योद्धाको सपना’ लोकार्पण, साहित्यले समाज परिवर्तन गर्नुपर्छ – मुख्यमन्त्री शाही

कवि देवकी तिमल्सिना ‘समीक्षा’को कविता कृति योद्धाको सपना लोकार्पण भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक औपचारिक कार्यक्रमका बीच योद्धाको सपना लोकार्पण गरेका हुन् । कविता कृतिको लोकार्पण गर्दै मुख्यमन्त्री शाहीले भने, ‘साहित्यले समाज परिवर्तन गर्नुपर्छ ।’ समाज परिवर्तनका लागि नेपाली साहित्यको विकास अनिवार्य भएको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली नेपाली भाषाको उद्गमस्थल भएकोले अरुले नेपाली भाषा साहित्य संरक्षण गर्लान् भन्नुभन्दा कर्णालीबाटै यसको सुरुवात गर्नुपर्दछ ।’ कृतिको लोकार्पण कार्यक्रममा बाल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले ‘योद्धाको सपना’ कविता कृतिले हिजोका दिनमा भएका यथार्थ घटनाहरुलाई विश्लेषण गर्न सकेको बताए । उनले भने, ‘कविता कृति ‘योद्धाको सपना’ ले एकात्मक राज्य व्यवस्थाको परिवर्तनका लागि भएको युद्धदेखि योद्धाहरुले देखेका सपनाहरु पूरा भएका छन् कि छैनन् भनेर प्रश्न गरेको छ । कवितात्मक रुपमा आएका यी शब्दहरुले एक पटक गम्भीर भएर सोच्न बाध्य बनाएका छन् ।

कृतिकारको तर्फबाट बोल्दै कवि देवकी तिमल्सिना ‘समीक्षा’ले उक्त कृतिमा भएका कविताहरु आफ्नो भोगाई भएको बताएकी छन् । नेपालमा भएको लामो शसस्त्र युद्ध र त्यसबाट प्रभावित भएकाहरुको स्वरलाई मुखरित गर्ने प्रयास गरेको बताउँदै अझैँ पनि धेरै योद्धाहरुको सपना पूरा नभएकोले गणतन्त्र आइसकेपछिका सरकारहरुले योद्धाका सपनाहरुलाई पूरा गर्ने तर्फ ध्यान उनले आग्रह गरिन् ।

कविता कृतिले दिने सन्देशको बारेमा बताउँदै कर्णाली योजना आयोगका सदस्य एवम् कृतिका प्रकाशक डा. दीपेन्द्र रोकायाले समाजका लागि कृतिले के दिनसक्छ भन्ने महत्वपूर्ण रहेको बताए । उनले भने, ‘कुनै समयमा देशले भोगेको, योद्धाहरुले भोगेको र देखेको सपनालाई यथार्थ रुपमा चित्रण गर्न सकेकोले कविता कृति अक्षरमा बलियो छ ।’ ‘योद्धाको सपना’ कविता संग्रहमा ४३ वटा कविताहरु संग्रहित भएको बताउँदै समीक्षक प्रा. खोपिराम लम्सालले कविता कृतिमा क्रान्तिका स्वरहरु सुसेलिएको बताए । कवितामा अविधा, लक्षणा र व्याञ्जना हुन्छ भन्दै उनले भने, कृतिले केही सपनाहरु पूरा भएको भएपनि केही सपनाहरु पूरा गर्न बाँकी रहेको बताएको छ ।’ साहित्यले हिजो, आज र भोलि बोल्न सक्नु पर्छ भन्दै समीक्षक लम्सालले भने अब प्रगतिशीलबाट माथि उठेर प्रगतिवादको थालनी गर्न जरुरी रहेको बताए । उनले भने ‘कविले अरु धेरै आशा गर्नुको साटो समाजको परिवर्तकको रुपमा काम गर्नु पर्दछ ।’

साहित्य समाजको दर्पण मात्र होइन समाजको संचेतना प्रवाह गर्ने चीज पनि हो लम्सालको भनाई थियो । आजको समयमा संचेतनाको आवश्यक छ भन्दै लम्सालले थपे, ‘कविता कृतिमा वर्ग विश्लेषणदेखि स्पष्ट बिचार समेत स्पष्ट छ । कृति लोकार्पण कार्यक्रमसँगै भएको रचना वाचन कार्यक्रममा बाँकेका गजलकार देवकी निरौलाले गजल वाचन गरेकी थिइन भने बर्दियाका कवि सुवास अधिकारीले कविता वाचन गरेका थिए । कर्णाली साहित्य समाजको आयोजनामा भएको उक्त कार्यक्रममा दैलेख, सुर्खेत, कालिकोट, अछाम, कञ्चनपुर, बैतडी, डोटी, जाजरकोट, बाँके बर्दिया, सल्यान, रुकुम, रोल्पा, हुमला, जुम्ला, मुगुलगायतका जिल्लाहरुबाट ३ सय बढि साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा साहत्यिकार, प्राध्यापक, विद्यार्थी, पत्रकारहरुलगायतको उपस्थिति रहेको थियो । संस्थाका कोषाध्यक्ष हस्तराज रेग्मीले शब्द स्वागत गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको अध्यक्षतामा भएको थियो भने सचिव सरस्वती पन्तले संचालन गरेकी थिइन ।