केन्द्रीय सदस्य वकिल बम द्वारा कर्णालीका २७ जना मजदुरलाई राहत वितरण

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)  लाई ध्यान राख्दै कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भक्तपुर जिल्लाको विकास निर्माण कार्यमा संलग्न मजदुरहरुलाई  पर्यटन व्यवसायीहरुले राहत बितरण गरेका छन्।

राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बमको पहल तथा ठमेल पर्यटन विकास परिषदका महासचिव तथा (नेकपा) धादिङका नेता ध्रुव अधिकारी, पर्यटन व्यवसायी दावाङ तामाङ्ग र राजु दनाईको सहयोगमा दुई क्वीन्टल २५ केजि चालम, एक पेटी तेल, १० केजि दाललगायत राहत सामग्री सोमबार हस्तान्त्रण गरिएको हो।

आइतबार मात्रै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीको पहलमा भक्तपुरको हनुमन्ते खोलाको किनारामा पालमुनि बसेका मजदुरहरुलाई पहिलो पटक राहत सामग्री प्रदान गरिएको थियो।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सरकारले तेस्रो पटक आगामी वैशाख ३ गतेसम्म लकडाउनको समय थप गरेपछि अलपत्र परेका कर्णालीका मजदुरहरुलाई थप राहतको आवश्यकता महसुस गरेर आफूहरुले सहयोग गरेको नेता बमको भनाई छ। ‘लकडाउन’ पछि कर्णाली प्रदेशको कालिकोट, मगु र सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरा जिल्लाका ४८ जना मजदुरहरु भक्तपुरका विभिन्न स्थानमा अलपत्र परिरहेका छन्। लकडाउनको समय थपिएपछि पछिल्लो समय उनीहरुलाई खान बस्नका समस्या भइरहेको छ।

पछिल्लो प्राप्त सूचनाअनुसार राजधानीको मुलपानिमा १८ जना, सितापाएलामा १५ जना मजदुर अलपत्र परेका छन्। उनीहरुको उद्धार तथा रातहको लागि सहयोग गर्न कर्णाली सरोकार समाजले अनुरोध गरेको छ।