काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र क्रमशः दबाबमुक्त बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिना (मंसिर मसान्तसम्म)को तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति लगायतका परिसूचकहरुमा सुधार देखिएको छ ।
कुनै पनि मुलुकको बृहत् आर्थिक लक्ष्यहरूमध्ये आर्थिक स्थायित्व एक प्रमुख लक्ष्यको रूपमा रहन्छ । आर्थिक स्थायित्वअन्तर्गतका मूल्य स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र वित्तीय क्षेत्र स्थायित्व कायम गर्ने मुख्य जिम्मेवारी सामान्यतः केन्द्रीय बैंकलाई दिइएको हुन्छ भने सरकारको वित्त नीति तथा केन्द्रीय बैंकको मौद्रिक नीतिले समग्र आर्थिक स्थायित्व कायम गर्नमा एक अर्काको परिपूरक नीतिको रूपमा काम गर्छन् ।
बाह्य क्षेत्र स्थायित्व भन्नाले बाह्य मुलुकसँगको व्यापार तथा अन्य वित्तीय कारोबारमा आउने उतारचढावहरू कम भएको अवस्था बुझाउँछ । अर्थात् बाह्य क्षेत्रका सूचकहरू जस्तै, विनिमय दर, शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति सन्तुलित अवस्थामा रहनु हो ।
बाह्य क्षेत्रसँगको कारोबार धेरै घाटामा भएमा मुलुकमा विदेशी विनिमय सञ्चितिको अभाव भएर बाह्य क्षेत्र स्थायित्वमा समस्या देखा पर्नसक्ने हुन्छ । यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा पनि पर्छ ।
बाह्य क्षेत्रसँगको सन्तुलन कायम गर्नका लागि नेपाल राष्ट्र बैंकले विनिमय दर तथा बाह्य सञ्चिति व्यवस्थापन गर्ने गर्छ । विगतमा यसको उचित व्यवस्थापन नहुँदा शोधनान्तर र विदेशी विनिमय सञ्चितिमा असर पुगेपछि आयातमा कडाइदेखि प्रतिबन्धसम्मको कदम चालिएको थियो ।
नेपाल राष्ट्र बैंकले मंसिर मसान्तसम्मको विवरण राखेर सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारले विगतमा चालेको कदमहरुले शोधनान्तर स्थितिको बचत निरन्तर वृद्धिको दिशामा गएको देखिन्छ ।
रेमिट्यान्स बढ्दै गएको छ भने मूल्यवृद्धि नियन्त्रणमा आउन थालेको तथ्यांकले देखाएको छ । रेमिट्यान्समा भएको वृद्धि र आयात घटेपछि अहिले व्यापार घाटा कम भएको छ । पर्यटन आयमा उल्लेख्य वृद्धि भएको छ । जसका कारण विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ आयातमा गरिएको कडाईको नतिजा बाह्य क्षेत्रमा देखिन थालेको बताउँछन् । ‘तथ्यांकहरु सुधारोन्मुख छन्, यद्यपी जोखिम कायममै छ,’ उनले भने । राष्ट्र बैंकले बाह्य क्षेत्र सुधारमा चालेका नीतिगत व्यवस्थाको नतिजा देखिएको उनले बताए । ‘कुनै पनि बेला आयात बढ्न र रेमिट्यान्स घट्नसक्ने भएकोले जोखिम भने कायमै छ,’ उनले भने ।
८.७ महिनाको आयात धान्न पुग्ने सञ्चिति
नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आउँदा ६.३ प्रतिशतले वृद्धि भएको छ ।
अब मुलुकसँग १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । अमेरिकी डरलको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा हिसाब गर्दा ६ प्रतिशत भन्दा माथिले विदेशी विनियम सञ्चिति बढेपनि अमेरिकी डलरमा भने ३ प्रतिशतले मात्र सञ्चिति बढेको छ । अमेरिकी डलरमा २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ मंसिर मसान्तमा ९ अर्ब ८२ करोड कायम राष्ट्र बैंकको तथयांक छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । रेमिट्यान्स नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
आयातमा भएको संकुचन र विदेशी विनियम सञ्चितिमा सुधार हुँदै जाँदा आयात पर्याप्तता सूचकमा पनि सुधार भएको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
मूल्यवृद्धि नियन्त्रण उन्मुख
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाबाटै उच्च मुद्रास्फीति बेहोरेको मुलुकले पछिल्लो महिना भने नियन्त्रणउन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर सम्मको तथ्यांकअनुसार मसिंर मसान्तभित्र मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । कात्तिक महिनासम्म मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।
असोज मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । यसको तुलनामा मंसिरमा आउँदा मूल्यवृद्धिमा सुधार देखिएको हो । मंसिर मसान्तसम्म खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटेल उपसमूहको वार्षिक विन्दुगत सूचकांक १५.५६ प्रतिशत, सुर्तिजन्य पदार्थ ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ९.०७ प्रतिशत र पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहतर्फ यातायातमा १७.३३ प्रतिशत, स्वास्थ्यमा ११.२२ प्रतिशत, मनोरन्जन तथा संस्कृतिमा ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.२९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ८.२९ प्रतिशतले मूल्य बढेको छ । तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.६४ प्रतिशतको मुद्रास्फीति रहेको देखिएको छ ।
५ महिनामा भित्रियो ४ खर्ब ८० अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.० प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । जस अनुसार रेमिट्यान्स ३ अर्ब ७१ करोड डलर रहेको छ । अघिल्लो वर्षको समिक्षा अवधिमा यस्तो रकम ६.८ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो ५ महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।
शोधनान्तर स्थिति ४६ अर्ब बचतमा
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति)को बचत समेत बढ्दै गएको छ । शोधनान्तर घाटा चुलिंदै जाँदा अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै चालिएका कसिलो नीति क्रमशः खुकुलो बन्दै जाँदा बाह्य क्षेत्रमा सुधार भएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका अनुसार मंसिरसम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थितिसहित चालु खातामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ५ महिनामै करिब ३ खर्बले घाटामा रहेको चालु खाात चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३८ अर्बले मात्रै घाटामा रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको ५ महिनामा २९८ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ९१ करोडले मात्रै घाटामा रहेको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।
औसत ब्याजदर वृद्धि
निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगो बनेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । कात्तिकमा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च पुगेकोमा मंसिरमा थप वृद्धि भएको हो । आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार मंसिर २०७९ मा कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत पुगेको छ । २०७९ कात्तिकमा १२.६५ प्रतिशत रहको कर्जाको भारित औसत मंसिरमा थप बढेको हो ।
२०७९ मंसिरमा कर्जाको भायरित औसत ब्याजदर आर्थिक वर्ष ०६९/७० को असोज मसान्त पछि कै उच्च हो । २०६९ पुसमा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत र असोज मसान्तमा १२.९४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
२०७८ मंसिर मसान्तमा कर्जाको भारित औसत ब्याजदर ९.२९ प्रतिशत थियो । निक्षेपको भारित अौसत ब्याजदर सँगै बेस रे्ट पनि बढ्दै जाँदा कर्जाको ब्याजदर पनि बढ्दै गएको छ । २०७८ मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ६.२४ प्रतिशत रहेकोमा २०७९ मंसिरमा ८.४६ प्रतिशत पुगेको छ । यस्तै आधार दर (बेस रेट) ८.२५ प्रतिशतबाट बढेर १०.६९ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२ प्रतिशतको लक्ष्य लिएको थियो । आर्थिक वर्षको ५ महिना सकिदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १.६ प्रतिशतले मात्रै बिस्तार भएको छ । २०७९ असार मसान्तको तुलनामा मंसिर मसान्तमा आउँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ७३ अर्ब ३० करोडले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
जबकी गत आर्थिक वर्षको अवधिमा कर्जा ४ खर्ब २३ अर्ब १३ करोड अथात् १०.४ प्रपतिशतले विस्तार भएको छ । वार्षिक बिन्दुगत आधारमा पनि २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको ५ महिनामा निक्षेप भने २.२ प्रतिशतले वृद्धि भएको छ । असार २०७९ को तुलनामा मंसिर २०७९ मा आउँदा निक्षेप १ खर्ब ११ अर्ब १छ करोडले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत आबको सोही अवधिमा निक्षेप १.७ प्रतिशत अथात् ७८ अर्ब ४४ करोडले मात्रै वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।
भ्रमण आयमा उल्लेख्य वृद्धि
मंसिर मसान्तसम्म भ्रमण आयमा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा भ्रमण आय १३२.९ प्रतिशतले बढेर २३ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १० अर्ब १४ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा सेवा आय २६ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा सेवा आय ३८ अर्ब १३ करोड थियो । भ्रमण आयमा भएको सुधारका कारण सेवा आयको घाटा कम भएको हो । सेवा आय घाटामा जानुको मतलव भने भ्रमण व्यवमा अत्यधिक वृद्धि हुनु हो । ५ महिनाको अवधिमा भ्रमण व्यय ४२ अर्ब ८ करोड पुगेको छ । जसमध्ये शिक्षामा मात्र २८ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको छ ।
स्मार्ट कर्णाली । ३० पुष २०७९, शनिबार ११:१५ बजे