१.परिचयः
दुल्लु-दरबार दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित पटाङ्गिनीको पश्चिम दक्षिण भागमा अवस्थित छ । हाल भग्नावशेषमा परिणत भएको यो दरबारलाई नेपाल एकिकरण पछिको दरबार मानिएको छ । पकाएको ईट्टाद्वारा निर्माण गरिएको यो दरबारमा १८ कोठा ३६ झ्याल ३तले थियो ।विक्रम सम्वत १९८१ मा तत्कालिन दुल्लुका राजा जङ्गबगादुर शाहले निर्माण गरेका थिए । त्यो भन्दा पहिले दुल्लु दरबार धर्मगद्दी भन्दा दक्षिण तर्फ रहेको थियो ।
२.दुल्लु दरबार र दुल्लु राज्यको इतिहासः
संसारी वर्माद्वारा विक्रम सम्वत १४५३ मा स्थापना गरिएको दुल्लु राज्य उत्तिम शाहीको पालामा विक्रम सम्वत १८४६ कार्तिक २१ गतेका दिन अमरसिंह थापाको नेतृत्वमा दुल्लु विजय गर्न गएको गोर्खाली सेना देखेपछि दुल्लुका सम्पूर्ण जनताहरू घर छोडेर भागेका थिए । यसरी जनताहरू डराएर भागेपछि दुई पक्षबीच लडाईँ हुन सकेन। त्यसैले उत्तिम शाहीले गोर्खाली सेनासँग आत्मसमर्पण गरी सहयोग गर्ने कबुल गरे । त्यसपछि गोर्खा राज्यको अधिनस्थ भएर पनि दुल्लु राज्यले रजौटाको सम्मान पाएकै थियो । आफ्नो कबुल अनुसार उत्तिम शाहीले गोर्खाली सेनाहरूसँग लागेर नेपाल एकिकरणको पश्चिम विजय अभियानमा कोठागढीको युद्वमा वीरगति प्राप्त गरे । युवा राजा उत्तिम शाहीकी रानी गर्भवती रहेकी र उत्तिम शाही निसन्तान नै परलोक भएकाले गीर्वाणयुद्ध विक्रम शाहबाट रानीको मासिक खान्गीको व्यवस्था गरियो । केही समय पछि उत्तिम शाहीको रानीबाट छोरा रुद्र शाह जन्म भएर उमेर पुगेपछि उनका बाबु उत्तिम शाहीले नेपाल सरकारलाई लगाएको गुन सम्झेर रुद्र शाहीलाई दुल्लुको राजा बनाइयो। यिनले दुल्लुका जनताको मुद्दामामिला हेर्ने र राजस्व सङ्कलन गर्नेसमेत अधिकार पाए ।
नेपाल एकिकरण पछि दुल्लुमा रुद्र शाह, श्रीभक्त शाह, भक्त बहादुर शाह, पृथ्वीनारायण शाह र जङ्गबगादुर शाह क्रमैसँग दुल्लुका राजा भए । विक्रम सम्वत २०१८ सम्म यो व्यवस्था कायम रह्यो । त्यसपछि भने नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेर आधुनिक नेपालको ढाँचा बने पछि दैलेख जिल्लाको आकार पनि खुम्चियो। दैलेख बजारलाई दैलेख जिल्लाको सदरमुकाम कायम गरिए पछि दुल्लुमा रहेका अड्डा अदालतहरू दैलेख बजारमा सारिए । दुल्लु दरबार दिन प्रतिदिन उजाड हुँदै गयो। दुल्लु दरबारमा बस्ने परिवार पनि दुल्लु छोडेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ बस्न थाले। अन्ततः विक्रम सम्वत २०५९ बैशाख ८ गतेका राती माओवादीहरूले सामन्तवादको प्रतिक भन्दै यो दरबारमा बम बिस्फोट गराए । हाल सम्म यो दरबारको जिर्णोद्धार हुन सकेको छैन ।
दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको थियो ।
बाइसे, चौबिसे राज्यमा यो राज्य सानो राज्यका रूपमा रहेको थियो । नेपालबाट अरनिको समूहका ललितपुरका कालिगढ झिकाई १९८४ सालमा दरबारको पुनर्निर्माण गरिएको थियो । तत्कालिन दुल्लुका राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको पुननिर्माण गरिएको थियो ।
दरबारमा दुल्लुका अन्तिम राजा जंगबहादुर शाहले वीरशमशेर राणाकी नातिनी तेजशमशेर छोरीसँग विवाह गरेपछि दुल्लुमा राजकाज चलाएका थिए ।
तत्कालीन दुल्लु भारतको दिल्लीमा भएका मुगल सम्राटबीच दैत्यसम्बन्ध थियो । जसको उदाहरणका रूपमा बोलिने हुजुर भाषाबाट हजुर सिकेको र हामीसँग भएको परम्परा, करुवा, हुक्का मुगलबाट सिकेर प्रयोग गरेको हो । मुगल सम्राटसँग दैत्य सम्बन्ध भएको उदाहरण दुल्लु नगरपालिकमा रहेको पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कर्केनीको अशोक स्तम्भलाई लिन सकिन्छ ।
राजा दामोपालको पालादेखि सिंजासँगै दुल्लु क्षेत्रको विकास भएको देखिन्छ ।
नेपाल एकिकरणको समयमा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लु राज्य नेपाल राज्यको अधिनस्थ भएपतापनि विक्रम संवत २०१९ मा यो छुट्टै राज्यको रुपमा रहेको थियो । राज्य रजौटा ऐन २०१९ बमोजिम दुल्लु राज्य विघटन भई २०१९ मा दैलेखमा गाँभिएको थियो ।
राणा प्रधानमन्त्री जंगबहादुर कुंवरको मावली भएका कारण उहाँको वाल्यकाल दुल्लूमा बितेको थियो । उनका पिता वालनरसिंह कुँवरले निर्माण गर्न लगाएको वालेश्वर मन्दिर यथावत छ । तात्कालिन सिजा राज्यका चल्ल राजाहरु जो पछि मल्ल भनिए उनीहरुको शितकालीन राज्यको रुपबाट विकशित उक्त राज्यको पूर्वि सिमा गण्डकी सम्म थियो भन्ने इतिहास भेटिन्छ । उक्त राज्यको अन्तिम राजा स्व.जंगबहादुर शाह थिए । भनिन्छ, दुल्लू राज्यको तिरोभरो अहिलेको अफगानिस्थानसम्म उठाउने चलन थियो ।
३.अपेक्षा
इतिहासले आउने सन्ततिलाई कहिले बिगार्दैन बरु गर्भवाम्वित बनाउदछ ।
राज्य संचालत हातमाहुदा यसको पुननिर्माण गरी सच्चिने उत्तम अवसर अझपनि बाकि छ ।
तत्कालिन सिज्जा दुल्लु राज्यको हिउदे राजधानी रहेको एतिहासिक दिल्लु क्षेत्रको धार्मिक ,सास्कृतिक र इतिहासिक धरहरलाई संरक्षण गर्न जरुरि छ । दुल्लु नगरलाई धार्मिक,सास्कृतिक तथा एतिहासिक पर्यटकिय नगरको रुपमा राज्य बाट सहयोग हुन जरुरि छ साथै यसको पुननिर्माणको लागी स्थानीय सरकार र तत्कालिन राजाको परिवारका सन्ततिहरूले पनि तत्परताका साथ आबश्यक समन्वय गर्न जरुरि छ।
दुल्लु क्षेत्रको धार्मिक ,सास्कृतिक इतिहास र यसको उजागर संगै संरक्षण ।
नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०३ अर्थात वि.सं १०३८ हो जसलाई त्यस समयका ‘कर्णाली प्रदेशीय नागराजका उत्ताधिकारी दामुपाल’को कालखण्डको भाषालिपि भनिएको छ ।
दैलेखको पञ्चकोशी इतिहास बोकेको क्षेत्र हो । अझ कोटिला, श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवी लगायत क्षेत्रले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाएका छन् । सयौँ वर्षदेखि पञ्चकोशी क्षेत्रका विभिन्न स्थानमा ज्वाला बलिरहेका छन् ।
वैश्वानर पुराणमा उल्लेख भएबमोजिम महादेवले कामदेवलाई भष्म गर्दा उनको नेत्रबाट निस्किएको ज्वालालाई एकत्रित गरी फाल्दा ज्वालाको उत्पत्ति भएको जनविश्वास छ । त्यही आधारमा पञ्चकोशी क्षेत्रमा हरेक वर्ष शिवरात्रिमा मेला लाग्ने गर्दछ । श्रीस्थानमा शाके १७५७ को शिला अभिलेख छ । शिरिस्थान मन्दिरमा शाके १७५९ मा चढाइएका घण्ट अहिले पनि यहाँ देख्न सकिन्छ । पुराना मूर्ति र घण्ट धेरैजसो चोरी भइसकेका छन् ।
पादुका मन्दिरमा रहेको शाके ११३६ को जैन तीर्थङ्कर महावीरको मूर्तिको विशेष महत्व रहेको पाईन्छ ।
दैलेखका ३२ स्थानबाट ३२ थर उत्पति भएको मानिन्छ । कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेललगायत थरको उत्पति भएको विभिन्न वंशावलीमा उल्लेख भएको पाईन्छ ।
स्मार्ट कर्णाली । ८ पुष २०८०, आईतवार १५:१४ बजे