बजेट कार्यान्वयनमाथि कर्णालीका मुख्यमन्त्रीको चासो

सुर्खेत– प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट कार्यान्वयनको अवस्थाबारे कर्णालीका मुख्यमन्त्रीले चासो व्यक्त गरेका छन्।

सतप्रतिशत बजेट खर्चिने योजना बनाएको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको कार्यान्वयन अवस्थाबारे जानकारी लिएका हुन् । विषयगत मन्त्रालयका सचिवहरुलाई बोलाएर मुख्यमन्त्रीले बुधबार छलफल गरेका छन् ।

वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशनसमेत गरेका छन्। ‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होईन’ सचिवहरुलाई निर्देशन दिदै मुख्यमन्त्री शाहीले भने,‘प्रदेश सरकारको सोच वमोजिम जनताले अनुभुति गर्ने गरि परिणाममुखी विकास निर्माण हुनुपर्छ ।’

६ वटै विषयगत मन्त्रालयका सचिवहरुले वजेट कार्यान्वयनको प्रगति, कार्यान्वयनमा देखा परेका चुनौति र आगामी योजनाको व्रिफिङ्ग गरेका थिए। मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनको समय सिमासहितको ठोस कार्ययोजना ३ दिनभित्र पेश गर्न निर्देशन दिए। कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या सामाधान गर्नुपर्ने योजनाहरुको विवरणसमेत पेश गर्न उनले निर्देशन दिए।

‘प्रादेशिक संरचना नयाँ भएको र कुनैपनि संरचना नभएको अवस्थामा प्रदेश सरकारको संस्थागत गर्न सचिवहरुले महत्वपुर्ण भुमिका खेल्नुभएको छ, फाईल र कलम समेत आफैले किनेर जसरी मन्त्रालय चलाउनुभयो यसको मुल्याँकन ईतिहाँसले गर्नेछ’ उनले भने।

कर्मचारी समायोजनपछि सरकार अझै व्यवस्थित हुने अपेक्षा व्यक्तगर्दै मुख्यमन्त्री शाहीले समायोजनको चिठी हातमा नपरुन्जेल सम्म मन्त्रालयको काममा दत्तचित्तका साथ लाग्न सचिवहरुलाई आग्रह गरे।

वजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाईएको, योजना छनौटको लागि सुचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौताभई कार्यान्वयनमा गएको, कतिपय योजनाको सर्भे भईरहेको र कतिपय योजना छनौैटको चरणमा रहेको प्रगति विषयगत मन्त्रालयका सचिवहरुले विवरण पेश गरेका छन्।