जुवा खालबाट वडा अध्यक्षसहित १५ पक्राउ

सुर्खेत, ३० कार्तिक
जुवाको खालबाट वडा अध्यक्षसहित १५ जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका वडा नं. २ साल्कोटका वडा अध्यक्ष जगत विसीसहित १५ जनालाई शनिबार राती प्रहरीले श्रीचौरबाट पक्राउ गरेको हो । तिहारको अवसरमा जुवा खेल्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको प्रहरी टोलीले जुवाडेहरुलाई पक्राउ गरेको थियो ।
जुवाको खालबाट तीन लाखबढी नगद सहित १५ जना जुवाडेहरु पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । जुवाको खालबाट वडा अध्यक्ष सहित पक्राउ परेपछि इलाका प्रहरी कार्यालय वावियाचौरलाई घटना थामथुम पार्न हम्मेहम्मे परेको छ । भर्खरै इलाका प्रहरी कार्यालय वावियाचौरको नेतृत्व सम्हालेका प्रहरी निरिक्षक बखत शाहीलाई पक्राउ परेका वडा अध्यक्षसहित जिल्ला बुझाउने कि उनलाई छोडेर अरुलाई जिल्ला पठाउने दोधारमा परेका छन् ।
इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हालेको केही दिनमै जुवाडे जनप्रतिनिधि पक्राउ गरेपछि राजनीतिक बृत्तमा जनप्रतिनिधि जोगाउन सहयोग गर्न ठुलै राजनीतिक दवाव परेको छ । नगद र केही धनमालसहित जुवाको खालबाट पक्राउ परेका जनप्रनिधिलाई जोगाउने वा मुद्धा चलाउने भन्ने विषयमा प्रहरीभित्र ठुलै खैलाबैला मच्चिएको छ ।