अविश्वासको प्रस्ताव सरकार हैन, दलको नेताविरुद्ध हो -मुख्य मन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् । नेकपा सांसद कुर्मराज शाहीका अनुसार १८ जना सांसदले पार्टी संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर गरेका हुन् । ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । नेकपाका बहुमत सांसदले गरेको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएको उनले बताए ।  मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेको सूचीमा पूर्वमाओवादी खेमाबाट प्रतिनिधित्व गर्ने उपसभामुख पुष्पा घर्ती र सांसद धर्मराज रेग्मीले पनि हस्ताक्षर गरेका छन् ।

पार्टीभित्रको समस्या छलफलबाटै हल हुन्छ  मुख्यमन्त्री शाही

हस्ताक्षर अभियान चलेपछि मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने बताए । हस्ताक्षर अभियान सरकारविरुद्ध नभई संसदीय दलको नेताविरुद्ध भएको उनले भने ।

के भने शाहीले ?

हस्ताक्षर अभियान सरकारविरुद्ध हैन, संसदीय दलको नेताविरुद्ध हो । प्रधानमन्त्री ओलीविरुद्ध पनि यस्ता कुरा आएकै हुन् । दलको आन्तरिक कुरा हो यो । संसदीय दलको बैठकमा छलफल हुन्छ । सरकारविरुद्ध प्रस्ताव आएको भए राजीनामा दिने या प्रस्ताव फेस गर्ने भन्ने कुरा हुन्थ्यो । अब पार्टीभित्रै छलफल गरेर समस्या समाधान हुन्छ । दलको कुरा भएका कारण अहिले नै धेरै कुरा बोल्न आवश्यक छैन । केही दिनमै बैठक बसेर यो समाधान खोज्छौं ।