राष्ट्रिय जनगणना प्रक्षेपण : ७० लाख घरपरिवार, ३ करोड जनसंख्या

२४ कात्तिक, काठमाडौं । सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्या समेत ३ करोड नाघ्ने छ ।

राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २ सय ६६ रहेको छ ।

जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाटै शुरु गरिएको थियो । चालु आवमा भने सक्ने लक्ष्य छ । विभागले २५ जेठ २०६८ बाट ८ असार २०६८ सम्म १५ दिन जनगणना गर्नेछ ।

४३ हजार गणक र ९ हजार सुपरिवेक्षक

जनगणनाका दौरान देशभर ४३ हजार गणक घरघरमा पुगेर तथ्यांक संकलन गर्ने भएको छन् । उनीहरुको समन्वयका लागि ९ हजार सुपरीवेक्षक कर्मचारी खटाउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

जनगणनाको कामलाई सहजीकरण  र व्यवस्थित गर्न केन्द्रदेखि वडास्तरसम्म विभिन्न समिति बन्न भएका छन् ।

निर्देशक समिति, समन्वय समिति, प्राविधिक समिति, विषयगत समिति, प्रदेश समिति, स्थानीय तहस्तरीय समिति र वडास्तरीय सहजिकरण समिति समेत बन्ने भएको छ ।

वडाको आर्थिक क्षमता खोजी गरिँदै

जनगणनाका दौरान विभिन्न तीन प्रकारका प्रश्न सोधिने भएको छ । घरपरिवार तथा लगतसम्बन्धी २५ वटा प्रश्न सोधिने भएको छ । मुल प्रश्नावलीमा विभिन्न ५५ वटा प्रश्न सोधिने भएको छ । यो पटक सामुदायिक प्रश्न समेत सोध्ने तयारी छ ।

यीे प्रश्न वडाले भर्ने छन् । महानिर्देशक श्रेष्ठका अनुसार वडामा राजस्व संकलनको स्रोत, कृषि उपज, तथा गैरकृषि उत्पादन र निकासीको अवस्था, वडाको आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा-सुविधाको पहुँच, विपदसम्बन्धी विवरण समेत संकलन गरिने भएको छ ।

व्यक्तिगत प्रश्नतर्फ घरसम्बन्धी विवरण, कृषिमा प्रयोग भएको जग्गा र क्षेत्रफल, पशुपंक्षी, वित्तीय सुविधा, पहँुच, व्यवसायिक शिक्षा र तालिमप्राप्त व्यक्ति, सरकारी अनुदानमा बनेका घरको समेत विवरण संकलन गरिने भएको छ ।

घर-परिवारले प्रयोग गरेका सुविधा, खानेपानी, खाना पकाउने इन्धन, शौचालय, टिभी, फोन, महिनाका नाममा भएका घर जग्गा, घरेलु उद्यागेको विवरण, विदेशमा रहेका आफन्त, परिवारका सदस्यले गर्ने काम, कमा नगर्ने भए त्यसको कारण समेत खोजी गरिने भएको छ ।

नेपालमा जनगणनासम्बन्धी केही रोचक तथ्य

विसं १९६८ पहिलो जनगणना (चन्द्रशमशेरको पाला)

विं सं २००८ को जनगणना राणाविरुद्धको आन्दोलनका कारण रोकिएको, यो वि.स. २००९-११ मा मात्र सम्पन्न ।

विं सं २०१८ देखि पुनः हरेक १०/१० मै जनगणना ।

विं सं २०२८ मा तथ्यांक प्रशोधनका लागि पहिलो पटक कम्प्यूटरको प्रयोग ।

विं सं २०६८ मा पहिलो पशुपंक्षिको समेत विस्तृत गणना ।

वि सं २०७८ मा पहिलो पटक वडास्तरीय आर्थिक तथ्यांक संकलन गरिँदै  ।