वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

२२ कात्तिक, काठमाण्डौ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् ।  विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको मत पाएको बताए । सोमबार प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा एमाले र विवेकशील साझा पार्टीले विपक्षमा मत दिएको छ । त्यस्तै २ मत तटस्थ देखिएको छ ।