रक्सी रोक्दा विमानस्थलमा पर्यटन बोर्डका सीईओले मच्चाएको भाँडभैलो

                                                                २२ कात्तिक, काठमाडौं ।

शनिबार भाइटीकाको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी अरु यात्रुसँगै लाइनमा थिए । लण्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका सीईओ रेग्मीको ब्यागेजमाथि विमानस्थल भन्सार कार्यालयको आँखा पर्‍यो, कारण थियो ब्यागेजमा ६ वटा रक्सीका बोतलहरु थिए ।

झिटीगुण्टा सुविधाअनुसार नेपाल आउने यात्रुले आफ्नो साथमा एक लिटरसम्मको एउटा बोतल रक्सीको मात्रै भन्सार छुट सुविधा पाउँछन् । तर, ६-६ वटा बोतल देखेपछि रेग्मीमाथि सोधपुछ शुरु भयो ।

भन्सार कार्यालय स्रोतका अनुसार शुरुमै रेग्मीले आफू पर्यटन बोर्डको सीईओ भएको जानकारी गराए । उनले आफूसँगै यात्रामा रहेका बोर्डकै कर्मचारी र पर्यटन व्यवसायीले किनेको रक्सी आफूले बोकेको स्पष्टीकरण दिए ।

तर, भन्सारका कर्मचारीले नियमविपरीत एकै जनाले यति धेरै रक्सी ल्याएको भन्दै जफत हुने बताइरहे ।

विमानस्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले र सचिव यादव कोइरालाको समेत नाम लिएर अस्वाभाविक व्यवहार देखाएपछि भन्सारका कर्मचारीले पनि नियम विपरीत छाड्न नसकिने स्पष्ट जवाफ दिए ।

त्यसपछि विमानस्थलमा रेग्मी र भन्सारका कर्मचारीबीच धकेलाधकेल भयो । रेग्मीले कर्मचारीमाथि ‘तुच्छ शब्द’ प्रयोग गर्दै दुर्व्यहार गरेका विमानस्थल भन्सार कार्यालयका अधिकारीहरुको दावी छ । उनीहरुले सीईओ रेग्मीले कर्मचारीमाथि थप्पड नै हानेको आरोप लगाएका छन् ।

त्यस दिन सीईओ रेग्मी लण्डनबाट पर्यटनमन्त्री आले, सचिव कोइरालासँग एउटै विमानबाट आएका थिए । मन्त्री र सचिव विशिष्ट पाहुनाहरुले प्रयोग गर्ने रुट प्रयोग गरी विमानस्थलबाट बाहिरिएका थिए ।

शनिबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानबाट नेपाल आएका रेग्मीसहित बोर्डका कर्मचारी र पर्यटन व्यवसायी भने सर्वसाधारणले प्रयोग गर्ने बाटोबाटै निस्किए ।

सीइओ रेग्मीले लण्डनबाट काठमाडौं उड्नुअघि आफूसहित बोर्डका तीन कर्मचारी र तीन जना पर्यटन व्यवसायीले ‘ड्यूटी फ्रि’मा मदिरा किनेको अनलाइनखबरसँग बताएका छन् ।

बाइ वान गेट वान (एक बोतल किन्दा अर्को बोतल सित्तैमा पाइने) मदिरा खरिद गरी उनीहरुले नेपाल ल्याएका थिए । तर अध्यागमन र भन्सारको चेकिङको लाइनमा आफू अगाडि परेको र अरु पछाडि परेको सीइओ रेग्मीको दावी छ ।

विमानस्थलमा केही बेर तनाव भएपछि विमानस्थल भन्सार कार्यालयले रेग्मीलाई त्यसै छाड्न अस्वीकार गर्‍यो । मदिराका बोतल जफत गरेर सीइओ रेग्मीलाई दिउँसो १ बजे घर जान दिइएको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले विमानस्थलमा खटिएका कर्मचारीमाथि दुव्र्यवहार गरेपछि ५ हजार जरिवाना गराएर छाडिएको बताए । ‘भन्सारले कुन पदमा को बसेको छ भन्ने विषय हेर्दैन, कानूनमा के छ भन्ने मात्र जान्छ र सोहीअनुसार सबैलाई एकै व्यवहार गर्छ,’ उनले भने ।

अरुको सामान भन्दै तोकिएभन्दा बढी झिटीगुन्टा बोकेर ल्याउनेलाई छोड्ने हो भने विमानस्थलको यात्रुले ल्याउने समान जाँच्न भन्सार बस्नुको औचित्य नै समाप्त हुने भन्सार विभागका एक अधिकारीले बताए । ‘अरुको सामान भन्दै सर्वसाधारण यात्रुले तोकिएभन्दा बढी  सामान ल्याउँदा पनि हामीले कानूननै हेर्ने हो, जो जतिसुकै विशिष्ट पदको व्यक्ति भएपनि लागू हुने कानून त्यही हो ,’ उनले भने ।

चाडबाडको दिन भएकाले आफुले कानून अनुसार तिर्नुपर्ने जरिवाना तिरेर निस्किएको सीईओ  रेग्मीले बताए । सो क्रममा काठमाडौं मेडिकल कलेजका डाक्टरले गरेको पहिलो परीक्षणमा रेग्मीले मदिरा सेवन गरेको देखिएको थियो । तर तत्कालै गरिएको दोस्रो परीक्षणमा भने उनले मदिरा नपिएको देखिएको थियो ।

सीईओ रेग्मीले १४/१५ घण्टा अगाडि विदेशमै होटलमा पिएको तर जहाजमा नपिएको दावी गरेका छन् । मुखमा ‘फु’ गर्न समेत नलगाई पोजेटिभ रिपोर्ट लेखिएको भन्दै उनले मापसे चेक गर्ने प्रणालीप्रति समेत प्रश्न उठाएका छन् ।

सत्कार सिकाउने तरिका झापड हो ?

नेपाल पर्यटन बोर्ड नेपालमा आन्तरिक तथा बाह्य पर्यटकमाथि सेवा सेवा प्रदायकलाई सत्कार सिकाउने संस्था हो । यो घटनामा पर्यटकीय आदर र सत्कार सिकाउने मूख्य संयन्त्रका प्रमुख अधिकारी नै अनादर गरेको आरोपमा मुछिएका छन् ।

रेग्मीले आफूले त्यहाँका कर्मचारीको तुच्छ बोली र व्यवहार सहन नसकेपछि धकेला-धकेलसम्म भएको स्वीकार गरेका छन् ।

विमानस्थलका कर्मचारीको रुखो व्यवहार र बोलीबारे पटकपटक गुनासो पनि सुनिन्छ । तर, सत्कार कसरी गर्ने भन्ने सिकाउने संयन्त्रकै प्रमुखबाट भएको यो गतिविधिलाई भन्सारकै कर्मचारीले अपाच्य भनेका छन् ।

भन्सार भन्सार विभागका एक उच्च अधिकारीले कर्मचारीले अनादर गरेको भए आदर गर्न सिकाउने तरिका झापड नभएको बताए ।

तर, सीईओ रेग्मी भने आफूमाथि अभद्र व्यवहार भएको दावी गर्दै ती कर्मचारीले सामान्य पर्यटकमाथि कस्तो व्यवहार गर्लान् भन्न् प्रश्न गरिरहेका छन् ।

मादक पदार्थ सेवन गरी ड्यूटीमा खटिएका सरकारी कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा रेग्मीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन दिन भित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।

सोमबार नै मन्त्रालयले विमानस्थल भन्सारमा खटिएर सीईओ रेग्मीमाथि दुर्व्यवहार गरेको  आरोप लागेका कर्मचारीसँग समेत मन्त्रालयले कुराकानी गरेको छ । दुबै पक्षसँग कुराकानी गरेपछि मन्त्रालयले सीईओ रेग्मीसँग स्पष्टीकरण माग गरेको हो ।

प्रकाशित मितिः सोमवार, कार्तिक २२, २०७८     10:26:15 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *