इम्बोस्ड प्लेट : हल्लिने, फुट्ने, च्यातिने र हराउँने समस्या ।

४ मंसिर, काठमाडौं ।

फागुन २०७७ मा स्वेच्छिक रुपमा अनलाइन फारम भरेर २५ सय रुपैयाँ शुल्क तिरेर आफ्नो मोटरसाइकलमा इम्बोस्ड प्लेट जोड्दा पाटनका राज बज्राचार्यलाई लागेको थियो– सुरक्षित र आकर्षक नम्बर प्लेट हालियो । तर, उनको खुसी पाँच महिना पनि टिकेन ।

कार्यालयबाट घर फर्किंदै गर्दा उनको प्लेट खसेर हरायो ।

‘फेला पार्नेलाई फिर्ता गरिदिन आग्रह गर्दै फेसबुकमा सूचना राखेको थिएँ,’ उनले भने, ‘भोलिपल्ट युएनर्पाकको प्रहरी बिटमा सोधपुछ गर्दा सडकबाट टिपेर राखिदिएको रहेछ ।’ हराएको प्लेट नभेटेको भए फेरि जडानका लागि उनले अर्को २५ सय रुपैयाँ तिर्नुपर्थ्यो । तर, भेटिएकै प्लेट जोड्न पनि उनले थप खर्च गर्नुपर्‍यो ।

विभागले वितरण गर्ने स्मार्ट लाइसेन्स (कार्ड) को गुणस्तरमा पनि प्रश्न उठ्दै गर्दा इम्बोस्ड नम्बर प्लेट जोड्ने सवारी धनीहरु प्लेटकै बनोट र जडानसम्बद्ध अनेकन समस्याबाट पीडित हुन थालेका छन् ।

सरकारले मंसिरदेखि नयाँ दर्तामा अनिवार्य गर्ने निर्णय गरेको इम्बोस्ड प्लेट आगामी फागुनबाट नामसारी तथा जेठबाट ब्लुबुक नवीकरणमा पनि अनिवार्य हुने भनिएको छ ।
तर, यो प्लेटको गणस्तर र जडान पद्धतिमा नै प्रश्न उठेको छ । गाडीमा जोडेको प्लेट नटिक्ने समस्याले सवारी धनी पीडित छन् ।

यातायात व्यवस्था विभागले एकपटक जोडेको इम्बोस्ड प्लेट निकाल्न खोजे च्यात्नैपर्ने भएकाले सवारी चोरीको समस्या हट्ने दावी गरेको थियो । तर, प्लेट र त्यसलाई अड्याउने होल्डर नै आफैं च्यातिने समस्या देखिएपछि इम्बोस्ड प्लेटको सुरक्षात्मक पक्ष झनै कमजोर रहेको देखिएको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् ।

****

हराएका इम्बोस्ड प्लेट सबैले भेटाउँदैनन् । यस्तो अवस्थामा सवारी धनीले फेरि नयाँ शुल्क तिरेर अर्को प्लेट जोड्नुपर्छ । अहिले यसरी प्लेट जडानका लागि यातायात व्यवस्था कार्यालयमा जानेको संख्या पनि बढ्दै गएको छ ।

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) ले करिब ४ हजार इम्बोस्ड प्लेट वितरण गरेको छ । तर, इम्बोस्ड प्लेट हराएको, खसेको, च्यातिएको, फुटेको जस्ता समस्या लिएर करिब १५ सय सवारी धनीले कार्यालयमा गुनासो गरिसकेका छन् ।

गाडी आकर्षक देखिने भन्दै इम्बोस्ड प्लेट जोडेका यातायात कार्यालयकै कर्मचारीहरु यो समस्याबाट पीडित छन् । आफ्नै स्कुटरको प्लेट खस्न लागेपछि वर्कसपमा पुगेर ‘वेल्डिङ टाँचा’ हानेको कार्यालयका एक कर्मचारीले बताए ।

उनका अनुसार इम्बोस्ड जोडेर नपछुताउने मोटरसाइकल सवारी धनीको संख्या निकै कम छ । ‘मेरै एक जना आफन्त अफरोडमा लङ ड्राइभ जाँदा पनि प्लेट खसेपछि झोलामा प्लेट राखेर फर्किनुभयो,’ उनले भने, ‘अधिकांश प्लेट फुट्ने र च्यातिने समस्या छ ।’

अझ कच्ची बाटोमा गाडी चलाउनेहरुले यस्तो समस्या धेरै भोगिरहेका छन् । गाडी थर्किँदा होल्डर र प्लेटको प्वालको आकार बढ्दै गएर च्यातिने समस्या बढी देखिएको ती कर्मचारीले बताए ।

‘स्मार्ट भनिएको प्लेट कसैले तारले बाँधेर अड्काएर चलाउनुपरेको छ भने कतिपयले वेल्डिङ गरेर अड्याउनु परेको छ,’ उनी भन्छन्,‘कति कमसल धातुको प्रयोगबाट प्लेट बनेको छ कि बढी थर्किने प्रकृतिका सवारीमा त यो टिक्दै टिक्दैन ।’

अधिकांश सवारीमा जोडिएका इम्बोस्ड प्लेट आफैं दोब्रिँदै जाने समस्या पनि छ । कतिपय प्लेट खसेपछि फेरि अड्याउन नमिलेपछि अंक र अक्षरलाई नै प्रभाव पर्ने गरी जोडिएको पनि छ ।

विभागका महानिर्देशक नमराज घिमिरे मोटरसाइलमा जोडिने नम्बर प्लेटमा यस्तो समस्या बढी देखिएको बताउँछन् । प्लेट कतै ठोक्किएमा च्यातिने जोखिम भने भएको उनले बताए ।

यो प्लेट आल्मुनियमबाट बनेकाले नपुट्ने उनको भनाइ छ । तर, गुनासो बढ्दै गएकाले यसको गुणस्तरबारे अध्ययन गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

‘यो आल्मुनियमको भएकाले दोब्रिन सक्छ, तर फुट्न हुँदैन, खस्नु पनि हुँदैन,’ उनले भने, ‘प्राविधिक रुपमा कहाँ के कमजेरी भएको हेर्छौं ।’

देखाउन मात्रै इम्बोस्ड !

समस्या प्लेटको गाुण्स्तरमा मात्रै छैन । सरकारले अहिलेसम्म इम्बोस्ड नम्बरलाई यातायातको मुख्य प्रणालीसँग पनि जोडेको छैन । यसका कारण इम्बोस्ड नम्बरका आधारमा सवारी साधनले कर तिर्न सकेका छैनन् ।

प्रणालीले नचिन्ने भएकाले इम्बोस्ड नम्बर प्लेट जोड्ने सवारीको ब्लुबुकमा पनि पुरानै पद्धतिको नम्बर पनि उल्लेख भइरहेको छ । अर्थात् इम्बोस्ड जोड्ने सवारीले परम्परागत खालको ‘ओरिजिनल’ नम्बर पनि पाइरहेका छन् ।

‘कुनै नयाँ दर्ता हुने सवारी धनीले इम्बोस्ड नम्बर लिए पनि पुरानै पद्धतिको नम्बर उल्लेख गर्नुपर्ने अवस्था छ,’ विभागका एक अधिकारी भन्छन्, ‘२५ सय रुपैयाँ कर तिरेर लिएको नम्बर प्लेट बाहिर देखाउन मात्रै भयो, हाम्रो प्रणालीले त्यो नम्बर प्लेटलाई चिन्दै चिन्दैन ।’

यातायातको कर तिर्ने प्रणालीलाई इम्बोस्डमा एकीकरण गर्ने गरी विभागले प्रणाली र नेटवर्क नै नबनाउँदा यो समस्या आएको हो । योजना अनुसार शहरमा इम्बोस्ड नम्बर जोडेका सवारीको ट्रयाकिङ गर्न राख्नुपर्ने ‘स्मार्ट गेट’हरु पनि बनेका छैनन् ।

सरकारले बंगलादेशी कम्पनी टाइगर डेकाटुरलाई इम्बोस्ड प्लेट छाप्न भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलरमा ठेक्का लगाएको छ ।

विभागका निर्देशक रामचन्द्र पौडेल कर तिर्ने प्रणालीमा इम्बोस्ड नम्बर पनि विकल्पमा राखिएको बताउँछन् । ‘पुरानो पद्धतिअनुसारको नम्बर त चाहिन्छ, तर इम्बोस्ड नम्बर पनि प्रणालीमा देखिन्छ,’ उनले भने, ‘क्रमसैसँग प्राविधिक रुपमा देखिएका समस्याहरु हल गर्छौं ।’