दैलेखमा एमालेमा फर्कनेको लहर- समाजवादी युवा संघका केन्द्रीय सचिव एमालेमै फर्किए

सुर्खेत । कर्णाली प्रदेशमा एमालेको सबैभन्दा राम्रो पकड भएको जिल्ला हो– दैलेख । माधवकुमार नेपालले एमाले परित्याग गरी नयाँ पार्टी गठन गरेसँगै दैलेखबाट धेरै एमाले कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा पुगेका थिए ।

तर, पछिल्ला केहि दिनयता दैलेखमा नेकपा एस रोजेका नेता कार्यकर्ता एमालेमै फर्किन थालेका छन् ।

नेकपा एस निकट युवा संघका केन्द्रीय सचिवको रुपमा कार्यरत दुल्लु नगरपालिका-१० का उपेन्द्र शाही एमालेमा फर्किएका छन् । पार्टी विभाजनको समयमा हुलमुलमा परेका कारण अर्को पार्टीमा लागे पनि भित्री राजनीति बुझेपछि मूल पार्टीमा फर्किएको र संगठित सदस्यता नवीकरण गरेको उनको प्रष्टोक्ति छ ।

यस्तै, समाजवादीको आठबीस नगर कमिटिका अध्यक्ष छत्र माझी एमालेमै फर्केका छन् । विज्ञप्ती जारी गर्दै उनले समाजवादी पार्टीको नेतृत्वमा वर्गीय आन्दोलन सफल नहुने भएकाले मूल घरमै फर्किएको उनले बताएका छन् । उनले आगामी दिनमा एमालेमा निष्ठावान रहँदै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भैरवी गाउँ कमिटिको सचिव पदमा मनोनित भएका तिलक प्रसाद जैसीले पनि साजवादी त्यागेर एमालेमा समाहित भएको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै उनले आफू राजनीतिक कारणले पार्टी विभाजनको समयमा समाजवादीमा लागेको बताउँदै आगामी दिनमा एमालेको पूर्ववत जिम्मेवारीमा फर्कदै काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

साविक भैरवी गाविस वडा नं. एकबाट एमालेको उम्मेदवार बनेर २०५४ सालमा वडाध्यक्ष जितेका राजाराम जैसीले पनि मूलघरै फर्किएको भनेर विज्ञप्ती जारी गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखमा एमाले एक ढिक्का रहने दावी गरे । ‘अब केहि दिनमा पालिका र जिल्ला अधिवेशनहरु हुँदैछन् । हामी सबै एमाले एक ढिक्का बनाएर लैजान लागेका छौं,’ उनी भन्छन्, ‘एमालेलाई थप कमजोर बनाई आफ्नो स्वार्थ सिद्ध गर्ने कांग्रेस/माओवादीको व्यवहार कार्यकर्ताले बुझिसक्नु भएको छ । सोही कारण अहिले गाउँमा एमालेमा फर्किनेको लहर लागेको छ ।’

उनले एमालेमा समाजवादीमा गएका मात्रै नभएर माओवादी र जनमोर्चाबाट पनि एमालेमा प्रवेश गर्नेहरुको ठूूलो संख्या रहेको उनले जानकारी दिए ।