कर्णाली प्रदेशमा मन्त्रीपरिषद् पुनर्गठनको तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएपछि मन्त्री परिषद पुनर्गठनको गृहकार्य थालिएको छ । अबको एक सातामा काँग्रेससहितको मन्त्री परिषद् पुनर्गठनको तयारी भइरहेको हो ।

मन्त्री परिषद् पुनर्गठनको तयारी भइरहेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनु भयो । ‘मुख्यमन्त्रीले विश्वासको मत लिएपछि राजनीतिक किचलो सकिएको छ,’ मन्त्री केसीले भनिन्, ‘सम्भवत एक साता भित्रै मन्त्री परिषद् पुनर्गठन भएर सरकारले पूर्णता पाउँछ ।’

उनले सरकारको लक्ष्य समृद्ध कर्णाली बनाउने रहेकाले मन्त्री परिषद् पुनर्गठन गरेर विकासको गतिलाई तिव्रता दिनेगरी अघि बढीरहेको उल्लेख गरिन् । कुन–कुन मन्त्री बन्दै छन भन्ने प्रश्नमा प्रवक्ता केसीले त्यसको टुंगो नलागेको बताइन् ।

स्रोतकाअनुसार काँग्रेसबाट हिमबहादुर शाही र यज्ञ विसीलाई मन्त्री बनाउने गृहकार्य भइरहेको छ । तर सरकारमा सहभागी हुने बारे अहिल्यै नै टुंगोमा पुगिनसकेको नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही बताउँछन् । ‘अल्पमतमा रहनु भएका मुख्यमन्त्रीलाई मत मात्रै दिएका हौं । सरकारमा सहभागी भइनै हाल्ने हामीले निर्णय गरिसकेका छैनौं,’ शाहीले भने ।

यता, मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका सांसदद्वय कुर्मराज शाही र अमरबहादुर थापालाई पनि सरकारमा लैजाने भद्र सहमति भएको स्रोतको दावी छ । तर फ्लोर क्रस गरेका एमाले सांसद थापाले भने पदकै लागि फ्लोर क्रस नगरेको तर समय र परिस्थितिले सरकारमा सहभागी हुन सकिने जनाउन गरेका छन् ।

अहिले सरकारमा सहभागी मन्त्री विमला केसी र नरेश भण्डारीको ठाउँमा माओवादी केन्द्रका सांसदद्वय विन्दमान विष्ट र सीता नेपाली मन्त्री हुने सम्भावित पात्र भएको नेकपा माओवादी केन्द्रका एक सांसदले नेपालीरैबारलाई जानकारी दिए । ‘सरकारमा को–को सहभागी हुने भन्ने बारे लगभग पात्रहरु टुंगीसक्नु भएको छ,’ ति सांसदले भने, ‘एक सातामा छर्लङ्गै भइहाल्छ अहिले सबै नभनौं ।’ nepaliraibar.com