चुनाव हुन्छ-हुन्छ, तयारी थाल्नुस्: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले अदालतको निर्णय कुर्नुपर्ने देउवाले बताए।

पार्टीका नेताहरूले चुनाव हुँदैन भनिरहेको उल्लेख गर्दै उनले अदालतले पुनर्स्थापनाको निर्णय नगरे चुनाव हुने बताए। त्यसबेला चुनावको तयारी गर्न ढिलाइ हुने भएकोले अहिलेदेखि नै तयार रहन उनले निर्देशन दिएका छन्।

‘संविधानको व्याख्या गर्ने अदालतले हो। अदालतबाहेक अरू कोही छ यहाँ?,’ नुवाकोटमा शुक्रबार देउवाले भने, ‘अदालतको निर्णय पर्खियौं भनेको हो। अदालतलाई विश्वास गरौं न प्लिज, उसको निर्णय मानौं।’

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिए स्वीकार गरेर जाने उनले बताए। तर पुनर्स्थापना भएन भने कांग्रेस चुनावबाट भाग्न नमिल्ने देउवाको भनाइ छ।

‘प्रचण्ड-ओलीलाई चुनाव लागिसक्यो। चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन्। चुनाव भयो भने के गर्ने? कि चुनावमा जानुपर्‍यो कि राजनीति गर्न भएन। चुनावबाट त भाग्न मिल्दैन नि।’

उनले प्रतिनिधि सभा विघटन भएमा छ महिनाभित्र चुनाव हुने पनि बताए। यदी प्रधानमन्त्री ओलीले चुनाव गर्न नसके सबै मिलेर ओलीलाई हटाउने देउवाको भनाइ छ।

‘चुनाव हुन्छ हुन्छ,’ उनले भने, ‘ओलीले चुनाव नगरेर सुख पाउँछन् यहाँ?’ चुनावका लागि तयार भएर बस्न देउवाले निर्देशन दिएका छन्। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि एक/दुई वर्षमा चुनाव हुने भएकोले तयार रहनुपर्ने उनको भनाइ छ।

उनले ओलीको खिलापमा कांग्रेसका नेताहरू बोल्न सक्ने भएकोमा धन्यबाद दिएका छन्। प्रचण्डको खिलापमा पनि बोल्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। ‘डर हटाउनुस् कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने।