प्रचण्ड–नेपाल नेतृत्वकै नेकपामा छु : नगर प्रमुख बराल काशिचन्द्र बराल

कालिकोट रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले आफू विगतदेखि नै प्रचण्ड–नेपाल नेतृत्वकै नेकपामा रहेको प्रष्ट पारेका छन् ।

आफ्ना बिरुद्ध विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारहरुको खण्डन गर्दै बरालले आफू विगतदेखि अहिलेसम्म निरन्तर प्रचण्ड नेपाल नेकपामै रहेको प्रष्ट्याएका हुन् । उनले बिहिबार एक विज्ञप्ती निकाल्दै आफ्ना बिरुद्ध गरिएका बिभिन्न प्रचारबाजीको घोर भत्र्सना समेत गरेका छन् ।

विज्ञप्तीमा बरालले भनेका छन्, ‘केही संचार माध्यम र सामाजिक सञ्जालमा मेरो नाम, फोटो, कपोलकल्पीत पद जोडेर मेरो औपचारिक धारणा सार्बजनिक नहुँदै ‘हामी नै आधिकारिक हौं’ भन्दै नानाथरि गरिएका प्रचारबाजीको म घोर भत्र्सना गर्दछु ।’

पार्टी केन्द्रमा चलेको बहसमा आफूले सक्रियतापूर्वक भाग लिएको बताउँदै प्रमुख बरालले विज्ञप्ती मार्फत सबै पक्षसंग भेटेर बुझ्ने, सुझाव दिने र ग्रहण गर्ने कार्य गरेको यथार्थता समेत प्रष्ट पारेका छन् ।

‘विगतदेखि अहिलेसम्म आईपुग्दा आम समुदायको भावना, क्रान्तिमा गरेको त्याग, तपस्या, बलिदानी, शहिदका अधुरा सपनाहरु पुरा गर्ने अभिभारा, पार्टी नेतृत्व र कार्यकर्ताको भावनाको उच्च कदर गर्दै अध्यक्षद्धय कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र कमरेड माधव कुमार नेपालले नेतृत्व गरेको नेकपामै निरन्तर रहिरहेको स्पष्ट पार्न चाहन्छु ।‘ भन्ने कुरा विज्ञप्तमा उल्लेख गरेका छन्।

बरालले सघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने,फूलाउने,फलाउने र वैज्ञानिक प्रणालीमार्फत देशमा आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढ्ने कुरामा कम्युनिष्ट पार्टी टुटफुट र विभाजन तर्फ नभई एकताबद्ध भएर अगाडी बढ्न आम जनसमुदाय, पार्टीपंक्ती र सम्पूर्णमा अपिल समेत गरेका छन् ।