मुख्यमन्त्री सहित मन्त्रीले एक महिनाको तलब बिपद् कोषमा जम्मा गर्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री सहित सबै मन्त्रीहरुले आफ्नो एक महिनाको पारिश्रमिक विपद कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । कर्णाली प्रदेश मन्त्री परिषदको बिहिबार बसेको बैठकमा मुख्यमन्त्री सहित सबै मन्त्रीहरुले आफ्नो एक महिनाको पारिश्रमिक विपद कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । उनीहरुले नोबेल कोरोना भाइरस (कोभिड —१९) का बिरुद्ध तयारी स्वरुप सो रकम विपद कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

कर्णाली प्रदेश सरकारको विपद् कोषमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो एक महिना बराबरको पारिश्रमिक ५३ हजार ९ सय, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ५० हजार, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले ५०, भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसीले ५०, सामाजिक विकास मन्त्री दल रावलले ५० र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ५० हजार विपद कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सहित सबै मन्त्रीहरुको गरि जम्मा ३ लाख ३ हजार ९ सय रुपैयाँ विपद कोषमा जम्मा हुने छ । प्रदेश सरकारले सबै नागरिकलाई सक्ने जति सहयोग गर्न पनि अपिल गरेको छ ।