मुख्यमन्त्री शाहीको पक्षमा उभिए प्रकाश ज्वाला, मन्त्रीले अन्तिम समयसम्म साथ दिने !

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै कर्णाली प्रदेश सांसदहरूले कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावले राजनीतिक हलचल मच्चिएको छ ।

यसैबीच, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा उभिएका छन् । उच्च स्रोतले जानकारी दिए अनुसार मन्त्री ज्वाला मुख्यमन्त्री शाहीकै पक्षमा उभिने भएका छन्।

मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावले आम जनतामामा निराशा बढ्ने बताउँदै मन्त्री ज्वालाले ५ बर्षसम्म यही सरकार रहनदिनुपर्ने आफु निकट नेताहरुसँग बताएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार मन्त्री ज्वालाले अप्रत्याशित रुपमा ल्याईएको प्रस्तावले पार्टीका अन्य कमिटी र गाउँगाउँसम्म विवाद ल्याउन सक्ने र जनतामा राम्रो सन्देश नजाने उनको भनाइ रहेको जनाएको छ ।

आइतबार कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसमा तत्कालीन एमालेका १५ सांसद र माओवादीका ३ सांसद रहेका छन् । एकताअघि मुख्यमन्त्री भागबण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो, तर अहिले बहुमत एमाले सदस्य मिलेर अविश्वास प्रस्ताव ल्याइएको भन्दै यसले पूर्व माओवादी खेमामा तरंग सृजना गरेको बताइन्छ ।

यता, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा छलफल भएको छ । छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको सतहमै देखिएको पार्टी विवाद मिलाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।