एक जनामात्रै उम्मेदवार नभए देउवालाई बुझाइदिए हुन्छ : महामन्त्री कोइराला

२६ कात्तिक, काठमाडौं ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले आफूहरुका तर्फबाट महाधिवेशनमा एकमात्रै सभापतिको उम्मेदवार नभए देउवालाई सहज हुने बताएका छन् । शुक्रबार पौडेल समूहको बैठकपछि महामन्त्री कोइरालाले चार जना आकांक्षीहरुबीच एकताबद्ध भएर एकमात्रै उम्मेदवार बन्ने सहमति कायमै रहेको बताए ।

आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा आफैँ दोहोरिन चाहेका छन् भने उनलाई उपसभापति विमलेन्द्र निधिले चुनौती दिइरहेका छन् । पौडेल समूहबाट भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

‘एक जनामात्रै उम्मेदवार हुनुपर्छ भन्नेमा सबै जना सहमत नै हुनुहुन्छ । तर, को हुने ? भन्ने अझै पनि छलफलकै विषय हो । अहिले नै भन्न सकिने अवस्था त छैन,’ शुक्रबारको छलफलपछि महामन्त्री कोइरालाले सञ्चारकर्मीसँग भने, ‘हामी चार जना आकांक्षी छौँ । हामीहरु अझै पनि छलफलमै छौँ ।’

उनले बैठकमा वरिष्ठ नेता पौडेलले चार जनामध्ये एक जनामात्रै साझा उम्मेदवार बनाउन आग्रह गरेको बताए । ‘आइतबार केन्द्रीय समिति बैठक छ । हामीले अहिले केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्‍यौँ । अब साझा उम्मेदवारीबारे केन्द्रीय समिति बैठकपछि हामी चार जना आकांक्षी बसेर छलफल गर्छौँ । एउटै उम्मेदवार बनाउनुपर्छ भन्नेमा एकमत छौँ,’ कोइरालाले भने ।

महामन्त्री कोइरालाले पौडेल समूहमा अहिलेसम्म कुनै पनि विभाजन नरहेको दाबी गरे । ‘टिममा अहिलेसम्म विभाजन छैन । सभापति पदका लागि चारै जना उम्मेदवार छौँ । त्यहीकारणले विभाजित मनस्थितिमा देखिएको हो,’ कोइरालाले भने, ‘हामीहरुमध्ये एक जनामात्रै उम्मेदवार नभए त हामीले फेरि शेरबहादुर देउवाजीलाई बुझाइदिए हुन्छ ।’

प्रकाशमानसिंह किन नआउनुभएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले भने, ‘उहाँ काठमाडौं बाहिर भएर नआउनुभएको हो । हामीसँग सम्पर्कमै हुनुहुन्छ ।’ उनले आफू पनि टिमलाई एकताबद्ध बनाएरै अघि बढ्ने पक्षमा रहेको बताए ।