन गर्न गराउन जिल्ला अदालतभित्रै आवश्यक व्यवस्था गर्न परमादेश जारी गर्‍यो ।

उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरको इजलासको यो परमादेशपछि तत्काल केही सुधार भएपनि पछि यसलाई सबैले वेवास्ता गर्दै गएको बताउँछन् । कुँवर नेपालमा लैङ्गिक हिंसा विरुद्धका मुद्दामा निरन्तर सुनुवाइमा सफलतापूर्वक अभ्यास गरेको न्यायाधीश मानिन्छन् ।

मुलुकी ऐन, २०२० को छैठौं संशोधनले ‘स्वास्नी मानिस वादी भएको वा नाता कायम गराइपाऊँ भन्ने, विधवा महिला वादी वा पुनरावेदक भएको मुद्दाहरुलाई प्राथमिकता दिई किनारा गर्नुपर्ने’ व्यवस्था गरेको छ ।

घरेलु हिंसा (कसूर र सजाय) ऐन, ०६६ मा बलात्कार र अन्य यौनजन्य दुर्व्यवहार भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तहमा लिखित वा मौखिक उजुरी दिन सक्ने उल्लेख छ ।

सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन, २०७३ को घोषणापत्रमा पनि गम्भीर र संवेदनशील मुद्दालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख थियो । सोही घोषणापत्रको आधारमा सबै जिल्ला सरकारी वकिल कार्यालयहरूलाई लगातार सुनुवाई गर्ने सम्बन्धी परिपत्र भइरहेको देखिन्छ ।

नियमावलीहरूमा भने प्रारम्भिक सुनुवाईकै दिन मुद्दा किनारा गर्न सकिने व्यवस्था समेत छ । तर, बलात्कार जस्ता मुद्दालाई सुरुदेखि नै प्राथमिकतामा नराखिँदा प्रलोभन र धम्कीका कारण पीडितले बयान फेर्ने, मुद्दा फिर्ता लिने, प्रमाण नष्ट हुने, आरोपी फरार हुने, ढिलो फैसला आउने भइरहेको देखिन्छ ।

वरिष्ठ अधिवक्ता ढुंगानाका अनुसार महिला हिंसाका मुद्दा छुट्टै हेर्न पारिवारिक अदालत भनेर २०५८ सालअघिदेखि नै कुरा उठिरहे पनि कानुन बनाउने, कार्यान्वयन गराउने सबै ठाउँमा पुरुष भएकोले यी मुद्दा प्राथमिकतामा नपरेका हुन् ।

‘यहाँ न्याय कसलाई चाहिएको ? महिलालाई । बलात्कार, बेचविखन, घरेलु हिंसाको जोखिममा को छन् ? महिला’, उनी भन्छिन्, ‘कानुन बनाउने, कार्यान्वयन गराउने सबै ठाउँमा चाही पुरुष छन् ।’

कतिसम्म भने, महिला विरुद्धका हिंसाको मुद्दालाई पीडितले चाहेमा बन्द इजलासमा सुनुवाई गर्ने प्रावधान छ तर, त्यसलाई सरकारी वकिलले माग गर्नुपर्ने हुन्छ । यस्ता लापरवाहीका बीचमा ल्याइएका कानुन व्यवहारमा लागू नहुँदा पीडित झनै पीडित हुने अवस्था कायम छ ।

कानुनहरुले पीडितका लागि थुप्रै व्यवस्था गरेका छन्, तर समयमै न्याय दिलाउन सकेका छैनन् । पर्याप्त कानुन भएपनि कार्यान्वयनमा लापरवाही हुँदा कमजोरी भएको छ ।

लगातार सुनुवाइको सूचीमै चलखेल

ऐन, नियम, नियमावली तथा फैसलाहरूसमेत न्यायिक प्रणालीका आधारहरू हुन् । यी आधारहरूमै चलखेल गरिएकोले बलात्कार, मानव बेचबिखन जस्ता संवेदनशील मुद्दाहरू प्राथमिकताबाट धकेलिँदै गायब नै पारिएका देखिन्छन् । अभियोजन, प्रक्रिया तथा कानुनी कारवाही तथा पीडितप्रति गरिने व्यवहारमा उत्तिकै लापरबाही हुने गरेको छ ।

मुद्दालाई निरन्तर सुनुवाईमा राख्दा एउटै इजलासबाट कारवाही भइरहेको हुन्छ । यसमा मुद्दा किनारा नलागेसम्म छिटो प्रक्रिया, स्थगित गर्न नपाउने र छिटो आदेश गर्नपर्ने हुन्छ । निरन्तर सुनुवाइमा ऐन, नियम, नियमावलीले उल्लेख गरेका मुद्दाका सुचिहरुको क्रमबद्धता अनुसार प्राथमिकता निर्धारण हुने गर्छ ।

जिल्ला अदालत नियमावली, २०५२ को आठौं संशोधनले बलात्कारलाई निरन्तर सुनुवाई हुने मुद्दाअन्तर्गत पाँचौं नम्बरमा राखेको भए पनि नियमावली ०७३ मा संशोधित भएर आइपुग्दा लगातार कारवाही र सुनुवाई गर्ने भन्ने उल्लेख एकैचोटी अन्तिमको सूचिमा मात्र उल्लेख भएको देखिन्छ । त्यहाँ उल्लेखित सात मुद्दामध्ये जबर्जस्ती करणीलाई तेस्रो नम्बरमा राखेको देखिन्छ ।

मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ९६ को सूचिमा लगातार सुनुवाई गर्नुपर्ने पाँच प्रकारका मुद्दामध्ये बलात्कारलाई पहिलो नम्बरमै राखिएको छ । मानव बेचविखनको विषयलाई भने आश्चर्यजनक रुपमा त्यो सूचिबाटै हटाइएको छ । जबकि, मानव बेचविखनका पीडित बलात्कार, यौनजन्य हिंसा हुने सम्भावना अत्यधिक हुन्छ । यसले कानुन पालना गर्ने, गराउने सर्वोच्च निकाय पनि संवेदनशील मुद्दामा आँखा चिम्लिएका छन् भन्ने प्रष्ट देखिन्छ ।

यस्तै, जिल्ला अदालत नियमावली २०७५ बनिसक्दा निरन्तर सुनुवाईका मुद्दाहरू पूर्ण रुपमा हटाइएको देखिन्छ । नियम ४५ मा भने महिला वादी भएको, न्वारान गराई पाउँ वा नाता कायम गराई पाउँ भन्ने मुद्दालाई दैनिक मुद्दा पेसी सूचि तयार गर्दा अन्य १२ वटा मुद्दासँगै प्राथमिकतामा राख्नुपर्छ भनिएको छ । बलात्कार, मानव बेचविखनका मुद्दा भने उल्लेख नै छैन ।

जिल्ला अदालत नियमावली ०७६ संशोधित भएर आएपछि पनि निरन्तर सुनुवाईका मुद्दालाई त्यस्तै उपेक्षा गरिएको देखिन्छ । लगातार कारवाही र सुनुवाई गर्ने मुद्दा नराखी प्राथमिकता प्राप्त मुद्दा भनेर १८ प्रकारका मुद्दाको सूची उल्लेख छ । त्यसमा जबर्जस्ती करणीको मुद्दा उल्लेख नै नगरी महिला विरुद्धको हिंसासम्बन्धी मुद्दा भनेर १० औं नम्बरमा राखिएको छ । हाल लागू यो नियमावलीले लगातार कारबाही र सुनुवाइका लागि कस्ता मुद्दा पर्छन् भन्नेमा अन्योल बढाएको देखिन्छ ।

न्यायमा पहुँच सम्बन्धी आयोगले २०७२ सालमा सर्वोच्च अदालतका लागि मुद्दाको कारवाही छिटो, छरितो गर्नका लागि कार्यविधि कानुनमा गर्नुपर्ने सुधारबारे, जिल्ला अदालतमा पारिवारिक इजलास गठन गर्नुपर्ने, महिला पीडित भएका मुद्दामा फास्ट ट्रयक कोर्ट गठन गर्नुपर्ने प्रतिवेदन पनि दिएको थियो । यस्तै, न्यायपालिकाको तेस्रो पञ्चवर्षीय योजना २०७१–०७६ मा शीघ्र कारवाही अदालत (फास्ट ट्रयाक कोर्ट) लागू गर्ने उल्लेख छ, तर चौथो पञ्चवर्षीय योजना ०७७–८१ मा यसबारे केही उल्लेख छैन । बरु, त्यहाँ प्राथमिकता प्राप्त १२ मुद्दामा जबर्जस्ती करणीलाई दशौं नम्बरमा राखिएको छ । जिल्ला अदालतहरुमा तोकिएका मुद्दाहरुमा निरन्तर सुनुवाई प्रणालीको प्रयोगलाई प्रभावकारी बनाउने कुरा उल्लेख गरे पनि त्यसलाई न्यायपालिकाको रणनीतिभित्र राखिएको छैन ।

निर्णायक तहमा पितृसत्तात्मक सोच भएकाहरु रहँदा महिलाको मुद्दामा संवेदनशीलता नभएको अधिवक्ता ढुंगानाको भनाइ छ । उनका अनुसार, ती पुरुषहरु समान कानुन भए त भइहाल्यो नि भन्छन् । ‘कतिपय महिलामा पनि पितृसत्तात्मक सोच हावी छ’, उनी भन्छिन्, ‘त्यही भएर पीडितको लागि गम्भीरता देखिएको छैन ।’

सञ्चार माध्यमको पहुँच र उजुरी गर्ने चलन बढेकाले बलात्कारका घटना धेरै देखिएको मान्ने हो भने पछिल्लो समय बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा आठहजार ८४ महिला बलात्कृत भएका छन् ।

प्रकाशित मितिः सोमवार, कार्तिक २४, २०७७     2:27:51 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *