दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका रक्षबहादुर शाह २ हजार ५७१ मतसहित अध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे। लक्ष्मीले २ हजार २७९ मत प्राप्त गरिन्। अध्यक्षमा पराजित एमालेकी शाह जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख हुन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जितेको यो गाउँपालिकामा यो पटक कांग्रेसले जित हात पारेको हो। २०७४ मा कांग्रेसका रक्षबहादुर शाह एमालेका धीरबहादुर शाहीसँग अध्यक्षमा पराजित भएका थिए। यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेशकुमार रावत १ हजार ६१७ मतसहित तेस्रो स्थानमा रहे।

एमालेले गाउँपालिका उपाध्यक्ष भने जितेको छ। उपाध्यक्षमा एमालेका देवीराम बडुवाल निर्वाचित भएका छन्। उनी २ हजार ६९५ मतसहित उपाध्यक्षमा विजयी भएका हुन्। बडुवालले कांग्रेसकी भद्राकुमारी शाहीलाई २७९ मतले पराजित गरे। कांग्रेसकी शाहीले २ हजार ४१६ मत प्राप्त गरिन्। माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेदवार विजुकुमारी थापा रोकाय १ हजार ५७ मतमा सीमित भइन्।

६ वडा रहेको यो गाउँपालिकामा चारमा कांग्रेस र दुईमा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ठाटीकाँध गाउँपालिका–१ मा कांग्रेसका चक्र कामी, २ मा एमालेका प्रेमबहादुर मगर, ३ मा कांग्रेसका भरतबहादुर बम, ४ मा कांग्रेसका केहेर सिंह कठायत, ५ मा एमालेका लालबहादुर शाही र ६ मा कांग्रेसका जोरासिंह रोकाय क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित कांग्रेसका रक्षबहादुर शाह र उपाध्यक्षमा निर्वाचित एमालेका देवीराम बडुवाल रहेका छ्न ।