९ माघ, विराटनगर । स्पट फिक्सिङको आरोपमा पूर्व क्रिकेटर महबुब आलम आज सोमबार बिहान विराटनगरको भिन्तुना होटलबाट पक्राउ परेका छन् ।
उनी विराटनगर बसपार्क नजिकैको भिन्तुना होटलबाट पक्राउ परेका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । महबुबलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले महबुब नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको पाएपछि प्रहरीले उनलाई पक्रेको हो ।
उनले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । उनी प्रतियोगितामा खेलाडीका रुपमा भने थिएनन् ।
स्मार्ट कर्णाली । ९ माघ २०७९, सोमबार १६:५७ बजे