कर्णालीलाई खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय चिनाउनु पर्छःनेता शाही

कालिकोट । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कर्णालीलाई खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय रुपमा चिनाउनु पर्ने बताएका छन् ।

अन्य प्रदेश भन्दा कर्णालीमा हरेक क्षेत्रमा आफ्नो छुट्टै मौलिकता रहेको बताउदै नेता शाहीले कर्णालीलाई आउने दशकमा अब अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि खेल क्षेत्रको ठुलो भूमिका रहने बताए ।

जिल्ला ब्याडमिन्टन संघ कालिकोटको आयोजना र कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वयमा शुक्रबार प्रदेश स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै नेता शाहीले यस्तो बताएका हुन् ।

नेता शाहीले आफु कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री हुदा खेलकुद क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कर्णालीलाई चिनाउनको लागि आफ्नो नेतृत्वको सरकारले निति तथा कार्यक्रममा एक पालिका एक खेल मैदान र एक जिल्ला एक कवर्ड हलको निति अनुसार काम गरेको स्मरण गरे ।

खेलकुद खेल क्षेत्रमा लागेका खेलाडीहरुको लागि मात्र नभएर स्वास्थ्यका लागि पनि भएको हुनाले सबैले खेल खेल्नु पर्ने बताए । ‘खेलाडीहरुको उत्पादनको थलो स्कुल भएकाले स्कुलमा पनि खेल मैदानको लागि चाहिने बजेट त्यो बेलाको सरकारले छुट्याएको थियो उनले भने ।’

अहिले कर्णाली प्रदेशमा निर्माण भइरहेका खेल पूर्वाधारले कर्णाली खेलकुदमय भएको बताउदै नेता शाहीले अब कर्णालीका खेलाडीहरुको आवश्यकता र खेलाडीहरुको संरक्षण कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारले गर्नु पर्ने औल्याए ।

फरक प्रसंगमा नेता शाहीले नेपाली राजनिति खिचातानीमा अल्झिएको भन्दै राजनिति गर्ने व्यक्तिहरुले आफ्नो पार्टी आफ्नो दल नभनेर जनताको विकासको लागि लाग्नु पर्ने बताए । पछिल्लो समय धेरै नेता राजनिति कार्यकर्ता आफ्नो स्वास्र्थमा लागि परेकाले सबैभन्दा पहिला आफ्नो स्वास्र्थ त्यागेर जनताको बारेमा सोच्ने सकरात्मक सोचको विकास गर्नु पर्ने बताए ।

सोहि कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले अबको ९० को दशक नेपालको राष्ट्रिय खेलकुद टोलिमा कर्णालीको बाक्लो उपस्थिति रहने बताए ।