सन्तोषले चार करोड आईसीमा बेचे ‘प्रेम गीत–३’को भारतीय बजारको राइट्स

१ मंसिर काठमाडौं ।

चलचित्र ‘प्रेम गीत–३’ को भारतको प्रदर्शन राइट बिक्री भएको छ । निर्माण युनिटले चलचित्रको भारतमा थिएटर र डिजिटल राइट्स बिक्री गरेको हो ।

निर्माता तथा निर्देशकसमेत रहेका सन्तोषले चार करोड भारतीय रुपैयाँमा भारतका लागि चलचित्रको राइटस् बेचेको जानकारी दिए । यद्यपि, यो पूरै राइट्स (प्रतिलिपि अधिकार) भने होइन । एमजीमात्रै हो ।

“भारतका थिएटर र ओटीटीको एमजी हामीले दिएका हौं । चार करोड रुपैयाँ आईसीमा हामी एमजी दिएका हौं,” सन्तोषले भने, “एमजीको रकम उठिसकेपछि ७०/३० मा बसेका छौं । ‘इम्पोसिबल फिल्म्स’ले उनको चलचित्रको एमजी किनेको हो ।

‘इम्पोसिबल फिल्म्स’ले चार करोड भारतीय रुपैयाँ सन्तोषलाई दिएको छ । उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम उपलब्ध गराउने छ ।

‘प्रेम गीत–३’लाई हिन्दी भाषामा डबिङ गरिएको छ । हिन्दीमा यो चलचित्रको नाम भने ‘प्रेम गीत–३’ रहने छैन । ‘संघार’ राखिएको छ ।

लकडाउको समयमा भारतमा बसेर सन्तोषले त्यहाँका चल्तीका डबिङ आर्टिस्ट लिएर चलचित्र हिन्दीमा डबिङ गराएका थिए । हिन्दी डबिङमा मात्रै उनले ९३ लाख आईसी खर्चिएका छन् ।

सन्तोषका अनुसार उनले यो चलचित्रमा नेपालमा चार करोड रुपैयाँ खर्च गरेका छन् । “ठूलो रकम खर्च भए पनि भारतको राइट्सले चलचित्रको लगानी उठिसकेको छ,” सन्तोष भन्छन्, “अब चलचित्र राइट डेट र राइट टाइममा कसरी चलाउने र पब्लिसिटी कसरी गर्ने भन्ने तयारीमा छौं ।”

नेपाल र भारतमा एउटै समयमा चलचित्र रिलिज गर्ने उनको तयारी छ । यसका लागि आउँदो साता उनी इन्डिया जाँदैछन् । “फागुनपछि रिलिज गर्ने भारतीय डिष्टिब्युटरको तयारी छ । भारतमा र यहाँ एउटै समयमा रिलिज गर्ने हाम्रो लक्ष्य हो,” उनले भने, “प्रदर्शन मिति र पब्लिसिटी डिजाइनका लागि म आउँदो साता इन्डिया जाँदै छु ।”

भारत र नेपालमा एउटै मितिमा प्रदर्शन गर्न पाए नेपालमा पनि पब्लिसिटीमा सहज हुने उनको विश्वास छ ।

‘इम्पोसिबल फिल्म्स’ले पाँच सयदेखि सात सय थिएटरमा चलचित्र प्रदर्शन गर्ने आश्वासन सन्तोषलाई दिएको छ । “राइट डेट मिल्यो र भारतीय ठूला चलचित्र आएनन् भने हजारवटा सम्म थिएटरमा रिलिज गर्ने कुरा भएको छ,” सन्तोष भन्छन्, “नेपाली भाषी रहेका क्षेत्रमा ठूलो संख्यामा थिएटरमा रिलिज गर्ने योजना रहेको छ ।” भारतीय वितरकबाटै नेपाली भाषाी चलचित्र आउँदा सहज हुने वितरक र सन्तोषको विश्वास छ ।

“चलचित्रको पोष्टमा कति धेरै क्वालिटीमा काम गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि यो चलचित्र राइट टाइम र राइट डेटमा लगाउने प्रयासमा छौं,” सन्तोष भन्छन् । चलचित्रलाई छेतेन गुरुङ र सन्तोषले संयुक्त रुपमा निर्देशन गरेका छन् । निर्देशक गुरुङको निधन भइसकेको छ ।