महराको निवेदनमाथि पाटन उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ — तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको आरोपमा पुर्पक्षमा थुन्ने जिल्ला अदालत काठमाडौंको आदेश ठीक थियो कि थिएन भन्नेबारे उच्च अदालत पाटनमा बहस सुरु भएको छ ।

आफूलाई थुन्नु गलत भएको दाबी गर्दै महराले दिएको निवेदनमाथि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा बिहीबार सुनुवाइ हुन लागेको हो ।

उच्च अदालत पाटनको आदेशमा महरालाई किन पुर्पक्ष थुनामा पठाइएको थियो भन्नेबारे आधार र कारण खुलाएर जिल्ला अदालतले ’कैफियत प्रतिवेदन’ उच्च अदालत पाटनमा पठाइसकेको छ। पाटनले जिल्लाको आदेश सदर गरे महरा थुनामै रहनुपर्ने हुन्छ। र, उनी फेरि सर्वोच्च अदालत जान पाउँछन्।

उच्च अदालत पाटनले जिल्लाको आदेश उल्ट्याए महरा रिहा वा धरौटीमा छुट्छन्। त्यो आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने बाटो भने खुला रहने छ।

संघीय संसद्‌ सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा महरा गत असोज १९ मा पक्राउ परेका थिए।