सरकार विकास र समृद्धिकाे दिशामा निरन्तर अगाडि बढ्नेछ: प्रचण्ड

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनु भएको छ ।

आइतबार नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिमा रहेकाे शंखधर साख्वाको शालिकमा माल्र्यापर्ण एवंं शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्वहरु सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।

उहाँले सरकार पटक पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै देशमा राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको साथै सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रुपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको भनाइ राख्नुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल सम्वतलाई नेवारहरुको मात्र सम्वत हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा सम्वतका रुपमा लैजानु पर्ने औँल्याउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भन्दै अध्यक्ष प्रचण्डले शंखधर साख्वाबाट प्रेरित भएर आफू प्रधानमन्त्री हुँदा किसानहरुको ३० हजार रुपैयाँको ऋण मिनाहा गरिदिएको बताउनुभयो ।

कार्यक्रममा नेवाः मुक्ति मोर्चा नेपाका अध्यक्ष दिलिप प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो ।