खार्पुनाथमा अझै टुंगिएन शपथ विवाद, निर्वाचन अधिकृतले सार्वजनिक माफी माग्नुपर्ने अडान

सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहणमा विवाद कायमैछ। मंसिर १४ गते उपाध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा नेकपाबाट विजयी भएकी रूपा शाहीको शपथ विवादका कारण अँझै टुंगिएको छैन।

रूपा उपाध्यक्षमा विजयी भएपछि घोषणापत्र दिँदै मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका थिए। तर गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले उपाध्यक्षलाई आफूले शपथ खुवाउन पाउनुपर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो।

उपाध्यक्षको शपथ ग्रहण विवादित बनेपछि गाउँपालिका अध्यक्ष रावल र मुख्य निर्वाचन अधिकृत पौडेलबीच मनमुटाव बढेको छ। कानुन मिचेर शपथ खुवाएको भन्दै जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने अध्यक्ष रावलको अडान छ। यस बिषयमा न्याय परिषद्मा छलफल गरी आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन पेस गरेको उनले बताए।

तर आफूले कानुन अनुसार काम गरेकोले चित्त नबुझे फेरी शपथ खुवाउन निर्वाचन अधिकृतले सुझाव दिएका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ को उपदफा २ ले सपथ ग्रहण गराउने अधिकार प्रष्ट रूपमा सम्बन्धित गाउँपालिका अध्यक्षलाई नै दिएको छ। उक्त कानुनी व्यवस्थानुसार आफूलाई दिएको अधिकार निर्वाचन अधिकृत पौडेलले मिचेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको भनाइ छ।

‘कानुन अनुसार मैले उपाध्यक्षको पद तथा गोपनियताको शपथ खुवाउनुपर्ने हो, तर मेरैअघि कानुन मिचेर निर्वाचन अधिकृतले शपथ खुवाएका छन्,’ उनले भने, ‘निर्वाचन अधिकृतले सार्वजनिक रूपमा माफी मागनुपर्छ। तबसम्म म उपाध्यक्षलाई शपथ खुवाउँदैन।’

कानुनको संरक्षण गर्ने न्यायमूर्तिले नै जनप्रतिनिधिलाई दिएको कानुन मिचेका गाउँपालका अध्यक्षको आरोप छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई शपथ खुवाउने कानुन संसोधन भएपछि आफुलाई अप्ठ्यारो परेको मुख्य निर्वाचन अधिकृत पौडेलले स्विकारे।

‘घोषणा गरुन्जेलसम्म निर्वाचन अधिकृतलाई उपाध्यक्षको शपथ ग्रहण गराउने अधिकार थियो,’ उनले भने, ‘सोही दिन निर्वाचन आयोगले पुरानो दफा खारेज गर्दै स्थानीय सरकार सञ्चालन ऐन अनुसार शपथ ग्रहण गराउन परिपत्र गरेपछि समस्या भएको हो।’ पौडेलले कानुन बमोजिम केही कमजोरी भएपनि यसलाई ठूलै विवादका रूपमा नउठाउन आग्रह गरेका छन्। नवनिर्वा्चित उपाध्यक्षको सपथ फेरी गराउन सकिने उनको सुझाब छ।

उपाध्यक्ष आफैं पुगिन् कार्यकक्षमा

लामो समयसम्म शपथ विवाद कायमै रहेपछि नवनिर्वा्चित उपाध्यक्ष रूपा शाही आफैं कार्यकक्षमा गएर काम गर्न सुरु गरेकी छन्। ‘जनताको सेवा गर्न आएकी हुँ, शपथ ग्रहण विवादले कति दिन घर बस्नु,’ उनले भनिन्, ‘मंसिर २२ गतेबाट कार्यकक्षमा जान थालेकी छुँ, कार्यपालिकाको एउटा बैठकमासमेत जबरजस्ती उपस्थित भएँ।’ सपथ ग्रहणको विवादबारे आफ्नो केही लिनुदिनु नभएको उनको जिकिर छ।

‘मेरो भन्नु केही छैन, आवश्यक परेमा फेरी पद तथा गोपनीयताको शपथ लिन पनि सकिन्छ’ उनले थपिन्, ‘होईन भने विवाद अन्त्य गरी मलाई सहज रूपमा काम गर्ने वातावरण सिर्जना गरीयोस्।’ यता गाउँपालिकाका अध्यक्ष रावल भने मुख्य निर्वाचन अधिकृत पौडेलले क्षेत्रधिकार मिचेको भन्दै माफी नमागेसम्म उपाध्यक्षलाई औपचारीक रूपमा पदबहाली नगराउने अडानमा छन्।