हाजिर नभए इन्काउन्टर दिने चेतावनी,बिप्लव माओवादीले दियाे प्रहरीबिरुद्ध पक्राउ पूर्जी

कैलाली- नेत्रबिक्रम चन्द, बिप्लव नेतृत्वको माओवादीले प्रहरीसँग आमने सामने भिडन्तको तयारी अघि बढाएको पाइएको छ । कैलालीमा विप्लव समुहले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेपछि बिप्लवकाे तयारी सार्वजनिक भएकाे हाे ।

बिप्लव नेतृत्वको माओवादी जनअदालले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको छ । कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन आदेश दिइएको छ । कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ, ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको छ ।’

अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ । ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, बिप्लव समुहको पुर्जीमा उल्लेख छ ।

असई कुँवरकाविरुद्ध नेकपाका कार्यकर्ता तुफानले अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको समेत पत्रमा उल्लेख छ । आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कारवाही हुने धम्कीसमेत दिइएको छ । तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ। जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न आदेश दिइएको समेत पक्राउ पूर्जीसँगै टाँसिएको चेतावनी पत्रमा जनाइउको छ ।‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि इन्काउन्टर गर्न आदेश दिइएको छ’, चेतावनीपत्रमा भनिएको छ ।  missionenews.com साभार गरिएको हो ।