गठबन्धनमा स्थानीय तह निर्वाचनको विवाद भएको होइन, विभिन्न विचार आएका हुन्ः फर्मुल्लाह मन्सुर

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले संविधान बमोजिम समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मन्सुरले भने, “संविधान हामीले नै बनाएका हौं । यसको मतलब नपढीकन बनायौं भन्ने पनि होइन । स्थानीय तह निर्वाचन घोषणा गर्ने सरकारले हो । सरकार कुनै निर्णयमा पुगेको छैन । गठबन्धनभित्र विवाद भएको होइन, भिन्न-भिन्न विचार आएको मात्र हो । कहाँ के विचार आयो, त्यो महत्त्वपूर्ण होइन, निर्णय के भयो त्यो महत्त्वपूर्ण हो । आवधिक निर्वाचन हाम्रो संविधानको लोकतान्त्रिक व्यवस्था हो । तोकिएको समयमै चुनाव हुन्छ ।”
स्थानीय तहको निर्वाचनबारे कांग्रेसले कुनै धारणा नबनाएको मन्सुरले बताए । उनले थपे, “नेपाली कांग्रेसको वैधानिक निकाय केन्द्रीय समिति हो । त्यहाँ संस्थागत रुपमा कुनै निर्णय भएको छैन । गठबन्धनभित्र अर्ली इलेक्सनको कुरा पनि आएको छ । तर अर्ली इलेक्सनको आवश्यकता छ कि छैन, त्यसपछि सम्भावनाको कुरा आउँछ । कसैको लहड र सनकमा निर्वाचन हुने होइन । त्यो संविधानसम्मत नै हुनुपर्छ ।”
कांग्रेस सहमहामन्त्री मन्सुरले मन्त्री रेणु यादवको अभिव्यक्तिबारे आफ्नो कुनै टिप्पणी नरहेको बताए । उनले भने, “रेणु यादवजीले सीके राउतबारे के के बोल्नुभयो, किन बोल्नुभयो, त्यो त उहाँलाई नै सोध्ने कुरा हो । रेणुजीले बोलेका कुराको व्याख्या गर्ने काम मेरो होइन । जिम्मेवार व्यक्तिले बोल्दा विचार गर्नुपर्छ ।”