सरकार विस्तार र प्रदेश सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

 

काठमाडौं, पुस ३० । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा सरकार विस्तार, मन्त्रालय बाँडफाँड, सभामुख निर्वाचन र प्रदेश सरकारलाई पूर्णता दिने विषयमा को विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।

आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा ९१० मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।