पत्र दर्ता भएको डेढ महिनापछि स्थानीय तहलाई परिपत्र

२५ कात्तिक, काठमाडौं । सिंहदरबारभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीचको भौतिक दूरी मुस्किलले १ सय मिटर होला ।

२ असोज २०७७ मा पर्यटन मन्त्रालयले संघीय मन्त्रालयका नाममा पठाएको पत्र अनुसरको परिपत्र संघीय मन्त्रालयले १ महिना २२ दिनपछि (२४ कात्तिक २०७७) गरेको छ । तर, सो पत्रअनुसार स्थानीय तहलाई दिइएको निर्देशन अब औचित्यविहीन बनेको छ ।

मन्त्रिपरिषद्को २९ भदौको बैठकले ५ असोजबाट आन्तरिक हवाई उडान सूचारु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पर्यटन मन्त्रालयले २ असोजमा संघीय मन्त्रालयका नाममा पत्र लेख्दै आन्तरिक विमानस्थल रहेका स्थानीय तहबाट तापक्रम नाप्ने प्रयोजनका लागि स्वास्थ्यकर्मी तथा भोलेन्टियर कर्मचारी उपलब्ध गराउन पत्र लेखेको थियो । जुन पत्र असोज ४मा संघीय मामिला मन्त्रालयमा दर्ता भएको थियो ।

५ असोजबाट नियमित आन्तरिक हवाई उडान समेत सुरु भयो । हवाई उडान सुरु भएकै डेढ महिना नाघेको छ । हरेक विमानस्थलमा विमानस्थल व्यवस्थापन र सुरक्षाकर्मीबाटै आवश्यक कर्मचारीको व्यवस्थापन गरी सेवा सुरु गरिएको छ ।

तर, संघीय मन्त्रालयले सोमबार मात्र सबै स्थानीय तहका नाममा पत्र लेख्दै पर्यटन मन्त्रालयको निर्णयबारे जानकारी गराएको हो । उसले पर्यटन मन्त्रालयको मागअनुसार आदेश कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशनसमेत दिएको छ ।

तर, पर्यटन मन्त्रालयका एक अधिकारीले भने अब उक्त आदेशको औचित्य सकिएको बताए ।

‘हवाई उडान अब सामान्य बनिसक्यो, मापदण्डअनुसार सबै विमानस्थलमा उडान सुरु भएको छ,’ उनले भने, ‘तत्कालीन परिस्थितिअनुसार गरिएको मागको अब काम छैन ।’

पर्यटनले स्थानीय तहबाट ज्वरो नापेर यात्रुलाई पठाउन सम्बन्धित स्थानीय तहबाट स्वास्थ्यकर्मी तथा भोलेन्टियर कर्मचारी उपलब्ध गराउन माग गरेको थियो ।