रास्कोट नगरपालिकाले खटायो टोलटोलमा शिक्षक

 कालिकोट, जिल्लाको रास्कोट नगरपालिकाले पठनपाठनका लागि घरघरमा शिक्षक खटाएको छ । कोभिड(१९ का कारण तत्काल विद्यालय सुचारु नगर्न शिक्षा मन्त्रालयले आग्रह गरेपछि नगरपालिकाले घरघरमा शिक्षक खटाएको हो । नगरपालिकाले प्रत्येक विद्यालयका शिक्षकहरूलाई विद्यार्थीको घरघरमा पुगि पठनपाठन गर्न गराउन निर्देशन गरेको छ । स्मार्ट कर्णाली न्युजको टोलि रास्कोट नगरपालिका वडा नम्बर ७ पुच्छेगाँउमा पुग्दा बडिमालिका माध्यामिक विद्यालयका शिक्षक जयराम बराल र खेमराज न्यौपाने विद्यार्थीको घर आँगनमा बसेर विद्यार्थीलाई पढाइरहेको भेटिए । शिक्षक जयराम बरालका अनुसार विद्यालयले शिक्षकहरूलाई प्रत्येक टोलमा खटिएर आफ्ना विद्यार्थीहरुलाई पठनपाठन गराउन जिम्मेवारी बाँडफाँड गरेको छ ।

अर्का शिक्षक खेमराज न्यौपानेले विद्यालयको निर्णय अनुसार आफुहरु विद्यार्थीको घरमै पुगेको बताए । घरमा पुगेका शिक्षकले कोरोनाका कारण अवरुद्ध बनेको पठनपाठनलाई पुनः सुचारु गराउने छन् । बडिमालिका माध्यामिक विद्यालयले आफ्ना ३२ जना शिक्षकलाई नगरपालिका भित्रका विभिन्न १४ टोलमा परिचालन गरिएको शिक्षक न्यौपानेले जानकारी दिए । आफ्नो घरमा शिक्षक आइपुगेकोमा खुसी व्यक्त गर्दै बडिमालिका माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रमिला सहकारीले ७ महिना पछि घरमै शिक्षक पुग्दा पढ्न थप हौसला मिलेको बताइन् । घरघरमै शिक्षक पुगेपछि स्थानीय अभिभावकले खुसी व्यक्त गरेका छन् ।