राष्ट्रिय र ग्लोबल लेजर रन हुने

काठमाडौँ — नेपाल मोर्डन पेन्टाथलन संघ (यूआईपीएम) ले बुधबार (मंसिर ६) मा दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रिय र ग्लोबल लेजर रन हुने

एनएमपीएले मंगलबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रतियोगितामा सात प्रदेशबाट एक सयजति खेलाडीले भाग लिने जनाएको छ । प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुनेछ ।

यू–११, यू–१३, यू–१५, यू–१७ र यू–१९ उमेर समूह र सिनियरका छुट्टाछुट्टै इभेन्ट हुनेछ ।

मोर्डन पेन्टाथलन पाँच खेल (पौडी, घोडचढी, फेन्सिङ, लेजर गन शट र एथलेटिक्स) समावेश गरी खेलिने खेलमा पर्दछ । यसको संघ नेपालमा सन् २०१५ मा स्थापित भएको हो ।

यो राष्ट्रिय प्रतियोगिताको लगत्तै ग्लोबल लेजर रन सिटी टुर प्रतियोगिता हुनेछ । यो मंसिर १० गते गरिने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । दोस्रो राष्ट्रिय लेजर रनबाट हरेक इभेन्टमा शीर्ष ४ भित्र रहने खेलाडी ग्लोबल रनमा छनोट हुने संघका महासचिव यादव बस्नेतले बताए । ग्लोबल लेजर रनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान गरी ५ देशको सहभागिता रहने जनाइएको छ ।

लेजर सिटी रनमा खेलाडीले दौडिनै निश्चित स्थानमा लेजर गन प्रहार गर्ने र फेरि दौडिनुपर्दछ । यो प्रक्रिया पाँच राउन्डसम्म हुनेछ । ओलम्पिक खेलको रूपमा रहेको पेन्टाथलनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर पदक जितेको छ । लेजर रनमा भने सुटिङ (लेजर गन शट) र एथलेटिक्सका इभेन्ट मात्र हुनेछ ।