फुकोट कर्णाली हाइड्रो भारतीय कम्पनीलाई नदिन माग

राष्ट्रिय गौरवको कालीकोट फुकोट कर्णाली अर्धजलासय जलबिद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

रास्कोट नगरपालिका–८ बस्ने वर्ष ३१ की यशुदाकुमारी बराल र रास्कोटकै वर्ष ३० का अजयबहादुर शाहीले संयुक्त रूपमा रिट दर्ता गर्दै सो माग गर्नुभएको हो । रिट आइतबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

दर्ता रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँ, नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनी लिमिटेड, फुर्कोट कर्णाली हाइड्रोपावर प्रोजेक्टको कार्यालय लगायत दश वटा सरकारी कार्यालयलाई विपक्ष बनाइएको छ ।

राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्वयको मान्यतालाई आत्मसाथ गर्दै देशमा उपलब्ध प्राकृतिक संरक्षण संवर्द्धन र वातावरण अनुकूल दिगो रूपमा उपभोग गर्ने, स्थानीय समुदायलाई प्राथमिकता र अधिकार दिँदै प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्न आदेशको माग गरिएको छ ।

यस्तै, रिटमा जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै जलस्रोतको वहुउपयोगी विकास गर्न उल्लेख छ । रिट निवेदकले प्रधानमन्त्री भारत भ्रमणका बेला भारतीय कम्पनीलाई ५१ प्रतिशत सेयर दिएको भन्दै खारेजीको माग गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएका बेला गत वर्षको चैतमा फुकोट कर्णाली अर्ध जलाशययुक्त जलबिद्युत आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनी एनएचपीसीलाई दिने सम्झौता भएको थियो । रिट निवेदक बरालले सो सम्झौता संशोधन भएर बहुमत सेयर नेपाली कम्पनीको नाममा हुनुपर्ने र स्थानीयलाई पनि केही प्रतिशत सेयर वितरण गरिनुपर्ने बताउनुभयो ।

कर्णाली नदीमा निर्माण हुने यो आयोजनाको ग्रसहेड १६८.६२ मिटर तथा डिजाइन डिस्चार्ज ३४८ घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनाबाट औसत वार्षिक २४४.८ करोड युनिट बिजुली उत्पादन हुन्छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सुख्खायाममा दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने उल्लेख छ ।

आयोजनाबाट उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । सरकारी स्वामित्वमा रहेको विद्युत उत्पादन कम्पनीले सुरुमा थालनी गरेको फुर्कोट अर्धजलासाययुक्त जलबिद्युत आयोजनाबाट ४८० मेगावाट विद्युत उत्पादन हुने बताइएको छ । यसको १३ किलोमिटर सुरुङ खनेर पाँच वर्षमा ९२ अर्बको खर्चमा विद्युत उत्पादन गर्न सकिने आर्थिक प्रतिवेदनमा उल्लेख छ ।