प्रचण्ड-नेपाललाई सन्देश दिन ओली सरकारले हटायो प्रदेश २ का प्रमुख

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्

invotech

परियारलाई हटाएर उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ। मन्त्रिपरिषदले परियारको बर्खास्तगी र झाको नियुक्तिका लागि कहिले सिफारिस गरेको थियो भन्ने एकिन छैन।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को (ख) अनुसार परियारलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संविधानको उक्त धारामा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने उल्लेख छ।

परियारलाई किन हठात् हटाइयो भन्ने स्पष्ट कारण खुलाइएको छैन। सेतोपाटीसँग कुरा गर्दै निर्वतमान प्रदेश प्रमुख परियारले आफूलाई राजनीतिक कारणले हटाइएको बताए।

‘मलाई राष्ट्रपति कार्यालयको पत्र आएको छ, त्यसमा संविधानको धारामात्र लेखिएको छ। मलाई किन हटाइयो भन्ने छैन,’ परियारले सेतोपाटीसँग भने,‘म पूर्वमाओवादीको कोटाबाट परेकाले हटाएका होलान्।’

उनले आफूले  तटस्थ भएर काम गरिरहेको र सरकारबाट कुनैखालको असन्तुष्टि पनि थाहा नपाएको बताए।

‘प्रधानमन्त्री जनकपुर आउँदा लिन पनि गएको थिएँ, मैले मञ्चमा गएर भाषण गर्ने कुरा भएन,’ परियारले भने, ‘मलाई अहिलेसम्म कसैले पनि असन्तुष्टि सुनाएको थिएन।’

ncell in

शेरबहादुर देउवाको सरकार हटेर केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि २०७६ कात्तिकमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका थिए।

त्यतिबेला पूर्वएमाले र पूर्वमाओवादीनिकटहरूलाई  भागबण्डा  गरिएको थियो।  त्यसमा प्रचण्ड-माधव समूहबाट प्रदेश २ मा परियार, गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला पन्त नियुक्त भएका थिए।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।

बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए।प्रधानमन्त्री ओली निकटले प्रचण्ड-नेपाल समूहलाई सन्देश दिन  प्रदेश २ का प्रमुख परियारलाई हटाएको बताएका छन्।

‘कतिपय घटनाका पछाडि सन्देश पनि हुन्छन्,’ प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने,‘बाँकी प्रदेशमा पनि उहाँहरूको समूहबाट नियुक्त भएकाहरूले मिलाएर काम गरिरहनु भएको होला।’प्रचण्ड-नेपाल समूहले भने परियारलाई पदमुक्त गर्नु  प्रतिगमन र सेटिङको अर्को श्रृंखला भएको बताएको छ।

शुक्रबार पेरिसडाँडामा उक्त समूहको केन्द्रीय कमिटी बैठक चलिरहेकाले परियार पदमुक्त भएको खबर आएको थियो।

‘हाम्रो बैठक चलिरहँदा भर्खर प्रदेश २ का प्रदेश प्रमुखलाई हटाएको खबर आएको छ। यो प्रतिगमन र सेटिङको अर्को श्रृंखला हो,’ बैठकमा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए।

प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य रामचन्द्र झाले प्रदेश प्रमुख परियारलाई हटाउनुमा केही दिनअघि सार्वजनिक भएको नेपाल रेल्वे कम्पनीका प्रबन्धक गुरु भट्टराईको फोन अडियो कारण रहेको बताए।

भट्टराईले ‘म केपी ओलीको छोरा हुँ’ भन्दै मुख छोडेर बोलेको उक्त अडियोमा बोल्ने व्यक्ति प्रदेश प्रमुखको सचिवालयमा रहेकाले प्रदेश प्रमुखलाई हटाइएको झाको दाबी छ। नवनियुक्त प्रदेश प्रमुख झा मधेस मामिला विज्ञ मानिन्छन्। ‘राजेश अहिराज’ को नामले परिचित झा पत्रकारितामा पेशामा पनि आवद्ध रहँदै आएका छन्। उनले मधेस मामिलामा विद्यावारिधि गरेका छन्।