प्रदेश १ सरकारले मंगलबार विश्वासको मत लिने, प्रस्ताव दर्ता

२८ कार्त्तिक, काठमाण्डौ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको व्यवस्था अनुसार आइतबार मुख्यमन्त्रीले प्रस्ताव दर्ता गराउनुभएको छ ।
‘मुख्यमन्त्रीको तर्फबाट प्रदेशसभा सचिवालयमा विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता भएको छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव सन्दिप राईले भन्नुभयो । कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले कात्तिक २३ गते नै विश्वासको मत लिने तयारी गरेको भएपनि तिहार र छठ पर्वका कारण त्यस दिन बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसगरी कात्तिक ३० गतेका लागि सारिएको थियो ।
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्य कायम छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेपछि ताप्लेजुङका सांसद टंक आङ्बुहाङको पद रिक्त भएको थियो । मुख्यमन्त्री राईलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनका ५० सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री राईले गठबन्धनको सबै मत कायम रहने विश्वास व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राई विश्वासको मत लिएरमात्र सरकार विस्तार गर्ने तयारीमा हुनुहुन्छ । मुख्यमन्त्री, चार मन्त्री र एक राज्यमन्त्रीसहित छ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएका राई केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहनुभएको बताइएको छ ।