नेकपा सचिवालय बैठकमा कार्यदल बाइपास

काठमाडौँ ७ फागुन – तल्लो तहसम्मको एकतालाई टुंग्याउन नेकपा अध्यक्षद्वयले देखाएको अग्रसरताप्रति पार्टी नेताहरूले असन्तुष्टि जनाएका छन्।

सोमबार बसेको नेकपा सचिवालय बैठकमा एकता प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदललाई काम गर्न थप समय दिने-नदिनेमा नेताबीच मत बाझिएको छ। एकता प्रस्ताव तयार पार्न नेकपाले कार्यदल बनाएको थियो।

कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै केही दिनयता अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफैं प्रस्ताव तयार पार्न क्रियाशील भएका छन्। अध्यक्षद्वयको सक्रियताप्रति नेताहरूले असन्तुष्टि जनाएका हुन्। अध्यक्ष ओली एकता प्रस्ताव सचिवालयमै टुंग्याएर स्थायी समितिमा लैजानुपर्ने पक्षमा छन्।

ईश्वर पोखरेल अनुपस्थित बैठकमा सचिवालय सदस्य वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले ‘काम गर्न नसकेको’ वा ‘काम गर्न नदिएको’ भन्ने फरक–फरक धारणा व्यक्त गरेका थिए। सबै सदस्यलाई सामूहिक छलफलमा बोलाई एकता प्रस्ताव तयार पार्नुपर्नेमा उनीहरूको जोड थियो।

स्थायी समितिको म्यान्डेटका आधारमा कार्यदललाई काम गर्न दिनुपर्ने मत सचिवालय सदस्यले उठाएपछि कार्यदल–सचिवालय संयुक्त बैठक डाक्ने निष्कर्षमा सचिवालय पुगेको हो। कार्यदल–सचिवालय संयुक्त बैठक ९ फागुनमा बस्दै छ। यो समाचार अन्नपूर्ण दैनिकले छापेको छ।