काठमाडौं, कात्तिक २३ गते ।
सत्तारुढ दल नेपाली काँग्रेसको बाँकी रहेका १३ वटा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते हुँदैछ । प्रदेश नम्बर दुईको आठ वटा जिल्लासहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा क्रियाशील सदस्यता सम्बन्धमा विवाद हुदा वडा अधिवेशन हुन सकेको थिएन । सोमबार साँझसम्म रौतहटको मात्रै क्रियाशील सदस्यको नामावली आउन बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसबाहेक रसुवाको क्रियाशील सदस्यता विवाद समाधान भएको र बाराको पनि भोलि मंगलबारसम्म टुंगो लाग्ने समितिका संयोजक महादेवप्रसाद यादवले बताउनुभयो ।
गाउँ/नगर वडा अधिवेशनका लागि रौतहट बाहेक सबै जिल्लाहरुमा मतदान अधिकृतहरु पुगिसक्नुभएको छ । ‘रौतहटको क्रियाशील सदस्य आइसकेको छैन । कात्तिक २७ गते बाँकी रहेका सबै जिल्लाहरुमा वडा अधिवेशन गर्ने गरी सबै तयारी भएको छ । चौधौं महाधिवेशन समयमै सम्पन्न हुन्छ ।’, यादवले बताउनुभयो ।
काँग्रेसको पछिल्लो समय सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समितिसहित पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुसँग बसेको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्रै चौधौं महाधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । जसअनुरुप चौधौं महाधिवेशनको मंसिर २४ मा उद्घाटन सत्र हुने र मंसिर २६ गतेसम्म महाधिवेशन सम्पन्न हुने जनाइएको छ ।
स्मार्ट कर्णाली । २३ कार्तिक २०७८, मंगलवार ०७:३२ बजे