दशै को महत्त्व नेपालीले बुझ्न आबश्यक छ समाजिक अभियान्ता तिर्थ सुना

तिर्थ सुनार                                                                                                        समाजिक अभियान्ता

समाजसेबि तिर्थ सुनारले नेपाली हरुले दशैको आवश्यतmा बुझ्न आबश्यक रहेको बताउनु भएको छ । सुनारले हामिले नेपाली हौ नेपालिको पहिचान दिनकालागी पनि दशै सभ्य सिष्ट तरिकाले समुदाएले मनाउनु प्रर्ने बताउनु भएको छ ।

दशैंको महत्वबारे चर्चा गर्नुपूर्व आजका बालबालिका र किशोर किशोरीहरूको मनोविज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व, रितिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादूगरी कथा किंवदन्तीले मात्र अबका पुस्ताले चित्त बुझाउने छैनन् । विज्ञानको युगमा नयाँ पुस्ताले विज्ञानसम्मत कारणहरू खोतल्न र खोज्न थालिरहेका छन् । वेद पुराण र किंवदन्ती कथाहरू लोक साहित्य हुन् । साहित्यका विम्ब र प्रतीकले व्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरू त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडी त्यसको वैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञासु रहेको हामीले पाउन थालेका छौं ।

अतः हाम्रो संस्कृति र रितिरिवाजको वैज्ञानिक पक्ष उनीहरूलाई बुझाउन सकेनौं भने उनीहरूले त्यो मान्नेवाला छैनन् । फलस्वरूप हाम्रो धर्म संस्कृति र रितिरिवाजबारे वैज्ञानिक सत्य तथ्य खोज्नु अति आवश्यक भइसकेको छ । प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।

 

संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो ‘दशैँ’ । नेपाली हिन्दु सम्प्रदायमा दशैं सबैभन्दा ठुलो र महत्वपूर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ ।आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामले मनाइने यो दशैं कहिलेदेखि सुरु भयो भन्ने कुनै ईतिहास भेटिएको छैन । आजको एक्काइसौं शताब्दीमा पनि मान्छेहरु जंगली र अर्धजंगली अवस्थामा रहेको हामी भेट्टाउछौँ । हाम्रा पितापुर्खाहरू अर्धजंगली अवस्थाबाट विकसित हुँदै कृषि युगमा प्रवेश गरे पछि दशैं मान्ने परम्परा सुरु भएको हुनु पर्दछ । पछि गएर धार्मिक आवरण ओढाइएको हुनसक्छ भन्ने विद्वानहरुको मत छ ।

 

प्राचिनकालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ । दशैंको सामाजिक, सांस्कृतिक र राजनीतिक महत्वको बारेमा पछि चर्चा गरौंला । पहिला पौराणिक महत्वको बारेमा चर्चा गरौं ।

 

देवी पुराणअनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे । देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले । त्यसपछि देवताहरू ब्रह्माको शरणमा गए र ब्रह्माको सल्लाहअनुसार विष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफल पछि सबैले आफ्नो आफ्नो शक्तिपुञ्ज निकाले । ती शक्ति पुञ्जहरु एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण ग¥यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्धपछि शन्ड–मुन्ड र रक्तबीज सहित महिषासुरको बध गरेर दशौँ दिनमा विजय उत्सव मनाए । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।

 

अद्भुत रामायण र श्रीमद् देवी भागवत अनुसार अर्को कथाप्रसंग जोडिएको छ दशैंसँग । रामले रावणको बध गरेर अयोध्या फर्के पछि ठुलो जनसभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहँदा सीताले मुख लेप््रयाएर व्यंग्य मुश्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भएपश्चात विश्वामित्रले सीतासँग सोधे । धेरैबेरको अनुरोध पछि सीताले भनिन्, ‘त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको वीरताको यत्रो बखान हुन्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरूले के गर्दा हौ ? त्यसकारणले हाँसेकी हुँ ।’ सीताको यो अभिव्यक्तिले रामसभामा ठुलो तरङ्ग पैदा ग¥यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने, ‘त्यसोभए म अहिरावण र महिरावणको बध नगरि छोड्दिनँ ।’ रामले प्रतीज्ञा गरे र युद्धको तयारी भयो ।

 

घमासानको युद्धमा राम समेत उनका भाईहरू मुर्छित भए, कोलाहल मच्चियो र त्यहि मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणहरुको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो । दशमीको दिन उनीहरूले विजयोत्सव मनाए ।

 

श्रीमद देवी भागवत र तुलसी कृत रामायण अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भए पछि शक्तिस्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामले लङ्का विजय गरे । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउंदै आइरहेकोमा गर्मी मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरु पनि भेटिन्छन् ।

 

उपरोक्त आख्यानहरू तत्कालिन साहित्यकारहरूका साहित्य हुन् । साहित्यमा विम्ब–प्रतीक हुन्छन् नै । विद्वान समीक्षक तथा पाठकहरूले महिषासुर, रावण, अहिरावण र महिरावण लगायतका विम्ब–प्रतीकलाई काम, क्रोध, लोभ, मोह, अहङ्कार, मद, मात्सर्य अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक भनेर अर्थ लगाएको हुनसक्छ । असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौं बितिसकेको छ । अर्काथरि मतअनुसार मानव शरीर नौवटा ढोका भएको दुर्ग हो । नौवटा ढोका भएको दुर्ग अर्थात् नवद्वारको दुर्ग नवदुर्ग र यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि भेटिन्छ । ती मत राख्ने आधुनिक विद्वानहरू दशैंलाई ज्ञानरुपी दियो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरि आत्मारुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह र अहंकारजन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवसको रुपमा लिनुपर्ने आग्रह राख्दछन् ।

 

ऋग्वेदमा उल्लेखित धेरै कुराहरू वर्तमान समयमा वैज्ञानिकहरूले विज्ञानसँग तुलना गरेर हेर्ने र सोको अध्ययन अनुसन्धान गरिरहेका छन् । जुनबेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो वैज्ञानिक अनुसन्धानको सुविधा नभएकोले र सनातन धर्मका ज्ञाताहरुले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरुको प्रचार प्रसार हुन नसकेको प्रतीत हुन्छ । हाम्रा वेद, पुराण र उपनिषद् आदि धार्मिक ग्रन्थ वैज्ञानिक तथ्यमा आधारित हुँदाहुँदै पनि वैज्ञानिक तथ्यको आधारमा यसको व्याख्या विश्लेषण र खोज अनुसन्धान गर्नुभन्दा पूजा–उपासना आदिमा सीमित राखिएकोले यसको महत्व विश्व जनमानसमा न्यून भएको हुन सक्छ । नवदुर्गाको जुन नौ वटा स्वरूप छ, त्यसमा वैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नवदुर्गाको ध्यान, उपासना, पूजा आदि गरिन्छ । ति नव दुर्गाको वैज्ञानिक स्वरूप स्वामी निशेषा नन्दका अनुसार यसप्रकार रहेको ।

 

१) प्रतिपदामाः शैलपुत्री – सम्भावना शक्ति

२) द्वितियामा: ब्रम्हचारिणी – चुम्बकीय शक्ति

३) तृतीयामा: चन्द्रघण्टा – ध्वनी शक्ति

४) चतुर्थीमा: कुष्मान्डा – रासायनिक शक्ति

५) पञ्चमीमा स्कन्दमाता – आकर्षण शक्ति

६) षष्ठीमा: कात्यायनी – ब्रह्माण्डी केन्द्र शक्ति

७) सप्तामीमा: कालरात्री – प्रसारण शक्ति

८) अष्टमीमा: महागौरी – प्रकाश शक्ति

९) नवमीमा: सिद्धिदात्री – विद्युतीय शक्ति

 

यी उल्लेख गरिएका शक्तिहरु विश्व ब्रह्माण्डमा र हरेक प्राणीहरूमा विद्यमान छन् ।

 

भारतीय हिन्दु र नेपाली हिन्दुहरूको दशैं मनाउने भिन्न भिन्न शैली छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरू नै हुन् । तापनि जात, जाति र भूगोलअनुसार दशैं मनाउने विधि फरक–फरक छन् । हिन्दुहरूको महान चाड दशैं भएजस्तै गैर हिन्दुहरू जस्तैः उदाहरणको लागि बौद्ध, इशाई र इस्लामहरुको पनि महान चाड हुन्छन् । जुनसुकै जात, धर्म वा सम्प्रदायले जस्तोसुकै चाडपर्व मनाए पनि त्यसको वैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरू बताउँछन् । काम, भोजन, आराम, मनोरन्जन र सुरक्षा यी सबै मानवीय प्रवृति हुन् । यिनै मानवीय प्रवृतिको आधारमा चाडपर्व मनाउनुका आधार अंगेजीका चार वटा आरमा विभाजन गरिएको छ ।

 

१) त्याग्नु, छोड्नु वा हटाउनु; चाडपर्वमा आफ्नो घर–आँगन लिपपोत र सरसफाई गर्नु, रंग–रोगन गर्नु, पुरानो वस्तु हटाएर नया वस्तु भिœयाउनु, पुरानो वस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्नु, पुरानो विचार त्यागेर नयाँ–नवीन सिर्जनाको योजना बनाउनु ।

 

२) जसरि मोबाइल, घडी आदि बेलाबखत रिचार्ज गरिएन भने त्यो बन्द हुन्छ, त्यसरी नै मानवीय उर्जाको लागि पनि शक्ति संचय गर्न जरुरी हुन्छ ।

 

३) आनन्द प्राप्त गर्नु वा मनोरन्जन गर्नु र चाडपर्व जीवनको एउटा उत्सव हो । उत्सवमा अनेक परिकार भोजन र मनोरन्जन गरेर आनन्द प्राप्त गर्न सकिन्छ ।

 

४) (नाता सम्बन्ध पुनः नवीकरण) ः जीवन भोगाईको क्रममा नाता सम्बन्ध अनेकौं कारणले चिसिन सक्छ । चिसिएको सम्बन्धलाई न्यानो बनाउने र न्यानो सम्बन्धलाई अझै गाढा बनाउन चाडपर्व महत्वपूर्ण अवसर हो ।

उपरोक्त आधारहरू हिन्दुको दशैंको मात्र नभएर ईशाइको क्रिसमस र ईस्टर, ईश्लामको रमजान, इदुल फित्र, बकरिद र किराँतीको साकेला, उधौली, उभौली र थकालीको फालो, तोरन्ल र गुरुङको टोहोंटै, ल्होसार, थारुको माघी, मधेसीको छठ, शेर्पाको ग्याल्पो ल्होसार आदिका पनि आधार हुन् भन्दा अतिशयोक्ति हुने छैन । किनभने यी पर्वहरू हिन्दुको दशैं जस्तै ठुलो महत्वको पर्व रहेको हामी पाउछौं । यो हाम्रो चाड होइन त्यसैले हामी यसलाई मान्दैनौं भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । सबै चाडपर्व मानिसकै सिर्जना हुन् ।

 

मानव पुर्खाका अनुभव र अनुभूतिबाट संस्कृतिको निर्माण भएको हुनाले भौगोलिक कारण र जीवन जिउने विविधताका कारणले संस्कृति पनि अलग अलग हुन गएको हो । सबैले याद गर्नुपर्ने एउटा उदाहरण पेश गरूँः– जापानमा बुद्धको मुर्ति जापानी जस्तै छन् । चीन, थाइल्याण्ड, बर्मा, नेपाल आदिमा उस्तै छ । देवी–देवताका मूर्तिको पनि त्यही हाल छ । मान्छेले आफुले जे भोजन गर्छ त्यहि वस्तु प्रसाद चढाउँछ । भौगोलिक अवस्था अनुसार वस्त्र र खाद्यवस्तुमा पनि विविधता छ । यी विविधताका कारणले मानिसहरू आपसमा झगडा गर्नु भनेको मुर्खता सिवाय अरु केहि होइन । त्यसैले सबै सम्प्रदायले सहिष्णुता र सद्भाव राख्दै सबैको चाडपर्वहरुलाई सम्मानको दृष्टिले हेर्नु नै मानव कल्याणको हितमा हुनेछ ।

 

जुनसुकै मतले जेसुकै भनेता पनि, दशैं मान्ने तरिकामा विविधता भए पनि आखिर दशैं त सबै हिन्दुहरूले मनाउँछन् । किनभने दशैंको सामाजिक र राजनीतिक महत्व पनि रहेको छ । शरद ऋतु, वन–उपवनमा ढकमक्क फूल फुलेको छ । खेतमा लहलह धानका बालाहरु झुलेका छन् । बारीमा तरकारी, फलफूलहरु लटरम्म फलेका छन् । वर्षा थामिएको छ, न जाडो छ न गर्मी । कृषि प्रधान देशका नागरिकहरूलाई हलो, कुटो, कोदालो र हिलो माटोबाट फुर्सद मिलेको छ । घरपालुवा पशुपंक्षीको वंश वृद्धि भएको ।

यहि उमङ्गमय वातावरणमा जिजिविषाका लागि टाढा–टाढा देश–परदेशमा गएका आफन्तजनहरूसँगको मिलनले कसको मन उल्लासित हुदैन र ? मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रुपमा पनि दशैंको महत्व रहेको । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैं खर्च दिएर दशैंको महत्वलाई अझै उजागर गरेको छ । हुनेखानेहरुलाई सधैंको दशैं छँदै छ । हुँदा खानेहरूलाई दशैं दशा नबनोस् । दशैं राष्ट्रिय एकताको प्रतीक बनोस् । विजया दशमीको यही शुभकामना ।