कालिकोटमा स्वास्थ्य शिविरको बहानामा निजी मेडिकलद्धवारा ब्रह्मलुट

ग्रामीण क्षेत्रका निजी मेडिकलले स्वाथ्य शिवरको बहाना बनाएर बिरामीहरूबाट ब्रह्मलुट गरिरहेको पाइएको छ । जिल्लाको सदरमुकाम मान्ममा रहेको विस्ट मेडिकल हलले स्वाथ्य शिविरको नाममा बिरामीबाट चर्को मूल्य असुल गरेको बिरामीले गुनासो गरेका छन् ।

२५ फागुनदेखि सञ्चालन गरेको स्वाथ्य शिविरमा गाउँबाट स्वाथ्य सेवा लिन आएका बिरामीले आफूहरूले नाम मात्रै दर्ता गराउन ४ सय तिर्नुपरेको गुनासो गरे । नगरपालिका, जिल्ला अस्पताल र जिल्ला प्रशासनसँग अनुमति नै नलिई स्वाथ्य शिविर सञ्चालन गरेको विस्ट मेडिकलले नाम दर्ता गराउन ४ सय मात्र होइन बिरामीको भिडियो एक्सरेदेखि रगत, दिसा र पिसाबको जाँचमा समेत तीनगुण बढी मूल्य लिएको गुनासो गरे । जिल्ला अस्पताल र बजारका निजी मेडिकलमा ६ सयमा गरिने भिडियो एक्सरे शिविरमा १ हजार २ सय, ३५० मा गरिने एक्सरे ६ सयमा र चाहिनेभन्दा बढी औषधि बिरामीलाई दिने गरेको पाइएको छ ।

शिविर सञ्चालन गरेको थाहा पाएपछि स्वाथ्य सेवा लिन आएकी जिल्लाको शुभकालिका गाउँपालिका निवासी वाटु शाहीले, नाम दर्तादेखि डाक्टरले चेकजाँच गराएको १२ हजार तिर्नुपरेको समेत गुनासो गरिन् । वाटु शाही मात्र होइनन् शिविरमा सेवा लिन आएकी खाँडाचक्र नगरपालिका–३ की सत्य आचार्यले पनि आफू चर्को मूल्यमा औषधि लिन बाध्य भएको गुनासो गरिन् ।

यस विषयमा जिल्ला अस्पताल र नगरपालिकासँग जिज्ञासा राख्दा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले अनुमति नलिई स्वाथ्य शिविर सञ्चालन गरेको भन्दै मेडिकलका प्रोपाइटर तुलाराम विस्टलाई स्पष्टीकरण लिएका छन् । यस्तै, कालिकोटमा सञ्चालन भएका कुनै पनि निजी मेडिकलले ल्यावसेवा सञ्चालन गर्ने अनुमति नभएको जिल्ला सीएमए संघका अध्यक्ष दीपक शाहीले बताए । सीमए पढेर ल्याब सेवा सञ्चालन गर्ने अनुमति कसैलाई नभएको उनले बताए । rajdhanidaily.com साभार गरिएको हो