खतरनाक घेराबन्दीमा प्रधानमन्त्री ओली!

काठमाडौँ । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली काम देखाउने तत्परता लिँदै छन्, यति नै बेला प्रधानमन्त्री ओली विरुद्ध सूक्ष्म घेराबन्दी शुरु भएको छ ।देखिने गरी सरकारको पक्षमा बोल्ने, तर भित्र भित्रै ओलीलाई घेराबन्दीमा पार्ने योजना उनको आफ्नै दल नेकपा भित्र बनेको छ ।

वरिष्ठ नेता वामदेव गौतम खुलेआम केपी विरुद्ध सक्रिय भएका छन् भने झलनाथ खनाल शालीनता पूर्वक घेराबन्दीको निर्माणमा लागेको पाइएको छ । केही समययता प्रचण्ड केपीसँग मित्रता बढाउँदै सरकारको रक्षा गर्न कस्सिएर लागेका देखिन्छन् । तर, उनी पनि पर्दा पछाडि केपी विरुद्धको घेराबन्दी निर्माणमा लागि परेका छन् । हुँदा हुँदा माधवकुमार नेपाल समेत सरकारको पक्षमा बोल्दै केपीलाई विस्थापित गर्ने योजनामा रहेको पाइएको छ ।

यति खेर नेकपा भित्र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसालगायतका नेताहरु यथाशीघ्र केपीलाई सरकारबाट हटाउने गृहकार्यमा जुटेका छन् ।संसदीय दलमा बहुमत जुट्ने बित्तिकै संसदीय दलकोे नेता पदबाट ओलीलाई विस्थापित गरेर अघि बढ्ने योजनाका साथ उल्लिखित नेताहरु क्रियाशील भएका छन् ।

कतिपय मन्त्रीहरु समेत ओली विरुद्ध भएको र सरकारले वर्ष दिन पूरा गरेपछि नेतृत्व बदल्ने तत्परता लिन लागेको बुझिएको छ ।यसरी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध उनको आफ्नै दल भित्र घेराबन्दी शुरु भइ रहँदा दुवैतर्फका छिमेकी मुलुकहरुसँगको सम्बन्धमा पनि असन्तुलनको अवस्था पैदा भएको छ ।

एसिया प्यासिफिक (इसाई) सम्मेलनमा सरकारको सहभागिता र इन्डो-प्यासिफिक कमाण्डसँगको सहकार्यमा जाने तत्परतापछि भारत र चीन दुवै मुलुकहरु केपीप्रति सशंकित भएको बताइन्छ, घटना र विचारमा उल्लेख छ ।ओली विरुद्ध योजनाबद्ध घेराबन्दी शुरु भइ सकेकोले वर्तमान सरकारले तीन देखि ६ महिना भित्रै बिदा पाउने अनुमान विश्लेषकहरुले गरेका छन् ।