वीरेन्द्रनगरमा विद्युत् अनियमित : सुर्खेतको लाइन काटेर नेपालगञ्ज दिएको खुलासा

कर्णाली प्रदेशमा दुईचार दिनदेखि निरन्तर लोडसेडिङ्ग भइरहेको छ । जसको चर्काेभार स्थानीयवासी र उद्योगी व्यवसायीहरूले व्यहोरिरहेका छन्। यहाँ छिनछिनमा विद्युत् लाइन काटिने र बत्ती आउँदापनि लो भोल्टेज हुने समस्याले सेवाग्राहीलाई निकै समस्यामा परेको छन् । कर्णालीका अधिकांश जिल्लामा एक दिनमै सयौंपटक बिजुली अवरुद्ध हुने गरेको छ ।

२–३ मिनेटको फरकमा धेरै पटक लाइन झ्याप्प काटिने र आउँदापनि लो भोल्टेज हुँदा धेरैका इलेक्ट्रोनिक्स सामाग्रीमा क्षति पुगेको स्थानीयहरूको गुनासो छ । मिनेट मिनेटमा जाने र घण्टौँसम्म तथा दिनभर बिजुली नआउने हुँदा कर्णालीमा गर्मीले बस्नै नसक्ने अवस्था छ । विशेष त प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धेरै नै बत्ती जाने गरेको छ । शनिवार राति ८ बजेको समयमा गएको बत्ती आइतवार बिहान मात्रै आएको थियो । बत्ती आएको केही मिनेटमै नकै ढिला आएको थियो ।

यहाँ दिउँसो समयमा भन्दा रातिको समयमा निकै बत्ती जाने गर्दछ । हावाहुरी चल्न सुरु नगर्दै बत्ती जाने समस्याले निकै समस्या हुने गरेको स्थानीयबासीको भनाइ छ । अनियमित र लो भोल्टेजले विद्यार्थीहरूलाई सास्ती भएको छ । देशभर दैनिकरुपमा गर्मी बढ्दै गएको छ । तर अनियमित विद्युतलाई नियमित बनाउने योजना सरोकारवाला निकायहरूसँग छैन । केही दिनअघि मात्रै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा दैनिक हुने विद्युत अनियमितबारे चासो देखाएका थिए ।

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्को निर्माणाधीन प्रसारण लाइनमा निर्माणमा देखिएका समस्याबारे मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गरेका थिए । तर उनले छलफल गरेपछि यहाँ झन धेरै बत्ती जाने गरेको छ । छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुञ्ज क्षेत्रभित्र भएका समस्याबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराएका थिए । तर उक्त छलफलपछि निरन्तर बत्ती जाने गरेको छ ।

साथै लो भोल्टेजले विद्युतबाट चल्ने उद्योग, छापाखाना, सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्थामा समेत समस्या देखिएको छ । पटक–पटक बिजुली जाँदा नागरिकलाई असुविधा भएको छ । बत्ती जाने समस्याले गर्दा आम नागरिकहरुले सामाजिक सञ्जालमा समेत विभिन्न नकारात्मक टिप्पणी गरेका हुन्छन् । यो लाइन २०४५ सालदेखि सुर्खेतमा विस्तार भएको हो । लाइन पुरानो भएको हुँदा विद्युत् अनियमित हुने गरेको प्राविधिकहरू बताउँछन् ।

यहाँको पुरानो तथा जीर्ण संरचना हावाहुरी चल्न बित्तिकै बत्ती जाने गर्दछ । कोहलपुरबाट आएको यो लाइनबाटै अहिले कर्णालीका धेरैजसो जिल्लामा विद्युत् विस्तार भएको छ । एउटा क्षेत्रमा मात्रै समस्या आयो भने सबै जिल्लामा विद्युत् अवरुद्ध हुने गर्दछ ।

विद्युत अनियमित समस्या समाधान गर्न सातदिने अल्टिमेटम
सुर्खेतमा निरन्तर विद्युत अवरुद्ध भएपछि सुर्खेत उद्योग वाणिज्य संघले आइतवार सुर्खेत वितरण केन्द्रको कार्यालयमै गएर सात दिने अल्टिमेटम दिएको छ । कार्यालयमा गएर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल लगायतको टिमले अनियमित विद्युत सेवालाई समाधान गर्नका लागि सातदिने अल्टिमेटम दिएका हुन् । उनीहरुले एकहप्ताभित्र समस्या समाधान नभएमा जनताहरू विरोधमा उत्रिनुका साथै कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष कँडेलले प्राधिकरणका कार्यालय प्रमुख अशोक लुहानीलाई प्राधिकरणले जनतामाथि लुटतन्त्र मच्चाएको, जनतालाई धोका दिएको आरोप लगाए । उनले प्राधिकरणको कारणले विद्युतसेवा अनियमित नभएको बताउँदै लो भोल्टेजले जनताका सामानहरुमा क्षति पुगेको बताए । उनले सामानको क्षतिपुर्ति प्राधिकरणले लिनुपर्ने बताए । यता महासचिव भद्र भण्डारीले विगतका वर्षहरुमा पनि यस्तै समस्या भएपनि कार्यालय प्रमुखले समधान गरेको तर लोहनीले कुनै काम नगरेको आरोप लगाए ।

‘यो अहिलेको समस्या होइन, विगतदेखि यस्तै छ, तर योभन्दा पहिले आएका कार्यालय प्रमुखले समस्या समाधान गरेका थिए ।’ उनले प्राधिकरणका प्रमुख लोहनीलाई सुझाव दिँदै भने ‘हजुरले पनि पहिलेका प्रमुखसँग समन्वय गरेर अगाडी बढ्नुहोस् । यहाँ हजुरले कुनै काम गरेको देखिएन् । जनताले नतिजा खोजिरहेका छन्, हजु्रले नतिजा देखाउन सक्नुभएन ।’

यता प्रमुख लोहनीले भने आफुले निरन्तर काम गरिरहेको बताए । सुर्खेतमा उपभोक्ता बढेको हुँदा दिनदिनै लोड पनि बढ्दै गएको बताए । साथै बड्डीचौरमा राखिएका पोलहरू त्यहाँका जनताले उखेलेर फालेको हुँदा पनि विद्युत नियमित हुन नसकेको बताए । उनले हाल मात्रै सुर्खेतमा ६ हजार लोड बढेको बताए । आफुहरुले यो समस्या समाधानका लागि मुख्यमन्त्री कार्यालयमा खबर गरेपनि जिम्मेवारीपूर्वक मुख्यमन्त्री कार्यालयबाट जवाफ नआएको आरोप लगाए । साथै प्रमुख लोहनीले प्रशासनबाट सहयोग नभएको गुनासो गरे ।

सुर्खेतको लाइन काटेर नेपालगञ्ज दिएको आरोप
सुर्खेत वितरण केन्द्रले सुर्खेतको लाइन काटेर नेपालगञ्ज दिएको सुुर्खेत उद्योग वाणिज्य संघले आरोप लगाएको छ । अध्यक्ष कँडेलले यहाँको लाइन काटेर नेपालगञ्ज दिएको हुँदा पनि यहाँ नियमित बत्ती नआएको दाबी गरे । ‘हजुरहरुले यहाँको लाइन काटेर नेपालगञ्ज दिनुहुँदो रहेछ, ३३ केभिएमा समस्या आएको छ भनेर टार्ने, लाइन नेपालगञ्ज दिने जब नेपालगञ्जमा समस्या समाधान हुन्छ पछि यता छोड्ने गर्नुहुँदो रहेछ ।’

उनले प्राधिकरणका प्रमुख लोहनीलाई भने ‘हामीले त्यो सबै बुझिसकेका छौँ, हजुरहरुको यो लुटतन्त्र अब जनताले सहदैनन् । जनताहरू अब आन्दोलनमा उत्रिन्छन् ।’ यता प्रमुख लोहनीले भने आफुहरुले त्यस्तो नगरेको बताए । उनले नेपालगञ्जमा छुट्टाछुट्टै लाइन आएको बताए । ‘हामीले त्यस्तो गरेका छैनौँ, त्यहाँ दुइवटा लाइन छ, एउटा नेपालकै हो भने, अर्काे भारतबाट आएको छ, उनले भने, ‘तैपनि मैले के रहेछु बुझ्छु । मलाई यताको लाइन काटेर उता दिएको जस्तो लाग्दैन् ।’

यस्तो छ संघले बुझाएको ज्ञापन पत्र
विगत केही महिना यता, सुर्खेतलगायत आसपासका क्षेत्रमा पटक पटक विद्युत कटौती हुने, लामो समयसम्म बत्ति आउने नआउने ठेगान नहुने, आपूर्ति भएको बत्तिले सामान्य विद्युतीय उपकरणसमेत चलाउन नपुग्ने गरी कम भोल्टेज प्रवाह हुने त कहिले आवश्यक्ताभन्दा बढि भोल्टेज आएर घरभान्सादेखि उद्योग कारखानासम्मका मशिन, उपकरणमासमेत क्षति पुर्याउने भइरहेका कारण सामान्य उपभोक्तादेखि उद्योगी, व्यवसायीसमेत दोहोरो मारमा पर्दै आइरहेको अवस्थाप्रति हामी गहन रूपले चिन्तित छौँ ।

सामान्य रूपमा हेर्दा केही घण्टाका लागि विद्युत आपूर्ति बन्द हुँदा आम जनमानसमा प्रतिकूल असर मात्र परेको देखिएला तर विद्युतको अभावले व्यवसायिक र औद्योगिक क्षेत्रमा समेत लागत खर्च र आर्थिक व्ययभार बढ्न गई आम्दानी र रोजगारीमा समेत गिरावट आउने हुँदा छिनछिनमा आउने–जाने बत्तिले आर्थिक गतिविधिमासमेत नकारात्मक प्रभाव पारिरहेकै छ । सामान्य हावाहुरी र झरीसमेत भेल्न नसकि सुर्खेतमा पटक पटक विद्युत कटौति हुने गरेको बारेमा हामी भलिभाँती जानकारपनि छौं।

तर हावाहुरी, झरीवांसमेत केहि नभएको सफा मौसममा आमनागरिकले सहनै नसक्ने गरी गर्मी बढिरहेको बेलामासमेत आकस्मिक रूपले पटक पटक विद्युत कटौति गरिने कार्यप्रति हाम्रो तीव्र रोष एवं असन्तुष्टि रहेको छ । प्रादेशिक राजधानीको प्रतिष्ठाको विषय वनेको विद्युत आपूर्तिलाई नियमित बनाउनका लागि विद्यमान रहेका समस्याहरूको पहिचान गरी तत्कालै समाधान गर्ने हामी सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदछौं ।

यसका लागि कहाँ के कस्तो सहयोग, समन्वय वा पैरवी गर्नपर्ने हो निजी क्षेत्र त्यसका लागि तयार एवं तत्पर छ । तर, वि. सं २०४० को दशकदेखि नै यहि अवस्था र नियत्ति भोग्दै आएका सुर्खेतवासी अहिलेपनि सोही नियतिलाई बाध्यता सम्झेर वा सहेर चुपचाप बस्नेछन् भन्ने भ्रमपूर्ण विश्वासमा नबस्नपनि हामी सचेत गराउन चाहन्छौं । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।