यसरी कन्फटा जोगी भए योगी नरहरिनाथ

प्रेम कैदी : राष्ट्रगुरू योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते कालिकोट लालुको चाखा भँडारीबाडामा भएको थियो। उनका पिताको नाम ललितसिंह थापा र माता गौरादेवी हुन् । योगीको वास्तविक नाम बलवीरसिंह थापा थियो। भारद्घाज गोत्री बझाङ्गी सिंह ठकुरीहरूकै वंशजका सन्तति हुन् । पछि थापा पद सुरक्षाकर्मीका रुपमा राज्यको दायित्व लिँदा पाएको कुरा उनका परिवारजनको दाबी छ। राष्ट्र गीताकै रुपमा रहेको ’शिखरिणी यात्रा’ पुस्तकमा योगी नरहरिनाथले सतव्रत भन्ने शब्द उल्लेख गरेका छन्। सतव्रत भनेको मान्छेको मृत्युपछि हुने पुनर्जन्म हो।

यथार्थमा २०५९ फागुन १४ गते ब्रह्मलीन योगी नरहरि कतै फेरि जन्मेका छन्, छैनन् तर कालीकोटका प्रतिभाशाली युवाहरूको मृगस्थली भेलाले योगी नरहरिको पुनर्जन्म गराएको छ। योगीलाई ललितसिंह थापाले ८ वर्षको उमेरमा मालिका, कैलाश, खप्तड आदि तीर्थहरू जुहार्न लगेकै कारण कतै दैवी कृपा हुन पुगेको र बालक बलवीरलाई लेखपढ गराउन भनेर योगीका मूलगुरु महन्त क्षिप्रानाथले १३ वर्षको उमेरमा जुम्ला जिल्लाको सान्नी रास्कोट दराको लालुगाउँबाट खलंगा लिएर गए।

त्यहाँ केही समय उनलाई भैरवनाथको मन्दिरमा पढाउने क्रममा राती टुपी सिलिङको दारमा डोरीमा बाँधेर निन्द्रा भगाउदै पढिरहेको देख्दा यो गोरखनाथजस्तै सन्त बन्छ भनेर गदगद भएका थिए। क्षिप्रानाथले नै बलवीरलाई कन्फटा जोगी बनाए र बनारस, हरिद्वार, खन्ना हुँदै योगीले मद्रासको संस्कृत विश्वविद्यालयबाट बी.ए. अनर्स गरे। त्यसपछि तिब्बतदेखि श्रीलंकासम्म र अफगानिस्तानदेखि म्यानमारसम्मका मठमन्दिरहरूमा सत्संग गर्दै इतिहास, भाषा र संस्कृतिको अथाह ज्ञान आर्जन गरे । त्यस क्रममा उनलाई प्राचीन लिपि जान्नु पर्ने भएकाले केही समय ३उज्यनको (Vikramaditya University 1957, Ujjain, Madhya Pradesh) विक्रमादित्य विश्वविद्यालयमा गएर पुरातत्वको अध्ययन गरे। त्यसपछि योगी हिन्दुहरूको देशलाई पहिले मुसलमान र अहिले क्रिस्चियनहरूले कब्जा गरेको भन्दै जताततै विद्रोह मच्चाउन अग्रसर भएर अगाडि बढे।

दूर हटो रे दुनियाँवाले ! हिन्दुस्ताँ हमारा है !! भन्ने नारामा योगीको विद्रोह चल्यो। ठाउँ ठाउँमा उनी गिरफ्तार भए। उनका पिठ्युभरी अंग्रेजहरूले पिटेका घाउहरू स्वयम् देखेको योगीका निकटस्त चेला गोविन्द काफ्लेले भन्ने गरेका छन्। उनलाई कराचीमा जहाँ उनी सात वर्ष जेल बसेर सन् १९४७ मा रिहा भएका थिए, त्यहाँ उनलाई मारेर कुहिएका लासहरूको बीचमा खाँदेर फाल्दा पनि बाँचेर आएका थिए। २ वर्ष हिन्दुस्तान पाकिस्तानको सिमानामा मुसलमानहरूले मारेका हिन्दूहरूका लासहरू सतगत गरेर बसे। नाथुराम गोड्सेले करमचन्द गान्धीलाई गोली ठोकेर मारेपछि पाकिस्तानबाट लासहरू आउन बन्द भए।

त्यसैले हरिद्वारमा नुहाएर हिमालयतिर तपस्या गर्ने योजनामा रहेका योगीलाई नेपाल दरबारबाट बबरशमशेरले लिन पठाएका मान्छेहरूले भेटे। योगीको जीवनमा एउटा कुरा साह्रै खड्केको थियो। हिन्दुस्तानलाई अंग्रेजहरूले छोड्नासाथ करमचन्द गान्धी र जवारलाल नेहरुले इतिहासकार राहुल सांकृत्यायनसँग मन्सुरीको होटेलमा तीन दिनसम्म गोप्यरुपमा मन्त्रणा गरी हिमालयदेखि समुन्द्रसम्म नै अखण्ड भारत थियो भनी आसपासका स्वतन्त्र देशहरूको इतिहास मेटाउने सल्लाह गरेका थिए। त्यसै अनुसारका पाठ्यसामग्रीहरू बनेर आउँदा त्यहाँका नेपाली विद्यार्थीहरूले डिल्लीरमण रेग्मीको नेतृत्वमा विरोध जनाएका थिए, जसलाई योगीले पनि साथ दिएका थिए ।
त्यसैले राणाहरूको निम्तोलाई स्वीकार गरेर वि.सं. २००२ मा योगी नेपाल फर्के । नेपाल आएपछि उनले स्वतन्त्र राष्ट्रको इतिहासको निर्माण गर्न व्यापक रुपमा अनुसन्धान सुरु गरे। केही राजघरानाहरूका वृत्तान्तमा सीमित नेपालको इतिहासलाई उनले आफ्नो अध्ययन र इतिहासको चेतनाका आधारमा नयाँ तरिकाले उत्खननको प्रारम्भ गरे। सर्वप्रथम उनले नै गोपाल वंशावलीका आधारमा नेपालको विस्तृत ऐतिहासिक सम्भावनालाई आधार बनाए। २०१२ सालसम्म उनी दुल्लु पुगिसकेका थिए र त्यसैबाट त्यहाँको कृतिखम्बमा उल्लिखित सिंजाका खस राजाहरूको र कर्णालीको पछिल्लो इतिहास पत्ता लगाए। उनले त्यसपछिको जुम्ला साम्राज्य र त्यसअघिको मनुको राजधानी मान्मा अथवा मानमीको इतिहासका बारेमा पनि केही न केही उल्लेख गर्न सफल भए। कैलाश कर्णाली खण्डमात्रै होइन, योगीले नेवार, किराँत, मगरात,अवध, मिथिला, थरुहट, तमुवान, ताम्सालिङ आदि नेपालका विविध राज्यहरूको विभिन्न कालखण्डको इतिहास विना कुनै प्रवाह निर्माण गरे ।

आइने अकवरीका आधारमा नेपाल दिल्लीबाट शासित थियो भन्ने राहुल सांकृत्यायनको जाली तर्कलाई उनले जुम्लाका ताम्रपत्रहरूका आधारमा नेपालको शासन व्यवस्था मौलिक भाषिक संरचनामा आधारित रहेको प्रमाणित गरे। योगीले नेपालको स्वतन्त्र स्वाधीन र अक्षुण अस्तित्वको ऐतिहासिक प्रमाणहरूले पुष्टि गर्दै गएपछि नेपालमा इतिहास निर्माणको आन्दोलन नै चल्यो। योगीले स्वाधीन इतिहासमात्र होइन, उनले स्वाधीन राष्ट्र निर्माणका लागि राजनीतिक चेतना पनि निर्माण गरे। अंग्रेजहरूबाट हिन्दुस्तान स्वतन्त्र गराएर आएका योगीले यहाँ वैदेशिक चलखेल विरुद्ध व्यापक रुपमा आफ्ना विचार दिन थाले।

योगीले सुगौली सन्धिलगायत सन् १९५० को मोहनशमशेरले गरेको सन्धिको पनि कमीकमजोरीहरूको सार्वजनिक रुपमा विरोध गर्न थालेपछि विदेशीहरू योगी नरहरिमाथि खनिए। २००८ को कोशी र २०१६ को गण्डक सम्झौता अनि विदेशी डाल्डा घ्यू भित्र्याउने जस्ता ३राष्ट्रघाती कामकार्वाहीको उनले खुलेर विरोध गरे। योगीका विपक्षीहरूले उनलाई राजाबाट सञ्चालित भने र अनेक तरिकाले बदनाम गरे र गोर्खाको जनविद्रोहको नेतृत्व उनले गरेपछि उनलाई समातेर मार्ने योजना गरियो। भागेर जुम्ला पुगेका योगीलाई हात्तीले कुल्चाउने, नदीमा खसाल्ने केही गर्दा पनि नमरेपछि उनलाई हिलैहिलो भएको छिडीको साप र बिच्छी लाग्ने कोठामा भैरहवा लगेर भोकभोकै थुनियो तर उनको ध्यान र योग शक्तिले उनी बाँचे।

त्यसरी नै पञ्चायत कालमा उनले लर्ड मैकाले शिक्षा पद्धतिको विरोध गरेर पूर्वीय सभ्यता, भाषा र संस्कृतिको रक्षाका लागि दाङमा दानबाट १२ हजार बिघा जमीनमा संस्कृत विश्वविद्यालय खडा गर्न सफल भएपछि काठमाडौं कब्जा गरेर बसेका योगीका शब्दमा इसाई, मुसाई, कसाई र चुसाईले उनलाई फेरि २०३२ सालमा गिरफ्तार गराए र कारागारमा मार्न खोजे ।

तीनचोटी मार्न खोजिए पनि नमरेका र इच्छामृत्यु भएका योगी महाकवि, ब्रह्मज्ञानी, योगेश्वर, गोरखनाथकै अवतार मानिन्थे । भाषाविद्, संस्कृतिविद् मात्र नभएर उनी संस्कृत भाषाका कसैले पढ्न नसक्ने व्याख्या गर्न नसक्ने दुरुह लिपु र लेख्यहरूको पनि सरल व्याख्या गर्न सक्दथे। कसैले नदेखेको यति भेटेर फोटो खिचेर मानव जातिको त्यस पुर्खाको विविध वर्णन गर्न पनि उनी सफल थिए।

उनले यस पंक्तिकारलाई धेरै अमृत तुल्य जडिबुटी प्रयोग गर्न सिकाएका छन् । उपचारको हकमा उनी धन्वन्तरीकै अवतार मानिन्छन्। नेपालमा विदेशी विधर्मीहरूको षड्यन्त्रले उनी थुनिएको श्री ५ रत्नलाई थाहा भएपछि राष्ट्रगुरू रिहा भएका थिए।

उनलाई तत्काल भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले बोलाएर दाङको बदला बाबागञ्जमा संस्कृत विश्वविद्यालय स्थापना गर्न अनुरोध गरेकी थिइन्। योगी नरहरिनाथ जागरुक सन्त मात्र थिएनन्, कहिल्यै नझुक्ने र देशका लागि बलिदान हुन सधैं तत्पर महान् सपुत थिए। उनको प्रशंसा जति गर्दा पनि उनको योगदानहरूको तुलना नगन्य हुन्छ। उनी विश्वका २७ भाषा बोल्न सक्थे, जब कि राहुल सांकृत्यायनले २१ भाषा बोल्थे भने विनोबा भावेले १७ भाषा बोल्थे। ५७३ पुस्तकका लेखक योगीका हाल ३५९ कृति मात्रै उपलब्ध छन्। योगी नरहरिनाथका बारेमा विदेशी विधर्मीहरूका षड्यन्त्रले गर्दा सिंहदरबार उनका विरुद्घ सधैं लागेको पाइन्छ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ४, २०७७     5:16:17 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *