स्थानीयले फ्याँकेको फोहोरले उठाउदै नगरप्रमुख सुवर्णकुमार बुढा ।

सदियौँ वर्षदेखि भेरी नदीमा चाङ लागेको फोहोर नगरपालिकाको सक्रियतामा उठाउने कार्यको थालनी गरिएको छ ।

भेरी नदीलाई फोहोर फाल्ने डम्पिङ साइटको रूपमा लिएका दुनैका व्यवसायी र स्थानीयले फ्याँकेको फोहोरले दुनै बजार दिनप्रतिदिन कुरूप बन्दै गएको थियो ।

भेरी नदीको शालीनतासँगै प्राकृतिक सुन्दरताको माझमा रहेको दुनै बजारलाई स्वच्छतामा परिणत गरी सुन्दर दुनै बजार बनाउने उद्देश्यले सातामा दुई पटक सरसफाइ गरिने गरी भेरी नदी सरसफाइ अभियान नगरले थालेको हो ।

नगरप्रमुख सुवर्णकुमार बुढाको नेतृत्वमा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना सामाजिक अभियन्ता र नगर कर्मचारीहरूले भेरी नदीको फोहोर उठाउने कार्यको थालनी गरेका हुन् ।

दुनै बजारको बीच भाग भएर बग्ने भेरी नदीको दुवै तर्फ बनेका घरका शौचालयको सेप्टी ट्याङकीको पाइप सिधै नदीमा जाने गरेको र व्यवसायीहरूले समेत फोहोर नदीमा नै फ्याँक्ने गरेकाले दुनै बजार कुरूप बन्दै आएको छ ।

भेरी नदी सरसफाइका साथै अव्यवस्थित ढल निकास व्यवस्थापनको लागि नगरले एक दिन मात्र सरसफाइ गरेर दुनै बजार फोहोरबाट मुक्त नहुने भएकाले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा सामाजिक अभियन्ता योगेन्द्र बुढाले जोड दिनुभयो ।

नगरले थालेको यो अभियानमा स्थानीयको संलग्नता नरहेसम्म पाहुनाको रूपमा सहभागीहरूले एक दिन गरेको सरसफाइले दुनै बजार र भेरी नदी स्वच्छ बन्न नसक्ने अभियन्ता बुढाले बताउनुभयो ।

नगरलाई नै सरसफाइले स्वच्छ सुन्दर बनाउन टोल टोलमा सरसफाइ समिति गठन गरी गाउँटोलमा रहेका आमा समूह बाल क्लब, युवा क्लब समेतलाई संलग्न गराई सबै नागरिकलाई सरसफाइ सम्बन्धी सचेतना जगाउने ‘मेरो घर मेरो टोल’, ‘मेरो गाउँ, स्वच्छ सुन्दर र हराभरा बनाऔँ’ भन्ने अभियानलाई पहिलो प्राथमिकतामा राखेर नगरले कामको थालनी गरेको प्रमुख प्रशासकीय अधिकृत वासुदेव लम्सालले बताउनुभयो ।

दुनै र जुफाल बजारका व्यवसायी र स्थानीयले समेत कुहिने र नकुहिने फोहोर पहिचान गरी छुट्याएर राख्नु पर्ने र नगरको ट्याक्टरले उठाएर दुनैस्थित धुपिचौर भन्ने स्थानमा व्यवस्थापन गर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिनुभयो ।

नगर प्रमुख बुढाले नगरले चालेको सरसफाइको अभियानलाई सबै स्थानीय र व्यवसायीले साथ दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैले आ–आफ्नो इलाकामा फोहोर जम्मा गरी राख्न र नगरको सवारीसाधनले फोहोर उठाउने भएकाले नगरको अभियानलाई साथ दिएर सहयोग गर्न अनुरोध गरिएको आ–आफ्नो क्षेत्रमा गरिएको फोहोर उठाउन भेरी नदीमा ढल निकास हुने गरी बनाइएका शौचालयका पाइपहरू सम्बन्धित घरधनीलाई हटाउन ३५ दिने सूचना जारी गरेका छौँ।’

ठूलिभेरी नगरपालिकाले भेरीनदीमाथि जथाभाबी निकास गरिएका ढलनिकासको व्यवस्थापन र फोहोरको व्यवस्थापनका लागि बाइस लाखको लागतमा ट्र्याक्टर खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको सूचनालाई अटेर गरी आफूखुसी फोहोर फाले र ढलनिकास व्यवस्थापन नगरे कानुनी कारबाही गरिने समेत नगरले जनाएको छ ।